काठमाडौं- भारतको आन्ध्र प्रदेशमा ‘आर्नोब’ चक्रवातले ठूलो क्षति पुर्याएको छ। तीव्र हावाहुरी र भारी वर्षासहित बुधबार बिहान तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातका कारण हजारौँ विद्युत खम्बा ढलेका छन् भने विद्युत सेवा र यातायात प्रभावित भएका छन्।
चक्रवातको जोखिम बढेपछि आन्ध्र प्रदेश र ओडिशामा एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
इन्डियन एक्सप्रेसका अनुसार आन्ध्र प्रदेशमा ८४ हजारभन्दा बढी र ओडिशामा ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चक्रवातको प्रभाव आगामी ४८ घण्टासम्म रहने अनुमान गरिएको छ।
भारतीय मौसम विभागका अनुसार चक्रवात बुधबार बिहान आन्ध्र प्रदेश यानम तटीय क्षेत्रमा प्रवेश गरेको थियो। त्यसबेला हावाको अधिकतम गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो। बिहान साढे ८ बजे चक्रवात कमजोर हुँदै गम्भीर चक्रवाती आँधीमा परिणत भएको विभागले जनाएको छ।
चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा रूख उखेलिएका छन् भने विद्युत खम्बा ढलेर विद्युत आपूर्ति अवरुद्ध भएको छ। प्रभावित क्षेत्रमा दर्जनौँ रेल सेवा रद्द गरिएको छ। क्षति न्यूनीकरण गर्न केही क्षेत्रमा सावधानीस्वरूप विद्युत आपूर्तिसमेत बन्द गरिएको छ।
कोनासीमा जिल्लामा मात्रै करिब ६ हजार विद्युत खम्बा ढलेको अधिकारीहरूले बताएका छन्। यसले विद्युत सेवा पुनः सञ्चालन गर्न चुनौती थपिएको छ। आन्ध्र प्रदेशका ऊर्जामन्त्री गोट्टिपति रविकुमारले चक्रवातको प्रभाव कम भएको २४ घण्टाभित्र सबै क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन गर्ने बताएका छन्।
चक्रवातका कारण कृषि क्षेत्रमा समेत ठूलो क्षति पुग्न सक्ने अनुमान गरिएको छ। आन्ध्र प्रदेशमा ७ लाख १६ हजार हेक्टर क्षेत्रफलको कृषि बाली र १६ लाख हेक्टर क्षेत्रफलको फलफूल तथा बागवानी बाली प्रभावित हुन सक्ने अधिकारीहरूले बताएका छन्। उत्तरी तटीय क्षेत्रमा नागावली र वंशधारा नदीमा बाढी आउन सक्ने चेतावनीसमेत दिइएको छ।
यसैगरी, छिमेकी राज्य ओडिशामा पनि भारी वर्षा र तीव्र हावाहुरीको जोखिम बढेको छ। भारतीय मौसम विभागले मलकानगिरि, कोरापुट, नबरंगपुर, रायगडा, गजपति र कालाहान्डी जिल्लामा अत्यधिक वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेको छ। पहाडी क्षेत्रमा पहिरो तथा तल्लो भूभागमा बाढीको जोखिम रहेकाले सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
ओडिशाका ३० मध्ये १६ जिल्लामा विद्यालय तथा बाल विकास केन्द्र बन्द गरिएका छन्। प्रभावित बासिन्दाका लागि दुई हजारभन्दा बढी चक्रवात आश्रयस्थल तयार पारिएको छ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले तटीय क्षेत्रका बासिन्दालाई घरभित्रै बस्न र सरकारी निर्देशन पालना गर्न आग्रह गरेका छन्। उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिकार्य बल, राज्य विपद् प्रतिकार्य बल, नौसेना र तटरक्षकलाई तयारी अवस्थामा राखिएको छ।
अधिकारीहरूका अनुसार बुधबार दिउँसोसम्म चक्रवातका कारण मानवीय क्षति भएको विवरण सार्वजनिक भएको थिएन। चक्रवात उत्तर-उत्तरपश्चिमतर्फ अघि बढ्दै दक्षिणी ओडिशा हुँदै छत्तीसगढतर्फ जाने र क्रमशः कमजोर हुने भारतीय मौसम विभागको अनुमान छ।
नेपालमा विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ।
नेपालको उच्च पहाडी तथा हिमाली भूभागहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले अध्यागमन विभागले तीन दिनका लागि उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न रोक लगाएको छ।