मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

कर्णाली प्रदेशले बनाउँदै आफ्नै सिंहदरबार भवन, छुट्याइयो १५ करोड

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३ २०७९
कर्णाली प्रदेशले बनाउँदै आफ्नै सिंहदरबार भवन, छुट्याइयो १५ करोड

‘कर्णाली सिंहदरबार’ निर्माण गर्न सकिए नागरिकलाई एकै ठाउँबाट सेवा प्रवाह हुनुका साथै सुरक्षा सहजता मिल्ने जनाइएको छ।

कर्णाली- कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ। प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका-७ इत्राम सुर्खेतको जमिनमा बनाउन लागेको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमको विस्तृत जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९/८० मा १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। प्रवक्ता विष्टले एकीकृत प्रशासनिक सेवा प्रवाहका लागि प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने संरचना निर्माण गर्न थालेको बताए।

'हामीले गत आर्थिक वर्षमै प्रदेश सरकारका मन्त्रालयहरू एकै ठाउँमा बनाउन खोजेका थियौँ', उनले भने, 'त्यसका निम्ति सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारेको थियो। तर सङ्गठन संरचना फेरबदल हुँदा अब पुनः डिपिआर गरी निर्माणकार्यलाई अघि बढाउँछौँ।'

‘कर्णाली सिंहदरबार’को ढाँचामा संरचना निर्माण गर्दा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय पनि त्यसभित्र पर्न सक्ने जनाउँदै मन्त्री विष्टले त्यसको चारैतर्फ पर्खाल, त्यसभित्र मन्त्रालयसहित खुलामञ्च, सभाहल निर्माण गरिने बताए। यसका लागि आगामी आवको पहिलो महिनामै काम थालनी गरिने उनको भनाइ थियो।

आर्थिक सचिव झक्कप्रसाद आचार्यले ‘कर्णाली सिंहदरबार’ भित्र सभाहल बनाउन  दुई करोड, पर्खाल निर्माणमा पाँच करोड र मन्त्रालय निर्माणका लागि आठ रुपैयाँ करोड छुट्याइएको जानकारी दिए। 'आन्तरिक मामिला तथा कानून मन्त्रालय अगाडिको जग्गामा ‘कर्णाली सिंहदरबार’ को संरचना निर्माण हुनेछ', सचिव आचार्यले भने, 'उक्त संरचना बनाउनका लागि साढे दुई बिघा क्षेत्रफलको जमिन छ र त्यसलाई बढाउन पनि सकिन्छ।'

‘कर्णाली सिंहदरबार’ निर्माण गर्न सकिए नागरिकलाई एकै ठाउँबाट सेवा प्रवाह हुनुका साथै सुरक्षा सहजता मिल्ने जनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, असार ३ २०७९०५:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend