काठमाडौं- नेपाल दक्षिण एसियाकै धेरै उपभोग गर्ने मुलुकमा दर्ज भएको छ। मुलुकको कुल गार्हस्थ उत्पादनको तुलनामा धेरै उपभोग गर्ने मुलुकमा नेपाल पर्छ।
चीन, भारत जस्ता तीव्र विकास गरिरहेका मुलुकको भन्दा पनि धेरै उपभोग खर्च भएको मुलुकमा नेपाल रहेको छ।
अर्थ मन्त्रालयले प्रकाशित गरेको वार्षिक बुलेटिनमा उल्लेखित तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल उपभोग खर्च ५९ खर्ब ५९ अर्ब पुग्यो जुन कुल गार्हस्थ्य उत्पादन को ९०.३ प्रतिशत हो।
पछिल्ला केही देशकदेखि नै नेपालको उपभोग अनुपात यही आसपास रहेको छ। यो अनुपात बंगलादेश, भारत र चीनभन्दा धेरै हो।
कुनै पनि अर्थतन्त्रमा उभोगले अर्थतन्त्रको गतिशीलतालाई निर्धारण गर्नसक्छ तर कहिलेकाहिँ त्यही हानीकारक पनि हुनसक्छ। पछिल्लो समय चीनले उपभोग बढाउनका लागि आधुनिक चीनको इतिहासमै पहिलोपटक नगद अनुदान पनि दिएको छ। त्यसका बाबजुद उपभोग बढ्न सकेको छैन।
चीनजस्तो अर्थतन्त्रले बढाउन नसकेको उभपोग नेपालले कसरी हात पार्यो? यसको सरल उत्तर नेपालको अर्थतन्त्रको संरचनामा छ।
चीनले आफै उत्पादन गरेर उपभोग गर्नुपर्ने भएका कारण उत्पादन अर्थात् जीडीपी ठूलो हुन्छ भने उभोग जति गर्दा पनि अनुपातमा माथि जान सक्दैन। तर नेपालले उत्पादन आफै नगर्ने, आम्दानी पनि नेपालको उत्पादन चक्रबाट नुहने भएका कारण यस्तो देखिएको हो।
रेमिट्यान्स र विदेशबाट आउने अन्य आयसमेत जोडिएको कुल राष्ट्रिय खर्चयोग्य आय जीडीपी भन्दा ३५ प्रतिशत ठूलो छ। त्यो आयको तुलनामा उपभोग ६६.९ प्रतिशत मात्र हो। जुन आव २०७५/७६ यताकै कम हो।
विश्व बैंकको तथ्यांकमा उस्तै आम्दानी भएका १५ देशसँग तुलनामा जीडीपीको अनुपातमा नेपाल छैटौँ स्थानमा पर्छ तर खर्चयोग्य आयको अनुपातमा सात देशभन्दा तल झर्छ। यो हिसाबले नेपालको उच्च उपभोग अनुपात धेरै खर्चभन्दा पनि थोरै उत्पादन विदेशी आम्दानीको असर हो।
यी कारणले नेपालको उपभोग खर्च धेरै देखिन्छ
पहिलो कारण हो रेमिट्यान्स। जीडीपीले देशभित्र उत्पादन भएको मूल्यमात्र नाप्छ। विदेशमा काम गर्ने नेपालीले पठाएको पैसा गनिँदैन तर परिवारले त्यही पैसाले खाना, शिक्षा, स्वास्थ्य र घर खर्च चलाउँछन्।
त्यो खर्च भने देशभित्रको उपभोगमा गनिन्छ। त्यसैले अंश (उपभोग) ठूलो देखिन्छ। आव २०८२/८३ मा रेमिट्यान्स आप्रवाह २३ खर्ब ६३ अर्ब आयो यो भनेको जीडीपीको ३५.८ प्रतिशत हो। कुल राष्ट्रिय खर्चयोग्य आय जीडीपीको १३५.१ प्रतिशत छ। दश वर्षअघि (२०७३/७४) यो अनुपात १२८.७ प्रतिशत थियो।
यो संरचना नेपालमा मात्र होइन। विश्व बैंकको तथ्यांक अनुसार २५ देशको सन् २०१९–२०२४ औसत तथ्यांक अनुसार रेमिट्यान्समा धेरै निर्भर किर्गिजस्तान (उपभोग १००.३ प्रतिशत), होन्डुरस (९९.५ प्रतिशत), हाइटी (१०४.७ प्रतिशत) र ताजिकिस्तान (९५.० प्रतिशत) उपभोग अनुपात छ।
दोस्रो कारण कमजोर उत्पादन तथा आयात हो। पछिल्लो पाँच वर्षमा नेपालको वस्तु तथा सेवा निर्यात जीडीपीको ६.८ प्रतिशत मात्र छ तर आयात ३७.२ प्रतिशत। उस्तै आय भएका मुलुकमा नेपनलभन्दा हाइटीको मात्र न्यून निर्यात छ।
उच्च उपभोग अनुपात आफैमा फजुल खर्च भने होइन। कमजोर उत्पादन भने मुख्य समस्या हो। बढेको उपभोगले आयात बढाउने र त्यसले गर्दा फेरि विदेशी मुद्राको संकटमा धकेल्न सक्छ।