काठमाडौं- नेपाल टेलिकमले फाइभजी सेवाका लागि तयार हुनका लागि पूर्वाधारमा २० अर्ब बढीको लगानी गर्ने योजना अघि बढाएको छ।
नेपाल टेलिकमले मोबाइल नेटवर्क, ग्राहकको बिलिङ प्रणाली, भ्वाइस कलको कोर नेटवर्क र अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ विस्तार तथा स्तरोन्नतिका लागि खरिद प्रक्रिया अघि बढाइसकेको छ।
टेलिकमले यसका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। यी परियोजनामा करिब २० अर्ब रुपैयाँ लगानी हुन सक्ने अनुमान छ। तर प्रतिस्पर्धामा जाँदा यसको लागत तलमाथि हुनेछ।
चारवटै बोलपत्रको जमानत रकमका आधारमा निकालिएको अनुमानअनुसार मोबाइल नेटवर्कमा सबैभन्दा ठूलो लगानी हुनेछ। करिब १ हजार ६०० साइटमा टुजी र फोरजी उपकरण फेर्ने तथा सेवा विस्तार गर्ने योजनाका लागि मात्रै करिब १० अर्ब ७३ करोड रुपैयाँ लाग्न सक्ने देखिन्छ।
ग्राहकको ब्यालेन्स, प्याकेज र बिल व्यवस्थापन गर्ने नयाँ प्रणालीका लागि करिब ३ अर्ब ६१ करोड, अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथका लागि २ अर्ब ४३ करोड र भ्वाइस कल सञ्चालन गर्ने कोर नेटवर्क स्तरोन्नतिका लागि करिब ४३ करोड रुपैयाँ खर्च हुन सक्ने अनुमान छ।
मोबाइल नेटवर्कको खरिदले हालका टुजी र फोरजी उपकरण फेर्ने तथा हटाइएका उपकरण अन्य क्षेत्रमा प्रयोग गरेर कभरेज बढाउने लक्ष्य राखेको छ। बिलिङ प्रणाली परिवर्तनले ग्राहकको ब्यालेन्स कटौती, प्याकेज सञ्चालन र बिल व्यवस्थापनलाई नयाँ प्रणालीमा लैजानेछ।
कोर नेटवर्कको स्तरोन्नतिले परम्परागत भ्वाइस कल प्रणालीलाई भर्चुअलाइज्ड प्रविधिमा लैजानेछ। अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिदले टेलिकमको नेटवर्कलाई विदेशका इन्टरनेट सञ्जालसँग जोड्ने क्षमता उपलब्ध गराउनेछ।
यी खरिदले टेलिकमको मुख्य दूरसञ्चार पूर्वाधारमा ठूलो लगानीको बाटो खोले पनि वास्तविक लागत, उपकरणको प्राविधिक मापदण्ड र प्रतिस्पर्धाको अवस्था स्पष्ट हुन बाँकी छ।