काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८३ जारी गरेको छ।धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित संस्थाको कामकारबाहीलाई थप नियमित, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले बोर्डले निर्देशन जारी गरेको हो।
नयाँ निर्देशन लागु भएसँगै २०७६ सालमा जारी गरिएको साविकको निर्देशन खारेज भएको छ। नयाँ व्यवस्थाअनुसार सूचक संस्थाहरूले जोखिममा आधारित आन्तरिक नीति, कार्यविधि तथा कार्ययोजना तयार गरी लागु गर्नुपर्नेछ।
निर्देशनले ग्राहक पहिचान तथा सम्पुष्टिको प्रक्रियालाई थप कडा बनाएको छ। विद्युतीय माध्यमबाट खाता खोल्दा ग्राहकको भौगोलिक स्थान तथा जैविक विवरण (बायोमेट्रिक) मार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, नेपाली नागरिकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा पहुँचका आधारमा आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
त्यसैगरी, प्रतिबन्धित सूचीमा रहेका व्यक्ति, उच्च पदस्थ व्यक्ति तथा वास्तविक धनीको पहिचान र नियमित परीक्षणका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने व्यवस्था निर्देशनमा समेटिएको छ। यसले वित्तीय कारोबारमा हुन सक्ने अवैध गतिविधि पहिचान तथा नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नयाँ निर्देशनले ठूला कारोबारलाई समेत विशेष निगरानीमा राखेको छ। एक दिनमा १० लाख रूपैयाँ वा सोभन्दा बढीको सीमासम्बन्धी कारोबार भएमा तोकिएको समयभित्र वित्तीय जानकारी इकाईमा प्रतिवेदन पठाउनुपर्नेछ।
त्यस्तै, शंकास्पद कारोबार वा गतिविधि देखिएमा तत्काल प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशनमा तोकिएका कानुनी प्रावधान पालना नगर्ने संस्थामाथि बोर्डले कारबाही तथा जरिवाना गर्न सक्ने व्यवस्था पनि गरिएको छ। नयाँ निर्देशनले धितोपत्र तथा वस्तु विनिमय बजारमा पारदर्शिता कायम गर्न, वित्तीय अपराध नियन्त्रण गर्न र जोखिममा आधारित निगरानी प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।