काठमाडौं- सन् २०२५ मा विश्वभरका सवारीसाधन उत्पादनमा एसियाली मुलुकहरूको दबदबा कायम रहेको छ। उदीयमान बजारका रुपमा रहेका चीन तथा भारतमा सवारी उत्पादन र प्रयोग बढ्दै जाँदा एसियाली देशले विश्व सवारी उत्पादनमा हिस्सा बढाएका हुन्।
सन् २०२५ मा विश्वभर करिब १० करोड सवारीसाधन उत्पादन भएको तथ्यांक छ। त्यसमध्ये सबैभन्दा धेरै कार चीनमा उत्पादन भएको थियो भने दोस्रो स्थानमा अमेरिका रहेको छ। तेस्रो धेरै कार उत्पादन गर्नेमा जापान पर्दा चौथो धेरै कार उत्पादन गर्नेमा भारत रहेको छ।
जसमध्ये चीन एक्लैले सो वर्ष ३ करोड ४५ लाखभन्दा बढी (३४.५ मिलियन) सवारीसाधन उत्पादन गरेको इन्टरनेसनल अर्गनाइजेसन अफ मोटर भेहिकल म्यानुफ्याक्चरर्स (ओआईसीए) को पछिल्लो तथ्यांकलाई उद्धृत गर्दै भिजुअल क्यापिटलिस्टले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यो सङ्ख्या विश्वव्यापी कुल उत्पादनको एक तिहाइभन्दा बढी हो।
चीनको सवारी उत्पादन अघिल्लो वर्षको तुलनामा १०.४ प्रतिशतले बढेको छ। चीनले एकै वर्षमा सवारी उत्पादन ३२ लाखले बढाएको छ। यो सवारी संख्या ब्राजिलको वार्षिक कुल उत्पादनभन्दा पनि बढी हो।
ओआईसीएका अनुसार चीनले लगातार १७औँ वर्ष विश्वको शीर्ष सवारीसाधन उत्पादक राष्ट्रको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ। चीनको यो सफलता पछाडि विशाल उत्पादन क्षमता, प्रविधिको विकास, सस्तो श्रम, सरकारी सहयोग र ब्याट्री उद्योगको ठूलो संजाल मुख्य कारण रहेका छन्।
पछिल्लो समय विश्वभर विद्युतीय सवारीको खपत तथा उत्पादन उल्लेख्य रुपमा बढेको छ। विद्युतीय सवारी उत्पादनमा चीन विश्वकै अग्रणी हो। यसको मुख्य कारण चीनले ब्याट्री उत्पादनमा मारेको फड्कोलाई मानिएको छ। अन्तरिक खपतका साथै चीनले ठूलो संख्यामा विद्युतीय सवारी निर्यात पनि गर्दै आएको छ। विद्युतीय सवारीतर्फ चीनको निर्यात अघिल्लो वर्षको तुलनामा दोब्बर भइ २५ लाखभन्दा बढी पुगेको छ।
मजबुत आन्तरिक माग र विद्युतीय गाडीको पहुँचका कारण आगामी दिनमा पनि अटोमोबाइल उत्पादनमा एसियाली मुलुकहरुकै वर्चस्व निरन्तर रहने देखिएको विश्लेषण अन्तर्राष्ट्रिय अटोमोबाइल विज्ञहरुले गरेका छन्।
भारत चौथो स्थानमा
धेरै सवारी उत्पादन गर्ने देशको सूचीमा नेपालको छिमेकी मुलुक भारत चौथो स्थानमा रहेको छ। भारतले सन् २०२५ मा ६४ लाख ९० हजार (६.४९ मिलियन) सवारीसाधन उत्पादन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ७.९ प्रतिशतको वृद्धि हो। भारतको ठूलो आन्तरिक बजार (जहाँ ४४ लाख ९० हजारभन्दा बढी गाडी स्वदेशमै बिक्री भए ले त्यहाँको अटोमोबाइल उद्योगलाई बलियो टेवा पुर्याएको छ।
अमेरिका र उत्तर अमेरिकामा मन्दी
धेरै कार उत्पादन गर्ने देशको सूचीको दोस्रो स्थानमा अमेरिका रहेको छ। २०२५ मा अमेरिकाले १ करोड २ लाखभन्दा बढी सवारी उत्पादन गर्दा तेस्रो स्थानमा रहेको जापानले सो वर्ष ८४ लाखभन्दा बढी सवारी उत्पादन गरेको थियो।
यद्यपि अमेरिका, मेक्सिको र क्यानडा सम्मिलित उत्तर अमेरिकी क्षेत्रमा सवारी उत्पादन २०२४ को तुलनामा २०२५ मा ३.१ प्रतिशतको गिरावट आएको हो। नयाँ कर र सीमापार आपूर्ति श्रृंखलामा आएको जटिलताका कारण यी देशहरूमा उत्पादन घटेको विश्लेषण गरिएको छ।
२०२५ मा धेरै सवारी उत्पादन गर्ने २० देश :
१. चीन- ३ करोड ४५ लाख ३० हजार ७ सय ३८ वटा
२. अमेरिका- १ करोड २ लाख ४३ हजार ८ सय ४४ वटा
३. जापान- ८४ लाख १० हजार २ सय ३२ वटा
४. भारत- ६४ लाख ९० हजार ८ सय १० वटा
५. जर्मनी- ४१ लाख ४८ हजार ८ सय ३६ वटा
६. दक्षिण कोरिया- ४१ लाख २ हजार २ सय वटा
७. मेक्सिको- ४० लाख ९२ हजार ४ सय ४८ वटा
८. ब्राजिल- २६ लाख ४४ हजार ५४ वटा
९. स्पेन- २२ लाख ७४ हजार २६ वटा
१०. फ्रान्स- १४ लाख ६३ हजार ९ सय ९१ वटा
११. थाइल्यान्ड- १४ लाख ५५ हजार ५ सय ६९ वटा
१२. चेक- १४ लाख ५२ हजार ७ सय ७६ वटा
१३. टर्की- १४ लाख १९ हजार ४ सय ६४ वटा
१४. क्यानडा- १२ लाख ३७ हजार ७५ वटा
१५. इन्डोनेसिया- ११ लाख ४७ हजार ६ सय वटा
१६. स्लोभाकिया- १० लाख ७० हजार वटा
१७. रसिया- ८ लाख ५३ हजार ८ सय ९७ वटा
१८. बेलायत- ७ लाख ६४ हजार ७ सय १५ वटा
१९. मलेसिया- ७ लाख ४७ हजार ७ सय ८० वटा
२०. पोल्यान्ड- ६ लाख २८ हजार २ सय ७६ वटा