बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सिटी एक्सप्रेस मनी ट्रान्सफरको व्यवसाय घट्दो, चार वर्षमा ३२ प्रतिशत घट्यो आम्दानी

मंगलबार, कात्तिक १० २०८३
सिटी एक्सप्रेस मनी ट्रान्सफरको व्यवसाय घट्दो, चार वर्षमा ३२ प्रतिशत घट्यो आम्दानी

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिको व्यवसाय पछिल्ला चार वर्षमा खुम्चिएको छ। आर्थिक वर्ष २०७८/७९ मा ८२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आर्थिक वर्ष २०८२/८३ मा घटेर ५६ करोड १० लाख रुपैयाँमा झरेको छ।

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिको व्यवसाय पछिल्ला चार वर्षमा खुम्चिएको छ। आर्थिक वर्ष २०७८/७९ मा ८२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आर्थिक वर्ष २०८२/८३ मा घटेर ५६ करोड १० लाख रुपैयाँमा झरेको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका अनुसार चार वर्षको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३२.१ प्रतिशतले घटेको हो। आर्थिक वर्ष २०७९/८० मा ७६ करोड ८० लाख रुपैयाँ रहेको आम्दानी २०८०/८१ मा ६६ करोड ४० लाख र २०८१/८२ मा ५६ करोड ७० लाख रुपैयाँमा झरेको थियो। गत आर्थिक वर्षमा पनि आम्दानी घट्ने क्रम रोकिएन।

रेमिट्यान्स बजारमा बढ्दो प्रतिस्पर्धा, आन्तरिक रेमिट्यान्समा नियामकीय प्रतिबन्ध तथा नगद कारोबारको सट्टा रकम सीधै बैंक खातामा जम्मा गर्ने प्रवृत्ति बढ्दा कम्पनीको कमिसन आम्दानी प्रभावित भएको रेटिङ प्रतिवेदनमा उल्लेख छ। बैंक खातामा सीधै रकम जम्मा हुने कारोबारमा सामान्यतया कमिसन आम्दानी कम हुने भएकाले कम्पनीको कुल आम्दानीमा दबाब परेको हो।

कम्पनीको आम्दानीको संरचनासमेत परिवर्तन भएको छ। आर्थिक वर्ष २०८२/८३ मा कुल सञ्चालन आम्दानीमा कमिसनबाट हुने आम्दानीको हिस्सा करिब २६ प्रतिशतमा सीमित हुँदा विदेशी मुद्रा विनिमयबाट हुने आम्दानीको हिस्सा ७४ प्रतिशत पुगेको छ। यसले कम्पनीको आम्दानी विनिमय कारोबारमा बढी निर्भर भएको देखाउँछ।

यद्यपि, आम्दानी घटे पनि कम्पनीको सञ्चालन नाफा अनुपातमा सुधार आएको छ। आर्थिक वर्ष २०८१/८२ मा २३.७९ प्रतिशत रहेको ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको सञ्चालन नाफा अनुपात गत आर्थिक वर्षमा बढेर २७.६५ प्रतिशत पुगेको छ। तर, आर्थिक वर्ष २०७९/८० मा यस्तो अनुपात ३६.३८ प्रतिशत थियो।

कम्पनीको ऋण भुक्तानी क्षमता पनि सहज देखिएको छ। गत आर्थिक वर्षमा ऋण भुक्तानी क्षमता अनुपात ४.२९ गुणा र ब्याज भुक्तानी क्षमता अनुपात ४ गुणा रहेको छ। अघिल्लो आर्थिक वर्षमा यी अनुपात क्रमशः ६.०६ गुणा र ५.०४ गुणा थिए। वित्तीय लागत बढेका कारण ऋण भुक्तानीसम्बन्धी सूचकमा केही दबाब परेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।

सिटी एक्सप्रेसको देशभर २५ हजारभन्दा बढी एजेन्ट छन्। नेपाल भित्रिने रेमिट्यान्समा कम्पनीको बजार हिस्सा करिब १४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। सन् २००७ मा स्थापना भएको कम्पनीले १९ वर्षभन्दा लामो समयदेखि रेमिट्यान्स कारोबार गर्दै आएको छ।

कम्पनीले स्मार्ट च्वाइस टेक्नोलोजिज प्रालिमा ८ करोड ७२ लाख रुपैयाँ र सिटी वालेट प्रालिमा १० करोड रुपैयाँ लगानी गरेको छ। रेमिट्यान्सबाहेक सम्बन्धित वित्तीय सेवा क्षेत्रमा समेत लगानी विस्तार गरेको कम्पनीका लागि अब आम्दानी वृद्धि, नाफाको स्थायित्व र बजार प्रतिस्पर्धा व्यवस्थापन मुख्य चुनौती हुने देखिएको छ।

इन्फोमेरिक्सले कम्पनीको १ अर्ब रुपैयाँको अल्पकालीन बैंक कर्जा सुविधालाई ‘आईआरएन ए२ प्लस’ रेटिङ दिएको छ। कम्पनीको लामो सञ्चालन अनुभव, विस्तृत एजेन्ट सञ्जाल, कम ऋणभार र पर्याप्त ऋण भुक्तानी क्षमतालाई रेटिङको आधार बनाइएको छ।


प्रकाशित : मंगलबार, कात्तिक १० २०८३०७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend