मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

विकासे आयोजनाका काममा ढिलासुस्ती

सोमबार, वैशाख ५ २०७९
विकासे आयोजनाका काममा ढिलासुस्ती

खोटाङ- जिल्लामा सञ्चालित दर्जन बढी विकासे आयोजनाका काममा ढिलासुस्ती भएको पाइएको छ। सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम पटकपटक म्याद गुज्रँदासमेत पूरा भएको छैन। मेनलाइनको सम्झौता म्याद नाघेको ३३ महिना बित्दा करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। 

बृहत पम्पिङ खानेपानी आयोजना महादेव खिम्ती निर्माण सेवा कम्पनीले जिम्मा लिएको छ। महादेव खिम्ती र दिवा निर्माण सेवा कम्पनीले जेभीमा ठेक्का लिएको दूधकोशीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाको भुम्जुडाँडा र सोही नगरपालिकाको वडा नं ७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्का लिएको हो।

दिवा-महादेव खिम्तीले २०७६ पुस १७ गते सम्पन्न गर्नेगरी २०७४ असार २१ गते आयोजनाको मेनलाइनको कामको ठेक्का सम्झौता गरेको थियो। सोही आयोजनाको काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा-सगरमाथा घिमिरे जेभी तथा भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनको काम उस्तै निराशाजनक छ। 

यस्तै दीपेन्द्र शाहीको सिद्धिसाई सम्बद्ध जेभीले ठेक्का लिएको मध्यपहाडी लोकमार्गअन्तर्गत सेखुवा–चखेवा भञ्ज्याङ (१० किलोमिटर) खण्ड कालोपत्रको काम निराशाजनक छ। तेस्रो पटक थप भएको म्याद सकिँदासमेत कालोपत्र बिछ्याउने तरखर देखिन्न। हालसम्म सेखुवा–चखेवा भञ्ज्याङ खण्डको कालोपत्रको काम करिब ३५ प्रतिशत मात्र भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। 

भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिसाईले २०७५ फागुन ३० गते सम्पन्न गर्नेगरी, २०७२ चैत २ गते चखेवाभञ्ज्याङ-सेखुवा खण्ड कालोपत्रको सम्झौता गरेको थियो। शाहीकै सिद्धिसाई संलग्न महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डअन्तर्गत महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ।

भारत कन्ट्रक्सन/सिद्धिसाई जेभीले २०७७ असार मसान्तभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे-राजापानीको सिमपानी सडक कालोपत्र योजनाको सम्झौता गरेको थियो। ४१ करोड ५० लाख रुपैयाँको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको करिब ४५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले बताए।  

महुरे-फोक्सिङटार सडककै सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम पनि अलपत्र अवस्थामा नै छ। देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ठेक्का लिएको सो खण्डको काम करिब ५० प्रतिशत सकिएको छ। 

यतिसम्म कि जिल्लामा सञ्चालित कतिपय आयोजनामा जिल्लाकै जनप्रतिनिधि तथा राजनीतिक दलका नेतासमेत संलग्न रहेका छन्। हलेसीमा सञ्चालित खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको उपभोक्ता समिति अध्यक्ष हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई हुन्। 

दूधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाभित्रका करिब तीन हजार ७५६ घरधुरीलाई वितरण गर्ने लक्ष्य राखिएको छ। निर्माण कम्पनीले तोकिएको म्यादभित्र काम सम्पन्न नगरेपछि उक्त खानेपानी आयोजनाको म्याद नथप्ने निर्णय गरिएको छ।

उपभोक्ता समितिले म्याद नथप्न खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागसमक्ष सिफारिस गरेपछि उक्त आयोजना अलपत्र हुने अवस्था देखिएको छ। जिल्लामा सञ्चालित अन्य विकासे आयोजनाको भने म्याद सकिए पनि सुस्त गतिमा निर्माणको काम भइरहेको छ। रासस


प्रकाशित : सोमबार, वैशाख ५ २०७९११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend