मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

समयमा काम नगर्ने  स्वच्छन्द-शंकरमाली जेभीलाई ७ दिने स्पष्टीकरण

बुधबार, जेठ १८ २०७९
समयमा काम नगर्ने  स्वच्छन्द-शंकरमाली जेभीलाई ७ दिने स्पष्टीकरण

काठमाडाैं- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया-बुर्तिबाङ खण्डमा कालोपत्र अधुरो भएको छ। निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ। 

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका नाममा आज एक सूचना प्रकाशित गर्दै सात दिनभित्र कार्यालयमा आइ लिखित स्पष्टीकरण पेश गर्न भनेको छ। मध्यपहाडी राजमार्गमा काम सन्तोषजनक नभएपछि निर्माणको जिम्मा पाएको स्वच्छन्द-शंकरमाली जेभीलाई  स्पष्टीकरण सोधेको हो। हटिया-बुर्तिवाङ खण्ड निर्माणको प्रगति सन्तोषजनक नभएको भन्दै आयोजनाले सात दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो।

स्वच्छन्द-शंकरमाली जेभीका आधिकारिक प्रतिनिधि इ हेमराज गुभाजुका नाममा आयोजनाले सात दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भइ स्पष्टीकरण पेश गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न सूचना जारी गरिएको छ। 

कालोपत्र भएको सडकसमेत खाल्डा परेको, फिनिसिङ नगरेको र सम्झौताअनुसारको पूर्वाधार नबनाएको तथा पटक-पटक आयोजनाको निर्देशनलाई अटेरी गरेकाले स्पष्टकीकरण सोधेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।  

सात दिनभित्र निर्माण कम्पनी कार्यालयमा आएर उचित जवाफ नदिए प्रचलित कानून एवं ठेक्का सम्झौताका शर्तबमोजिम कारबाही प्रक्रिया अघि बढाउने आयोजनाले चेतावनीसमेत दिएको छ। ठेक्काअन्तर्गत सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएपछि आयोजनाले स्वच्छन्द-शंकरमाली जेभीलाई पटक-पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो। रासस


प्रकाशित : बुधबार, जेठ १८ २०७९०८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend