बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दसैँको दक्षिणा सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ? यी कुरा ख्याल गर्नुहोस्

सोमबार, कात्तिक २ २०८३
दसैँको दक्षिणा सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ? यी कुरा ख्याल गर्नुहोस्

दशैँमा प्राप्त हुने यही दक्षिणा वा बचत भएको सानो रकमलाई सही ठाउँमा लगानी गर्न सके भविष्यमा त्यसले राम्रो प्रतिफल दिन सक्ने भएकाले पछिल्लो समय युवापुस्तासहित धेरैको ध्यान सेयर बजारतर्फ केन्द्रित छ।

काठमाडौं- दसैँमा प्राप्त हुने यही दक्षिणा वा बचत भएको सानो रकमलाई सही ठाउँमा लगानी गर्न सके भविष्यमा त्यसले राम्रो प्रतिफल दिन सक्ने भएकाले पछिल्लो समय युवापुस्तासहित धेरैको ध्यान सेयर बजारतर्फ केन्द्रित छ।

दसैँमा विशेषगरी आफूभन्दा ठूलाबडाको हातबाट टीका तथा आशीर्वादसँगै दक्षिणा ग्रहण गर्ने परम्परा छ। यदि तपाईंले दसैँमा आफन्त तथा परिवारबाट प्राप्त हुने दक्षिणा वा आफ्नो बचत रकम सेयर बजारमा लगानी गर्ने योजना बनाउनुभएको छ भने लगानीको निर्णय गर्दा विशेष सावधानी अपनाउन आवश्यक हुन्छ।

रकम सानो भए पनि त्यसलाई कहाँ र कसरी लगानी गर्ने भन्ने निर्णयले भविष्यको प्रतिफलमा ठूलो प्रभाव पार्न सक्छ। त्यसैले अरूको लहड, बजारको हल्ला वा सामाजिक सञ्जालमा आएका चर्चाका आधारमा सेयर खरिद गर्नुभन्दा कम्पनीको वित्तीय अवस्था र आफ्नो जोखिम वहन क्षमता बुझेर लगानी गर्नुपर्छ।

अहिले सेयर बजारमा लाभांशको सिजनसमेत चलिरहेको छ। दसैँअघि र दसैँपछि विभिन्न सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने तथा साधारण सभा आह्वान गर्ने क्रम बढ्ने गरेको छ।

गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएपछि कम्पनीहरूले लाभांश प्रस्ताव गर्ने र साधारण सभा बोलाउने भएकाले यस अवधिमा लगानीकर्ताको ध्यान लाभांश वितरण गर्ने कम्पनीतर्फ बढी जाने गरेको छ।

तर लाभांश घोषणा गरेको आधारमा कम्पनीमा लगानी गर्नु उपयुक्त हुँदैन। दक्षिणा वा बचत रकम लगानी गर्नेहरूले कम्पनीको विगतको लाभांश इतिहाससँगै आगामी दिनमा लाभांश दिन सक्ने क्षमता, आम्दानी, नाफा र वित्तीय अवस्थासमेत अध्ययन गर्नुपर्छ।

दीर्घकालीन रूपमा तीनदेखि पाँच वर्षसम्म लगानी गर्न सक्ने र तुलनात्मक रूपमा कम जोखिम लिन चाहने लगानीकर्ताले वाणिज्य बैंक तथा बलिया उत्पादनमूलक र उपभोक्ता क्षेत्रका कम्पनीलाई अध्ययन गर्न सक्छन्।

वाणिज्य बैंकहरू नियामकीय निगरानीमा रहने भएकाले तिनका वित्तीय सूचकका आधारमा कम्पनीको अवस्था विश्लेषण गर्न सकिन्छ। बैंक छनोट गर्दा खराब कर्जा, प्रतिसेयर आम्दानी, चुक्ता पुँजी, प्रतिफल, लाभांश इतिहास तथा बजार मूल्यलाई हेर्न आवश्यक हुन्छ।

नबिल बैंक, एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक र ग्लोबल आईएमई बैंकजस्ता वाणिज्य बैंकका वित्तीय सूचकलाई आधार बनाएर लगानीकर्ताले आफ्नै अध्ययन गर्न सक्छन्।

