बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेपालमा एम्बेडेड फाइनान्सको सुरुवात हुँदै, र्‍यापिड टेकले गर्‍यो नौ कम्पनीसँग साझेदारी

सोमबार, असोज २६ २०८३
नेपालमा एम्बेडेड फाइनान्सको सुरुवात हुँदै, र्‍यापिड टेकले गर्‍यो नौ कम्पनीसँग साझेदारी

सफ्टवेयरमार्फत खाता खोल्ने व्यवस्था, खाताबाट सीधै रकम भुक्तानी गर्ने सेवा र कारोबारका लागि भर्चुअल खाता उपलब्ध गराउने योजना पनि बनाएको जनाएको छ।

काठमाडौं- व्यवसायले आफ्नो बैंक खाताको मौज्दात हेर्न वा बैंक कारोबारको हिसाब मिलाउन अब छुट्टै बैंकिङ प्रणाली खोल्नुपर्ने बाध्यता घट्ने भएको छ। एपीआई बैंकिङ प्लेटफर्म र्‍यापिड टेकले नौ वटा ईआरपी तथा व्यावसायिक सफ्टवेयर कम्पनीसँग साझेदारी गरेपछि ती सफ्टवेयरबाटै बैंक खाताको विवरण हेर्न र कारोबारको हिसाब मिलाउन सकिने भएको हो।

ईआरपी (इन्टरप्राइज रिसोर्स प्लानिङ) भनेको कुनै संस्थाको लेखा, खरिद, बिक्री, भण्डार र अन्य व्यावसायिक काम एउटै प्रणालीबाट व्यवस्थापन गर्ने सफ्टवेयर हो। र्‍यापिड टेकले आईएमएस, स्वस्तिक, सीएमटी बोस, रेस्ट्रोएक्स, सिनर्जी टेक, इन्फिकेयर, सोर्स कोड, क्रसओभर र डल्फिनसँग साझेदारी गरेको जनाएको छ।

यी सफ्टवेयर प्रयोग गर्ने व्यवसायले एउटै प्रणालीबाट विभिन्न बैंकका खाताको मौज्दात, बैंक विवरण र कारोबार हेर्न सक्नेछन्। बैंकमा भएका कारोबारलाई सफ्टवेयरमा राखिएको लेखा विवरणसँग स्वचालित रूपमा मिलाउन पनि सकिने कम्पनीको भनाइ छ।

यसले हिसाब मिलाउन लाग्ने समय घटाउने र लेखा टोलीलाई अन्य काममा ध्यान दिन सहज बनाउने र्‍यापिड टेकका प्रमुख कार्यकारी अधिकृत आशितोष साहले बताए।

धेरै बैंकमा खाता भएका व्यवसायलाई यो सुविधा बढी उपयोगी हुन सक्छ। उनीहरूले प्रत्येक बैंकको छुट्टाछुट्टै प्रणालीमा प्रवेश नगरी एउटै सफ्टवेयरबाट सबै खातामा रहेको रकम र नगदको आवागमन हेर्न सक्नेछन्। यसबाट कुन खातामा कति रकम छ र दैनिक कारोबारका लागि कति नगद उपलब्ध छ भन्ने जानकारी लिन सजिलो हुने कम्पनीको भनाइ छ।

र्‍यापिड टेकले आगामी चरणमा भुक्तानी अनुरोध गर्ने सुविधा, सफ्टवेयरमार्फत खाता खोल्ने व्यवस्था, खाताबाट सिधै रकम भुक्तानी गर्ने सेवा र कारोबारका लागि भर्चुअल खाता उपलब्ध गराउने योजना पनि बनाएको जनाएको छ। यी सेवा कहिलेदेखि उपलब्ध हुन्छन् भन्ने विवरण भने कम्पनीले खुलाएको छैन।

कम्पनीको दीर्घकालीन लक्ष्य एम्बेडेड फाइनान्स विस्तार गर्नु हो। यसको अर्थ ग्राहक वा व्यवसायले पहिलेदेखि प्रयोग गर्दै आएको सफ्टवेयर वा डिजिटल माध्यमबाटै बैंकिङ तथा अन्य वित्तीय सेवा लिन सक्ने व्यवस्था हो। उदाहरणका लागि, पसलको हिसाब राख्ने सफ्टवेयरबाटै बैंकमा आएको रकम हेर्न, भुक्तानी गर्न वा रकम संकलन गर्न सकिने व्यवस्था एम्बेडेड फाइनान्सको एउटा रूप हो।

यसमा बैंकले वित्तीय सेवा उपलब्ध गराउँछ, व्यवसायले आफूले प्रयोग गरिरहेको सफ्टवेयरबाट ती सेवा लिन्छ र र्‍यापिड टेकजस्तो प्राविधिक कम्पनीले बैंक तथा सफ्टवेयरबीचको सम्बन्ध जोड्ने काम गर्छ। साहका अनुसार व्यवसायले दैनिक काम गर्ने प्रणालीबाटै बैंकिङ सेवा लिन सक्ने वातावरण बनाउनु यो अवधारणाको मुख्य उद्देश्य हो।

परम्परागत रूपमा बैंकिङ सेवा लिन बैंकको शाखा, वेबसाइट वा छुट्टै मोबाइल एप प्रयोग गर्नुपर्छ। एम्बेडेड फाइनान्समा भने बैंकिङ सेवा ग्राहकले पहिलेदेखि प्रयोग गरिरहेको प्रणालीमै उपलब्ध गराइन्छ। र्‍यापिड टेकले अघि बढाएको साझेदारी नेपालमा यही अभ्यास विस्तार गर्ने प्रारम्भिक प्रयास हो।


प्रकाशित : सोमबार, असोज २६ २०८३०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend