बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

टेस्ला मोडल वाईमा काइरोसको अन्डर इन्भोइस : वीरगञ्जले ३४ हजार ५ सय डलर नै सीआईएफ कायम गरेर निर्धारण गर्‍यो कर

कम कर तिर्न ९ हजार डलर घटाइएको थियो, प्रतिकार थप ८० लाख तिर्न भन्सारको पत्र

सोमबार, असोज १९ २०८३
टेस्ला मोडल वाईमा काइरोसको अन्डर इन्भोइस : वीरगञ्जले ३४ हजार ५ सय डलर नै सीआईएफ कायम गरेर निर्धारण गर्‍यो कर

कार्यालयले कम्पनीले घोषणा गरेको मूल्यमा संका लागेपछि त्यसअघि आयात भएको र अन्तर्राष्ट्रिय मूल्यसमेत हेरेर टेस्ला मोडल वाईमा थप कर निर्धारण गरेर आयातकर्ता कम्पनीलाई पत्र पठाइसकेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्लालले जनकारी दिए।

काठमाडौं- कम कर तिर्न आयात मूल्य घटाएर आयात भएका टेस्लाको विद्युतीय कार मोडल वाईमा वीरगञ्ज भन्सार कार्यालयले थप कर निर्धारण गरेको छ।

आयातकर्ता काइरोस इन्टरनेसनल प्रालिले अन्डर इनभ्वोइस गरेर ल्याइएका दुईवटा टेस्ला मोडल वाईमा अन्तरिक असिस्मेनटबाट भन्सार कार्यालयले थप कर निर्धारण गरेको हो।

बिजनेस न्युजले काइरोस इन्टरनेसनल प्रालिले टेस्ला मोडल वाई आयातमा कर कम तिर्न अन्डर इनभ्वोइस भएको बारेमा समाचार प्रकाशित गरेको थियो।

वीरगञ्ज भन्सार कार्यालयले बजेटअघि आयात भएको र बजेटपछि आयात भएका कारको मूल्य अन्तर हेरेर बजेटपछि अस्वाभाविक मूल्य कम देखाइएपछि आन्तरिक मूल्यांकन गरेर थप मूल्य निर्धारण गरेको जनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय कारमा लाग्ने करको आधार नै बदलेर मोटर पिक पावरमा लाग्दै आएको कर चालु आर्थिक वर्ष २०८३/८४ बजेटपछि खरिद मूल्य (सीआईएफ भ्यालु) आधारमा लाग्ने व्यवस्था गरे। कम सीआईएफ भ्यालु भएका कारमा कम कर लाग्ने भएपछि केही कम्पनीले अन्डर इन्भोइस गरेर विद्युतीय कार ल्याउन थालेका हुन्।

काइरोस इन्टरनेसनल प्रालिले बजेटपछि कम कर तिर्न टेस्लाका विद्युतीय कारको सीआईएफ भ्यालु निकै कम देखाएर आयात गरेको पाइएको थियो। बजेटअघिसम्म टेस्लाका विदयुतीय कार अरेत इन्टरनेसनल प्रालिले आयात गर्दै आएको थियो। बजेटपछि भने टेस्लाका विद्युतीय कार काइरोस इन्टरनेसनल प्रालिले आयात गरेको हो।

सन् २०२६ सेटेम्बर ९ मा काइरोस इन्टरनेसनल प्रालिले आयात गरेको टेस्ला मोडल वाईको सीआईएफ भ्यालु ३८ लाख ८७ हजार ६ सय ९५ रुपैयाँ छ। यसअघि अमेरिकी डलरमा आयात हुँदै आएको टेस्लाका कार काइरोस इन्टरनेसनलले हङकङ डलरमा आयात उल्लेख गरेको छ। सोही कार २०२६ को फेब्रुअरी ३ मा आउँदा अरेत इन्टरनेसनल प्रालिले आयात गर्दा सीआईएफ भ्यालु ३४ हजार ५ सय डलर रहेको थियो। यसको मूल्य फेब्रुअरी ३ कै राष्ट्र बैंकको सटही दरअनुसार नेपाली रुपैयाँ ५० लाख ३७ हजारभन्दा बढी हुन्छ। तर अहिले यो गाडीको मूल्य करिब ९ हजार डलर कसरी र किन घटेर आयो?