त्यस्तै स्थिर आम्दानी र नगद प्रवाह भएका उत्पादन तथा उपभोक्ता क्षेत्रका कम्पनी पनि दीर्घकालीन लगानीका लागि अध्ययन गर्न सकिन्छ। नेपाल टेलिकम, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरीजस्ता कम्पनीमा लगानी गर्नुअघि तिनको पछिल्लो वित्तीय अवस्था, आम्दानी, लाभांश इतिहास र बजार मूल्यको विश्लेषण गर्नुपर्छ।

मध्यम जोखिम लिन सक्ने लगानीकर्ताले विकास बैंक, फाइनान्स तथा जलविद्युत् क्षेत्रका कम्पनीलाई पनि अध्ययन गर्न सक्छन्। विकास बैंकमा वाणिज्य बैंकको तुलनामा सेयर मूल्यमा बढी उतारचढाव हुन सक्ने भएकाले कम्पनीको वित्तीय सूचक, व्यवसाय विस्तार र आम्दानीको अवस्थालाई ध्यान दिनुपर्छ।

शाइन रेसुङ्गा विकास बैंक, गरिमा विकास बैंक तथा लुम्बिनी विकास बैंकजस्ता कम्पनीलाई उदाहरणका रूपमा लिएर लगानीकर्ताले सम्बन्धित कम्पनीको वित्तीय विवरण अध्ययन गर्न सक्छन्।

जलविद्युत् कम्पनीमा लगानी गर्दा आयोजना निर्माण सम्पन्न भएको छ वा छैन, विद्युत् उत्पादन सुरु भएको अवस्था, विद्युत् बिक्रीबाट हुने आम्दानी, ऋणको भार, विद्युत् खरिद सम्झौता तथा लाभांश वितरण गर्न सक्ने क्षमता महत्वपूर्ण हुन्छ। बजारमा चलेको चर्चाकै आधारमा जलविद्युत् कम्पनी खरिद गर्नुभन्दा कम्पनीको वास्तविक वित्तीय अवस्था र आयोजनाको प्रगतिलाई प्राथमिकता दिनुपर्छ।

दक्षिणाको रकम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म मात्र छ र सेयर बजारमा नयाँ हुनुहुन्छ भने म्युचुअल फन्ड पनि अध्ययन गर्न सकिने विकल्प हो। म्युचुअल फन्डमार्फत विभिन्न कम्पनी तथा क्षेत्रमा लगानी हुने भएकाले एउटै कम्पनीमा मात्र रकम राख्नुपर्ने जोखिम केही हदसम्म विभाजन हुन सक्छ।

त्यस्तै, प्राथमिक सेयर निष्कासन अर्थात् आईपीओमा आवेदन दिने अवसरलाई पनि नयाँ लगानीकर्ताले आफ्नो लगानी योजनाअनुसार विचार गर्न सक्छन्।

लगानी गर्दा सबै रकम एउटै कम्पनीमा लगानी नगरी विभिन्न क्षेत्र तथा लगानी साधनमा बाँडफाँट गर्नु महत्वपूर्ण हुन्छ। लाभांशका लागि सेयर खरिद गर्ने हो भने कम्पनीको लाभांश घोषणा, साधारण सभा तथा बुक क्लोजको मिति पनि बुझ्नुपर्छ। त्यसैगरी कम्पनीको चौथो तथा पहिलो त्रैमासिक वित्तीय विवरण, प्रतिसेयर आम्दानी, खराब कर्जा, मूल्य–आम्दानी अनुपात र लाभांश क्षमताजस्ता सूचकलाई अध्ययन गरेर मात्रै लगानी निर्णय लिनुपर्छ।

दक्षिणाबाट प्राप्त सम्पूर्ण रकम एकैपटक बजारमा लगानी गर्नुको सट्टा आफ्नो जोखिम क्षमता र बजारको अवस्थाअनुसार किस्ताबन्दी रूपमा लगानी गर्ने विकल्पसमेत अपनाउन सकिन्छ। सेयर बजारमा निश्चित प्रतिफलको ग्यारेन्टी नहुने भएकाले दक्षिणा वा बचतको रकम लगानी गर्दा आफ्नो आर्थिक क्षमता, लगानी अवधि र जोखिम वहन क्षमतालाई मुख्य आधार बनाउन आवश्यक हुन्छ।

(यो जानकारी सचेतनाका लागि मात्र हो। लगानी गर्नुअघि कम्पनीको वित्तीय विवरण आफैँ अध्ययन गर्नुपर्छ।)


प्रकाशित : सोमबार, कात्तिक २ २०८३०५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend