काठमाडौं- पछिल्ला दशकमा संसारले गरिबी घटायो, बालमृत्यु कम गर्यो, विद्यालयमा बालबालिकाको पहुँच बढायो र अर्बौँ मानिसलाई बिजुली, खानेपानी तथा इन्टरनेटसँग जोड्यो तर विकासको यो गति सुस्त भएको छ। सायद अझै पनि सुविधाबाट बञ्चितहरूले भविष्यमा पहिलेजस्तो पहुँच पाउने छैनन्।
विश्व बैंकको एउटा तथ्यांकीय विश्लेषणअनुसार विकासका २६ प्रमुख सूचकमा १५ वटाको सुधार अहिले इतिहासकै सुस्त गतिमा छ।
यो सुस्तता गएको देशकदेखि झन बढ्दै गएको छ। यदि गएको दशकमा अघिल्ला दशककै गतिमा विकास भएको हुन्थ्यो भने अहिले संसारमा करिब १५ करोड कम मानिस चरम गरिबीमा हुने थिए। औसत आयु पनि करिब एक वर्ष बढी हुने थियो।
उच्च आय भएका देशमा बालबालिकाले औसत १२.२ वर्ष विद्यालयमा बिताउने गर्छन्। न्यून आय भएका मुलुकमा सात वर्षभन्दा बढी विद्यालय गए पनि उनीहरूले सिकाइका हिसाबले पूरा गरेको समय करिब ३.७ वर्ष बराबर मात्रै छ।
कतिपय देशमा विद्यालयमा भर्ना बढिरहेको छ तर सिकाइको स्तर उल्टै घटेको छ। शिक्षाको अर्को पाठशाला काम गर्ने ठाउँ पनि हो। तर न्यून तथा मध्यम आय भएका देशमा करिब ७० प्रतिशत श्रमिकले नयाँ सीप सिक्ने अवसर नै पर्याप्त पाउँदैनन्। यसको असर आम्दानीमा मात्र पर्दैन। अर्थतन्त्रले पनि कम उत्पादक काममै धेरै मानिस थामिराख्छ।
सन् १९५० मा संसारका ६० प्रतिशत मानिस चरम गरिबीमा थिए। अहिले यो दर करिब १० प्रतिशतमा झरेको छ। तर पछिल्लो समय तस्बिर फेरिएको छ।
पहिले गरिबी घटिरहेका देशमै विश्वका ८५ देखि ९५ प्रतिशत गरिब मानिस बस्थे। अहिले चरम गरिबीमा रहेका आधाभन्दा बढी मानिस त्यस्ता देशमा छन् जहाँ पछिल्लो दशकमा गरिबी बढेको छ।
कमजोर आर्थिक व्यवस्थापन र भ्रष्टाचारजस्ता समस्या भएका देशमा गरिबी घटाउन झन कठिन देखिन्छ। जनसंख्या पनि त्यही तीव्र गतिमा बढिरहेको छ।
सन् २०२३ मा संसारको ९२ प्रतिशत जनसंख्याले बिजुली पाएको थियो। बाँकी ६६ करोड ६० लाख मानिस भने अझै विद्युत पहुँचबाहिर थिए। तीमध्ये करिब ५८ करोड १० लाख उपसहारा अफ्रिकामा थिए।
सहर र गाउँबीचको अन्तर झन ठूलो छ। उपसहारा अफ्रिकामा ग्रामीण क्षेत्रमा करिब एकतिहाइ मानिसले मात्रै बिजुली पाएका छन्, जब कि सहरी क्षेत्रमा यो दर ८० प्रतिशतभन्दा माथि छ।
बिजुलीको अभाव घरमा बत्ती नबल्ने समस्या मात्र होइन। यसले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्योग सबैलाई असर गर्छ। इन्टरनेट संसारको सबैभन्दा छिटो फैलिएको प्रविधिमध्ये एक हो। तर २ अर्ब २० करोड मानिस अझै इन्टरनेटबाट बाहिर छन्।
समस्या पहुँचमा मात्र छैन। उपकरण महँगो छ, डेटा महँगो छ र डिजिटल सीपको अभाव छ। कम आय भएका देशमा ५ जीबी मोबाइल डेटा किन्न औसत व्यक्तिको बजेटको १५ प्रतिशतभन्दा बढी खर्च हुन सक्छ। त्यस्ता परिवारका लागि इन्टरनेट अझै अत्यावश्यक सेवाभन्दा पहिले खर्च कटौती गर्न सकिने शीर्षक बनिरहेको छ।
अब यही खाडल एआईले झन गहिरो बनाउने चिन्ता थपिएको छ। सन् २०२५ सम्म उच्च आय भएका देशमा इन्टरनेट प्रयोगकर्ताप्रति च्याटजीपीटीको प्रयोग कम आय भएका देशको तुलनामा करिब ५० गुणा बढी थियो। एआई प्रयोग गर्न इन्टरनेट मात्र होइन उपकरण, सीप, स्थानीय डेटा र कम्प्युटिङ क्षमता पनि चाहिन्छ।
पछिल्ला ७५ वर्षको कथा उपलब्धिको कथा हो। तर अब संसारले सजिला उपलब्धिको चरण पार गरिसकेको छ। गरिबी घटाउन बाँकी मानिस कठिन भूगोल र कमजोर अर्थतन्त्र भएका देशमा छन्। विद्यालय पुगेका बालबालिकालाई सिकाउन अझ कठिन काम बाँकी छ। धारामा पानी पुगेपछि त्यसलाई सुरक्षित बनाउनुपर्नेछ। बिजुली र इन्टरनेट पुगेपछि त्यसको भरपर्दो र सस्तो पहुँच सुनिश्चित गर्नुपर्नेछ।