वीरगञ्ज भन्सार कार्यालयले यसमा शंका लागेपछि यसअघि आयात भएको मूल्य र अन्तर्राष्ट्रिय बजार मूल्य हेरेर विगतमा आयात भएकै मूल्य ३४ हजार ५ सय डलर सीआईएफ कायम गरेर कर निर्धारण गरिएको भन्सार विभाग स्रोतको भनाइ छ।

काइरोस इन्टरनेसनल प्रालिले बजेटपछि जुलाइ २९ र सेप्टेम्बर ९ मा एक/एक वटा टेस्ला मोडल वाई वीरगञ्ज भन्सार कार्यालयबाट आयात गरेको थियो। यी दुवै कारको सीआईएफ भ्यालु ३४ हजार ५ सय अमेरिकी डलर (५० लाख रुपैयाँभन्दा बढी) कायम गरी नयाँ कर निर्धारण गरेको हो। यसरी अब काइरोस इन्टरनेसनलले यसअघि तिरेको करबाहेक प्रति टेस्ला मोडल वाईमा करिब ८० लाख रुपैयाँ थप कर तिर्नुपर्ने भएको छ।

भन्सार कार्यालयले कम्पनीले घोषणा गरेको मूल्यमा शंका लागेपछि त्यसअघि आयात भएको र अन्तर्राष्ट्रिय मूल्यसमेत हेरेर टेस्ला मोडल वाईमा थप कर निर्धारण गरेर आयातकर्ता कम्पनीलाई पत्र पठाइसकेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्लालले जनकारी दिए।

‘थप कर निर्धारण भए हामीले आयातकर्तालाई पत्र पठाइसकेका छौँ। त्यसमा आयातकर्तालाई चित्त नबुझेको कुरा आएको छ। चित्त नबुझे उहाँहरुलाई कानूनी उपचारमा जाने बाटो त छँदै नै छ’ लम्सालले भने।

छल नगरी नियमित मूल्यमा आयात गर्दा टेस्ला मोडल वाईको सीआईएफ भ्यालु ५० लाख रुपैयाँभन्दा बढी पर्ने थियो। यो मूल्यको विद्युतीय कारमा समग्रमा २ सय २७ प्रतिशत कर लाग्छ। ३८ लाख रुपैयाँ अर्थात ४० लाख रुपैयाँभन्दा कम सीआईएफ भ्यालु भएमा त्यो विद्युतीय कारमा समग्रमा ९२ प्रतिशतमात्र कर लाग्छ।

यसरी हेर्दा काइरोस इन्टरनेसनलले टेस्ला मोडल वाईमा १ सय ३५ प्रतिशत करछली गरेको छ। वीरगञ्ज भन्सारले काइरोस इन्टरनेसनलको उक्त बदमासी उपर कारबाही गर्दै यसअघि आयात भएसरह ५० लाख रुपैयाँभन्दा बढी सीआईएफ भएका कारमा लाग्ने कर नै निर्धारण गरेर थप कर तिर्न आउन भनेको हो।

सरकारले चालु आर्थिक वर्षको आर्थिक विधेयकमार्फत ३० देखि ४० लाख रुपैयाँ सीआईएफ भ्यालुमा आयात भएको विद्युतीय कारमा २० प्रतिशत भन्सार, ३५ प्रतिशत पूर्वाधार लगानी विकास दस्तुर, ५ प्रतिशत सडक सम्भार दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ।

४० लाख ५० लाख रुपैयाँ सीआईएफ भ्यालुको विद्युतीय कारमा २० प्रतिशत भन्सार, ९० प्रतिशत पूर्वाधार लगानी विकास दस्तुर, ५ प्रतिशत सडक सम्भार दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ। त्यस्तै ५० लाख रुपैयाँभन्दा बढी सीआईएफ भ्यालु भएका विद्युतीय कारमा २० प्रतिशत भन्सार, १ सय ३० प्रतिशत पूर्वाधार लगानी विकास दस्तुर, ५ प्रतिशत सडक सम्भार दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था रहेको छ।

यस्तै २० लाख रुपैयाँभन्दा कम सीआत्तएफ भ्यालु भएका विद्युतीय कारमा २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी दस्तुर, २.५ प्रतिशत सडक सम्भार दस्तुर  १३ प्रतशत भ्याट र २० देखि ३० लाख रुपैयाँ सीआईएफ भ्यालुमा आयात भएका विद्युतीय कारमा २० प्रतिशत भन्सार, २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी दस्तुर, ५ प्रतिशत सडक सम्भार दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ।

समग्र (क्युमुलेटिभ) मा ४० देखि ५० लाख रुपैयाँ सीआईएफ भ्यालु भएको विद्युतीय कार आयातमा १ सय ७१ प्रतिशत कर लाग्छ भने ५० लाख रुपैयाँभन्दा बढी सीआईएफ भ्यालु भएका विद्युतीय कार आयातमा २ सय २७ प्रतिशत कर लाग्छ। २० लाख भन्दा कम सीआईएफ भएका विद्युतीय कारमा ४२ प्रतिशत र २० देखि ३० लाख रुपैयाँ सीआईएफ भएका कारमा ७१ प्रतिशत कर लाग्ने व्यवस्था बजेटले गरेको छ।

टेस्ला मोडल वाईमा काइरोसको अन्डर इन्भोइस : ९ हजार डलर घटाइयो सीआईएफ, यसरी छलियो १३५ प्रतिशत कर टेस्ला मोडल वाईमा काइरोसको अन्डर इन्भोइस : ९ हजार डलर घटाइयो सीआईएफ, यसरी छलियो १३५ प्रतिशत कर


प्रकाशित : सोमबार, असोज १९ २०८३१७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend