बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

२३ नयाँ अन्तरप्रदेशीय रुट कायम, नयाँ भाडादरसहित सेवाको किसिम तोकियो

मंगलबार, असोज २७ २०८३
२३ नयाँ अन्तरप्रदेशीय रुट कायम, नयाँ भाडादरसहित सेवाको किसिम तोकियो

विभागले नयाँ कायम गरिएका रुटहरूको दूरी, चल्न पाउने सवारीको किसिम, सञ्चालन हुने सेवा दिवा तथा रात्री र कायम गरिएको भाडादरको विस्तृत विवरण सार्वजनिक गरेको छ। विभागले लामो समयपछि नयाँ रुट कायम गरेर कार्यान्वयनमा ल्याएको हो।

काठमाडौं- सरकारले २३ वटा नयाँ अन्तरप्रदेशीय रुट निर्धारण गरेको छ। यातायात व्यवस्था विभागले देशभरका साविक अन्तरप्रदेशीय रुटहरूमा थप २३ वटा नयाँ रुट कायम गर्ने निर्णय गरेको हो।

विभागले आफ्ना मातहतका सवारी परीक्षण केन्द्र (भीएफटीसी) हरूलाई पत्राचार गर्दै विभागले थप गरिएका २३ वटा अन्तरप्रदेशीय रुटहरू नियमबमोजिम कार्यान्वयनमा ल्याएको हो।

उक्त निर्णयको जानकारी तथा आवश्यक समन्वयका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा महाराजगञ्ज र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई समेत विभायले मंगलबार बोधार्थ पठाइएको विज्ञप्तिमार्फत जनाएको छ। 

विभागले नयाँ कायम गरिएका रुटहरूको दूरी, चल्न पाउने सवारीको किसिम, सञ्चालन हुने सेवा दिवा तथा रात्री र कायम गरिएको भाडादरको विस्तृत विवरण सार्वजनिक गरेको छ। विभागले लामो समयपछि नयाँ रुट कायम गरेर कार्यान्वयनमा ल्याएको हो। 

नयाँ रुटहरू थप भएसँगै सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई सहज सार्वजनिक यातायात सेवा उपलब्ध हुनुका साथै मालसामान ढुवानीमा समेत ठूलो टेवा पुग्ने विश्वास विभागको छ। 

यी हुन् विभागले कायम गरेका नयाँ रुटहरु

काठमाडौं नयाँ बसपार्कबाट सातदोबाटो, टिकाभैरव, ठिगन, हेटौँडा हुँदै वीरगञ्जसम्मको १ सय ६१ किलोमिटर दूरीमा साना तथा मझौला यात्रुवाहक र मालवाहक सवारीका लागि ५ सय ६६ रुपैयाँ भाडा तोकी दिवा सेवा सञ्चालनको स्वीकृति। 

हेटौँडाबाट हटिया, हरिहरपुरगढी, मरिण, सिन्धुली, भिमान, कटारी, गाईघाट, चतरा र कान्छीचोक हुँदै इटहरीसम्मको ३ सय २९ किलोमिटर दूरीमा सबै प्रकारका यात्रुवाहक तथा मालवाहक सवारीका लागि १ हजार १ सय ५८ रुपैयाँ भाडादर कायम गरी दिवा सेवा।

विराटनगरबाट बरगाछी, लौकही, हेटौँडा, नारायणघाट र मुग्लिन हुँदै काठमाडौंसम्मको ५ सय ५२ किलोमिटर दूरीका लागि सबैभन्दा बढी १ हजार ९ सय ४३ रुपैयाँ भाडा कायम।

राजविराजबाट पत्थरगाडा, बोदेबर्साइन, बिसनपुर चोक, हेटौँडा, नारायणघाट हुँदै काठमाडौंसम्मको ४ सय ७६ किलोमिटरका लागि १ हजार ६ सय ७५ रुपैयाँ र चोकसीबाट बरियारपट्टी, सिरहा, चोहर्वा, हेटौँडा, नारायणघाट हुँदै काठमाडौंसम्मको ४ सय ५७ किलोमिटरका लागि १ हजार ६ सय ८ रुपैयाँ भाडादर निर्धारण।

काठमाडौं-नारायणघाट-बर्दिवास-रौजा-मडई हुँदै जलेश्वरसम्मको ४ सय १७ किलोमिटर दूरीमा १ हजार ४ सय ६७ रुपैयाँ।

काठमाडौं-जनकपुर-जलेश्वर-बखरी-एकडारा हुँदै मनरासम्मको ४ सय २ किलोमिटरमा १ हजार ४ सय १५ रुपैयाँ।

जलेश्वर हुँदै भिट्ठामोडसम्मको ३ सय ९६ किलोमिटरमा १ हजार ३ सय ९३ रुपैयाँ।

बर्दिवास-औरही-कञ्चनपुर-रामगोपालपुर-जाउख-बखरी हुँदै जलेश्वरसम्मको ४ सय ६ किलोमिटर दूरीमा १ हजार ४ सय २९ रुपैयाँ। 

काठमाडौंबाट जनकपुर हुँदै खजुरीसम्मको ४ सय १८ किलोमिटरका लागि १ हजार ४ सय ७१ रुपैयाँ।

लोहारपट्टीसम्मको ४ सय ४ किलोमिटरका लागि १ हजार ४ सय २२ रुपैयाँ र परसाहीसम्मको ४ सय ७ किलोमिटरका लागि १ हजार ४ सय ३२ रुपैयाँ। 

महोत्तरीको गौशाला हुँदै सम्सीसम्मको ३ सय ८२ किलोमिटरका लागि १ हजार ३ सय ४४ रुपैयाँ भाडादर कायम। 

सर्लाही र रौतहटतर्फ काठमाडौंबाट नारायणघाट, हेटौँडा, फूलजोर, ब्यलवास, बबरगंज, भेल्ही हुँदै त्रिभुवननगरसम्मको ३ सय ५५ किलोमिटरका लागि १ हजार २ सय ४९ रुपैयाँ।

मलंगवा, कौडेना, गोडैता हुँदै बलरासम्मको ३ सय ७० किलोमिटरका लागि १ हजार ३ सय २ रुपैयाँ।

बरहथवा, सिर्खौना हुँदै बलरासम्मको ३ सय ६० किलोमिटरका लागि १ हजार २ सय ६७ रुपैयाँ र गौर हुँदै माधोपुरसम्मको ३ सय ६६ किलोमिटरका लागि १ हजार २ सय ८८ रुपैयाँ भाडा निर्धारण। 

बारा र पर्सातर्फ काठमाडौंबाट नारायणघाट, पथलैया, पिलुवा, कलैया हुँदै मटिअर्वासम्मको २ सय ९१ किलोमिटरमा १ हजार २४ रुपैयाँ।

वीरगञ्ज-कलैया हुँदै सिम्रौनगढसम्मको ३ सय १८ किलोमिटरमा १ हजार १ सय १९ रुपैयाँ, कलैया हुँदै मौलापुरसम्मको ३ सय १९ किलोमिटरमा १ हजार १ सय २२ रुपैयाँ।

वीरगञ्ज-पोखरिया हुँदै ठोरीसम्मको ३ सय ४१ किलोमिटरका लागि १ हजार २ सय रुपैयाँ भाडादर कायम। 

जसमा वीरगञ्ज-हेटौँडा-भरतपुर (हाकिम चोक)-टाइगर चोक-पटियानी-जगतपुर-कसरा हुँदै बसन्तपुर (माडी) सम्मको १ सय ७२ किलोमिटर दूरीका लागि ६ सय ५ रुपैयाँ। 

वीरगञ्ज-हेटौँडा-भरतपुर (चौबिसकोठी)-कल्याणपुर-रामपुर-चनौली-पर्साढाप-मेघौली हुँदै गोलाघाटसम्मको १ सय ६२ किलोमिटर दूरीका लागि ५ सय ७० रुपैयाँ भाडादर।


प्रकाशित : मंगलबार, असोज २७ २०८३१८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend