मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

डेढ दशकपछि धनगढी-दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

मंगलबार, वैशाख ६ २०७९
डेढ दशकपछि धनगढी-दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक १६ करोड ४० लाख रुपैयाँमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम सुरु भएको हो।

गोदावरी- धनगढी-दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ। कैलालीको चुरे गाउँपालिका-१ बबैना-ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया-दिपायल द्रुतमार्गको ट्रयाक पूरा भएको हो।

धनगढी-दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ। कैलाली खण्डमा पर्ने बबैना-ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने कार्य अघि बढाइने आयोजनाका इञ्जीनियर दिनेश रैखोलाले जानकारी दिए। 

२०६४ मा खुटिया-दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्ने कार्य थालिएको थियो। त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी-दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो।

अहिले सो सडकको धनगढी-स्याउले खण्डमा कालोपत्र निर्माणका लागि काम सुरु भएको छ। खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक १६ करोड ४० लाख रुपैयाँमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम सुरु भएको हो।

ठेक्का सम्झौताअनुसार धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयबाट स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्र गरिने इञ्जीनियर रैखोलाले बताए। उनले गत आर्थिक वर्षको असार २० गते आउँदो ३० महिनामा कालोपत्र गरिसक्ने गरी ठेक्का सम्झौता भएको बताए। 

धनगढी-दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालु आवमा धनगढीबाट १३.४ किलोमिटर र डोटीको दिपायलबाट ९.५ किलोमिटर सडकमा कालोपत्र गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ। आयोजनाका इञ्जीनियर रैखोलाका अनुसार धनगढी-स्याउ सडकखण्ड कालोपत्रका लागि अहिले सो सडकखण्डको दायाँबायाँ दुवैतर्फ नाली निर्माण गरी सडकको तह मिलाउने काम भइरहेको छ।

यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टले सोमबार सो सडकखण्डको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा सो द्रुतमार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि थप स्त्तरोन्नतिको कार्यले गति लिने उनले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend