बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

व्यावसायिक केराखेती लगाएका आँधीघाटका प्रेमनारायण वार्षिक ११ लाख आम्दानी गर्छन्

मंगलबार, कात्तिक १० २०८३
व्यावसायिक केराखेती लगाएका आँधीघाटका प्रेमनारायण वार्षिक ११ लाख आम्दानी गर्छन्

खेतमा भएका सबै बोटले उत्पादन दिन थालेपछि वार्षिक ३० लाखभन्दा बढी आम्दानी हुने लक्ष्य उनको छ।

स्याङ्जा- प्रेमनारायण पंगेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन्। पंगेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। 

एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा ६ हजार १०० केराका बिरुवा लगाएका छन्।

कालीगण्डकी नदीको किनारमा अवस्थित खेतमा केराको उत्पादन राम्रो हुने ठानेर गरेको खेती अहिले निक्कै फस्टाएर गएको छ। 'व्यवसायका क्रममा मैले धेरै क्षेत्रमा हात हाले', उनले भने, 'सबैभन्दा खुसी र सन्तुष्टि मलाई यही केरा खेतीबाट मिलेको छ।'

सुरुमा स्थानीय ‘मालभोग’ र ‘जि नाईन’ प्रजातिको केरा लगाएका पंगेनीले हाल जि नाईन जातको केरा हटाएर स्थानीय मालभोग मात्रै लगाएका छन्।

केराबाट राम्रो आम्दानी हुन थालेपछि धान तथा मकै खेती हुँदै आएको जमिनमा केरा खेती विस्तार गरेको उनले बताए। 'अन्य खेतीभन्दा केरा खेती सहज लाग्यो, उत्पादित केराको बजारको माग पनि उच्च रहेकाले केरा खेती थालेको हुँ', उनले भने, 'आफ्नो १३ रोपनी र बाँकी अरुको जग्गा बन्धकी र भाडामा लिएर ६१ रोपनी क्षेत्रफलमा केरा खेती छ।'

यहाँ उत्पादन भएको स्थानीय जातको मालभोग केरा अन्य केराभन्दा ठूलो, आकर्षक र विषादीरहित तरिकाले पकाएर बिक्री गर्ने भएकाले पनि स्थानीय बजारमा अत्यधिक खपत हुने गरेको उनले बताए।

विषादी तथा अखाद्य वस्तुको प्रयोग गरेर केरा नपकाउने र अर्गानिक केरा भएकै कारण पनि स्थानीय चापाकोट बजारमा केरा बिक्री हुँदै आएको छ। 

राम्रो र ठुला कोसा भएको केरा प्रतिदर्जन २०० रूपैयाँ र साना कोसा भएका केरा प्रतिदर्जन १५० रूपैयाँका दरले बिक्री हुने गरेको छ। 'खेतमा रहेका ६ हजार २०० बोटमध्ये अहिले दुई हजार २०० बोटले उत्पादन दिन्छन्', उनले भने, 'यी बोटहरुबाट उत्पादन भएका केरा बिक्रीबाट वार्षिक ११ लाख बढी आम्दानी हुँदै आएको छ ।'

खेतमा भएका सबै बोटले उत्पादन दिन थालेपछि वार्षिक ३० लाखभन्दा बढी आम्दानी हुने लक्ष्य उनको छ। 

घरपरिवारले रेखदेख गर्दै आएको उक्त केरा खेतीमा गोडमेललगायत समयमा भने स्थानीयलाई रोजगारीसमेत हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक १० २०८३१५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend