मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

‘सरकारले विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको छ’

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ४ २०७९
‘सरकारले विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको छ’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको बताएकी छिन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री यादवले साझा यातायातमार्फत ३७ विद्युतीय बस ल्याउन लागिएको बताइन्। तीमध्ये अहिले तीन बस परीक्षणमा रहेको र परीक्षण सकिएपछि बाँकी बस आइपुग्ने उनले बताइन्।

सरकारले सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग विद्युतीय हुने र आगामी दिनमा यातायातमा विद्युतीय माध्यमको प्रयोग बढाइने बताइन्। उनले भनिन्, 'पेट्रोलियम पदार्थ अत्यधिक आयातका कारण हुने व्यापार घाटा कम गर्न पनि विद्युतीय सवारीसाधन प्रोत्साहन गर्न खाँचो छ।'

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पहिले काठमाडौँ आउँदा ट्रलिबस देखेको भए पनि अहिले त्यसको अवशेषसमेत बाँकी नभएको बताइन्। साझा यातायातले पहिले तामझामका साथ ल्याएको विद्युतीय बसको अवस्थाबारे अहिले जानकारी नभएको उनले बताइन्। काठमाडौँलगायतका सहरी क्षेत्रको एकीकृत विकासका लागि युटिलिटी करिडोरसम्बन्धी विधेयक अघि बढाइएको उनको भनाइ छ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले २० वर्ष पुराना सबै सवारीसाधन चल्न नदिइने व्यवस्थामा परिवर्तन गर्न खोजिएको बताए। सवारीसाधनको अवस्था सही छ भनी परीक्षण भएका सवारीसाधन चल्न दिने गरी विधेयक अघि बढाएको उनले जानकारी दिए। 

 मन्त्रालयका सहसचिव केशवकुमार शर्माले विद्युतीय सवारीसाधनको विकासका लागि कानून आवश्यक भएको बताए। रासस


प्रकाशित : बुधबार, जेठ ४ २०७९१३:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend