सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कालीगण्डकीको बिजुली पनि भारत निर्यात सुरु, भारतमा प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो नेपालको बिजुली

आइतबार, जेठ २२ २०७९
कालीगण्डकीको बिजुली पनि भारत निर्यात सुरु, भारतमा प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो नेपालको बिजुली

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरु गर्न लागेको हो। 

प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ। कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्ने छ। कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ। 

वर्षातसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिबाट निर्यात हुने विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए। ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ’, घिसिङले भने। 

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ।  प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको  अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश ः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ। त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ।  यसैगरी, शनिबार प्रधिकरणले अधिकतक प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत बिक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ।  

नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिश्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ।  


प्रकाशित : आइतबार, जेठ २२ २०७९०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend