काठमाडौं- बजारको माग तथा सरकारको नीतिगत डिपार्चरको प्रभाव भन्सारमा संकलन हुने राजस्वको संरचनामा देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार भन्सारको राजस्वमा संकलन हुने महसुलको तुलनामा मूल्यअभिवृद्धि कर धेरै भएको छ। भन्सार बिन्दुमै सरकारले प्राय सबै वस्तुमा भ्याटको एउटै दर लगाउँछ भने भन्सार महसुल फरक हुन्छ।
भन्सार विभागको तथ्यांक अनुसार २०८२/८३ मा भन्सार बिन्दुमा उठेको मूल्य अभिवृद्धि कर (भ्याट) ले भन्सार महसुललाई उछिनेको छ।
भन्सारबाट कुल ५ खर्ब १५ अर्ब ५७ करोड राजस्व उठ्दा आयातमा लाग्ने भ्याट २ खर्ब २४ अर्ब ८ करोड छ। भन्सार महसुल भने २ खर्ब १९ करोड रुपैयाँ रहेको छ।
यो भ्याट समग्र भ्याट होइन भन्सार बिन्दुकै हो।सामान भन्सार नाका पार गर्दा आयातमा असुलिने भ्याट मात्र हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्ष देशभर कुल रु. ३ खर्ब ७२ अर्ब ८८ करोड भ्याट संकलन भएको थियो। त्यसमध्ये करिब ५९ प्रतिशत अर्थात् २ खर्ब २० अर्ब आयातबाटै आएको हो।
भ्याट लगभग सबै आयातमा एउटै १३ प्रतिशत दरमा लाग्छ। त्यो पनि भन्सार मूल्यमा महसुल र अन्तःशुल्क जोडेपछिको रकममा लाग्छ। त्यसैले आयातको मूल्य बढ्नासाथ भ्याट पनि बढ्छ। महसुल भने वस्तुअनुसार शून्यदेखि ८० प्रतिशतसम्मका फरक दरमा लाग्छ। कुन वस्तु आयात भयो भन्नेमा नै यसको संकलन भर पर्छ।
विभागको दरअनुसारको तालिका अनुसार शून्य महसुल लाग्ने वस्तुको आयात एक वर्षमा १ खर्ब २० अर्बबाट १ खर्ब ६७ अर्ब पुग्यो अर्थात् ३९ प्रतिशत वृद्धि। १० प्रतिशत दर लाग्ने वस्तुको आयात ५ खर्ब १ अर्बबाट ६ खर्ब २० अर्ब पुग्यो। शून्य, ५ र १० प्रतिशत दरका वस्तुले मात्र कुल आयातको करिब ५९ प्रतिशत ओगटेका छन्। यस्ता आयातबाट महसुल थोरै उठ्छ तर भ्याट पूरै उठ्छ।
८० प्रतिशत दरबाट उठ्ने राजस्व दुई वर्षमा १३ अर्बबाट रु. ६ अर्बमा झरेको छ। विभाग आफैंले यसलाई अस्वाभाविक भनेको छ र ८० प्रतिशत दर लाग्ने वस्तुको आयात घटेको उल्लेख गरेको छ।
गत वर्ष सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल (१७२ अर्ब), कच्चा भटमासको तेल ( १३३ अर्ब), पेट्रोल, एलपी ग्यास र फलाम छन्। यीमध्ये धेरैजसोमा उद्योग वा अत्यावश्यक वस्तुका नाममा महसुल कम छ तर मूल्य ठूलो भएकाले भ्याटमा ठूलो योगदान दिन्छन्।
पर्याप्त विश्लेषण र प्रभाव मूल्यांकनबिना नै महसुल छुट सुविधाको सूची बढ्दै जाँदा राजस्व संकलनमा नकारात्मक प्रभाव परेको भन्सार विभागले नै विश्लेषण गरेको छ।
भ्याट लगभग सबै वस्तुमा एउटै दरमा लाग्छ तर महसुल भने बिलासी वस्तुमा उच्च हुन्छ। पछिल्लो समयको आर्थिक सुस्तीको असर मागमा परेको र त्यसको प्रतिबिम्ब भन्सारमा देखिएको छ। बिलासीभन्दा अरु वस्तुको माग उच्च हुँदा न्यून महसुल भएका तर मूल्यवृद्धिले भ्याट भने उस्तै दरमा संकलन हुने अवस्था आएको छ।
त्यस्तै अर्को कारण हो सरकारले पछिल्लो समय विद्युतीय सवारीसधानलाई प्राथमिकत दिंदै आएको छ। यी साधनमा भ्याट उस्तै संकलन भएपनि महसुल भने न्यून दर भएकाले थोरै भएको छ। अर्कोतिर धेरे महसुल भएका खनिज इन्धनबाट चल्ने सवारीसाधनको आयात घटिरहेको छ।
अर्को कारण भनेको भन्सारमा चलखेल भइरहेको हुनसक्ने संकेत पनि यसले दिएको छ। न्यून दरका वस्तुको आयात धेरै बढ्ने अर्कोतिर उच्च दरका वस्तुको आयात घट्नुका पछाडि आयात गर्नेहरूले सस्तो दरमा पर्नगरी चलखेल गरेको हुनसक्ने जोखिम पनि उत्तिकै छ।