काठमाडौं- सडकदेखि सदनसम्म तताउने उखु उत्पादक किसानको कथाले पछिल्लो दशकमा सार्वजनिक ध्यान राम्रै पाउन सफल भएपनि यस भविष्य भने संकटमा पर्न थालेको छ। अर्थात् उखुको उत्पादन निरन्तर खस्किन थालेको छ। लामो समयदेखि आकर्षिक नगदे बालीको रुपमा पहिचान पाएको उखुको ओरालो यात्रा सुरू भएको छ।
उखुको उत्पादनमा ह्राससँगै नेपालको कृषि क्षेत्रमा एउटा महत्वपूर्ण परिवर्तन देखिएको छ। कुनै समय चिनी उद्योगको मुख्य आधार रहेको उखुको उत्पादन घटिरहेका बेला आलुको उत्पादन निरन्तर बढ्दै गएको छ। पछिल्लो सरकारी तथ्यांकअनुसार अहिले नेपालमा उखुभन्दा आलु धेरै उत्पादन हुन थालेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा आलुको उत्पादन ३६ लाख ८१ हजार ५१७ टन पुगेको छ। सोही वर्ष उखुको उत्पादन २६ लाख ९४ हजार ५० टनमा सीमित भएको छ।
उत्पादन परिमाणका आधारमा आलु उखुभन्दा करिब ९ लाख ८७ हजार टनले अगाडि छ। यसले नेपालको कृषि उत्पादन संरचनामा आएको परिवर्तन भने यसले स्पष्ट देखाउँछ।आलुको विस्तार पछिल्लो वर्षको मात्र घटना होइन। करिब तीन दशकको तथ्यांकले यसको उत्पादन र खेती क्षेत्र दुवै बढेको देखाउँछ।
आर्थिक वर्ष २०४७/४८ मा नेपालमा ८५ हजार हेक्टरमा आलु खेती हुन्थ्यो र उत्पादन ७ लाख ४६ हजार टन थियो। आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा खेती क्षेत्र बढेर करिब २ लाख १२ हजार हेक्टर र उत्पादन ३६ लाख ८१ हजार टन पुगेको थियो।
यस अवधिमा आलुको उत्पादन करिब पाँच गुणाले बढेको छ। उत्पादकत्व पनि बढेको छ। १९९०/९१ मा प्रतिहेक्टर ८.८२ टन रहेको आलुको उत्पादकत्व १६.६५ टन पुगेको छ।
उखुको अवस्था भने उल्टो दिशामा गएको छ। आर्थिक वर्ष २०७१/७२ मा नेपालमा ८० हजार ९३१ हेक्टरमा उखु खेती भएको थियो र उत्पादन ४३ लाख ४६ हजार टन थियो। २०८१/८२ मा उखुको खेती क्षेत्र अझ घटेर ५३ हजार ५१२ हेक्टरमा सीमित छ। उत्पादन पनि २६ लाख ९४ हजार ५० टनमा सीमित भएको छ।
अर्थात् पछिल्लो एक दशकभन्दा बढी अवधिमा उखुको खेती क्षेत्र र उत्पादन दुवैमा उल्लेख्य संकुचन आएको छ।उखुको समस्या उत्पादन क्षमतामा मात्र सीमित छैन। बजार र उद्योगसँग जोडिएका जोखिमले पनि किसानलाई प्रभावित गरिरहेका छन्।
उखु उत्पादनसम्बन्धी अध्ययनहरूले किसानका प्रमुख समस्यामा मूल्य निर्धारणमा अनिश्चितता, चिनी उद्योगबाट भुक्तानीमा ढिलाइ र बढ्दो उत्पादन लागतलाई देखाएका छन्।
उखु उत्पादन गरेपछि किसानको आम्दानी चिनी उद्योगसँग जोडिन्छ। मिलले समयमै भुक्तानी नगर्दा किसानको पूँजी लामो समयसम्म अड्किन सक्छ। यस्तो अवस्थामा छिटो नगद फिर्ता हुने बालीतर्फ किसान आकर्षित हुनु स्वाभाविक हो।
पछिल्लो समय भुक्तानी नपाएका किसानले काठमाडौंसम्म पुगेर आन्दोलन गरेका थिए। उत्पादन सुधारमा राज्यको लगानी नहुँदा संकुचित भएको उत्पादकत्व र त्यही कारणले बढाएको लागतका कारण नेपाली किसानको उखु नेपाली चिनी उद्योगका लागि लाभदायक छैन। यही कारणले पनि उखुमा समस्या आइरहेको छ। अनुसन्धान र विकासबाट उत्पादकत्व बढाउनमा राज्यले कृषि अनुसन्धान परिषद बनाएपनि त्यसको लाभ खेतसम्म पुगेको छैन। छिमेकी भारतमा उत्पादकत्वमा गुणात्मक वृद्धि हुँदा पनि नेपालमा भने स्थिर रहेको छ।
आलुको उत्पादन बढ्नुमा यसको खेतीको प्रकृति, भौगोलिक अनुकूलता र बजार माग महत्वपूर्ण छन्। आलु तराईदेखि पहाडी तथा उच्च पहाडी क्षेत्रसम्म उत्पादन गर्न सकिन्छ। कतिपय क्षेत्रमा छोटो अवधिमै उत्पादन लिन सकिने भएकाले किसानका लागि यो तुलनात्मक रूपमा आकर्षक बाली बनेको छ।
त्यससँगै शहरीकरण र खानपानमा आएको परिवर्तनले आलुको माग पनि बढाएको छ। होटल तथा रेस्टुरेन्टदेखि चिप्स र अन्य प्रशोधित खाद्य उद्योगसम्म आलुको प्रयोग विस्तार भएको छ। यसले आलुलाई केवल खाद्य बाली नभई बजारसँग जोडिएको महत्वपूर्ण नगदे बालीका रूपमा स्थापित गर्दै लगेको छ।
आलु र उखुको तथ्यांकले नेपालको बालीको शक्ति सन्तुलनमा फेरबदलको संकेत गरेको छ। उखु उत्पादन उद्योगसँग गहिरोसँग जोडिएको बाली हो। आलु भने प्रत्यक्ष उपभोगदेखि प्रशोधित खाद्यसम्म फैलिएको ठूलो बजारसँग जोडिँदै गएको छ। आलुको माग बढाउने बजारको विकास पनि भइरहेको छ।