काठमाडौं- नेपालमा अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्डको विस्तार तीव्र बन्दै गएको छ। म्यारियट इन्टरनेसनलले विभिन्न ब्रान्डमार्फत उपस्थिति विस्तार गरिरहेका बेला अर्को ठूलो अन्तर्राष्ट्रिय होटल समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) पनि नेपालमा ‘इन्टरकन्टिनेन्टल’सहित चार होटल सञ्चालनमा ल्याउने भएको छ।
आईएचजी र सांग्रिला होटल समूहबीच भएको व्यवस्थापन सम्झौताअनुसार काठमाडौंको पाँचतारे सांग्रिला होटल अब ‘इन्टरकन्टिनेन्टल काठमाडौं’का रूपमा सञ्चालन हुनेछ। हाल मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले होटल अस्थायी रूपमा बन्द छ।
सम्झौताअनुसार आईएचजीले पोखरामा ‘होटल इन्डिगो’, बेगनास ‘इन्टरकन्टिनेन्टल रिसोर्ट पोखरा बेगनास लेक’ र चितवनमा ‘इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन’ पनि सञ्चालन गर्नेछ। पोखराको बेगनासको इन्टरकन्टिनेन्टल रिसोर्ट भने सञ्चालनमा आउन लागेको छ।
बेगनासको रिसोर्टको सफ्ट ओपनिङ सुरू भइसकेको छ। यद्यपि यसको पूर्ण सञ्चालन भने केही सममा हुनेछ। यो नेपालमा पहिलोपटक सञ्चालनमा आउन लागेको लक्जरी ब्राण्ड हो आईएचजीको।
योससँगै नेपालमा पहिलोपटक ‘इन्टरकन्टिनेन्टल’ ब्रान्डको होटल सञ्चालनमा आउनेछ। आईएचजी भने नेपालका लागि नयाँ होइन। उसले यसअघि करिब साढे दुई दशक काठमाडौंको सोल्टी होटललाई ‘क्राउन प्लाजा’ ब्रान्डअन्तर्गत व्यवस्थापन गरेको थियो। सोल्टीसँगको साझेदारी २०७७ सालमा सकिएपछि आईएचजीले नयाँ साझेदारमार्फत नेपालमा पुनः विस्तार गर्ने रणनीति अघि बढाएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय होटल ब्रान्डको विस्तारमा म्यारियट इन्टरनेसनल पनि अगाडि छ। काठमाडौंमा काठमाडौं म्यारियट होटल, फेयरफिल्ड बाई म्यारियट र एलोफ्ट काठमाडौं सञ्चालनमा छन्। यसबाहेक द लक्जरी कलेक्सन, सेराटन, वेस्टिन, जे डब्ल्यू म्यारियट, मोक्सी र द रिट्ज–कार्लटनलगायत ब्रान्डका परियोजना पनि विभिन्न चरणमा छन्।
आईएचजीका लागि भने नेपालमा चार होटलको एकैपटक विस्तार नयाँ चरण हो। समूहले १०० भन्दा बढी देशमा ६ हजारभन्दा बढी होटल सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ। उसका १७ वटा होटल ब्रान्ड छन् भने थप १ हजार ८०० भन्दा बढी होटल विकासको प्रक्रियामा छन्।
काठमाडौं, पोखरा, बेग्नास र चितवनमा अन्तर्राष्ट्रिय ब्रान्डका होटल विस्तार हुनुले नेपालमा उच्चस्तरीय पर्यटन सेवाको बजार बढिरहेको संकेत गर्छ। अन्तर्राष्ट्रिय होटल समूहको उपस्थितिले विश्वव्यापी ग्राहकसम्म पहुँच, सेवा मापदण्ड र व्यवस्थापन प्रणालीसँगै रोजगारी तथा स्थानीय आपूर्ति सञ्जालमा पनि यसले योगदान गर्नसक्ने विश्वास छ।
सांग्रिला समूहसँगको सम्झौतासँगै आईएचजीले नेपालमा आफ्नो उपस्थिति एकैपटक चार लक्जरी होटलसम्म विस्तार गर्दैछ। यसले नेपालको होटल बजारमा अन्तर्राष्ट्रिय ब्रान्डको प्रतिस्पर्धा थप फराकिलो बनाउनेछ।
आईएचजीका बजेट ब्राण्ड भने अहिले पनि सञ्चालनमा छन्। बजेट तथा प्रिमियम पहिलेदेखि भएपनि लक्जरी सेगमेन्टमा पहिलोपटक भित्रिएको हो।