बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

होटल तथा पर्यटन समूहमा बढ्दै लगानीकर्ताको आकर्षण, के छन् मुख्य कारण?

मंगलबार, कात्तिक ३ २०८३
होटल तथा पर्यटन समूहमा बढ्दै लगानीकर्ताको आकर्षण, के छन् मुख्य कारण?

पर्यटन क्षेत्रको गतिविधिमा आएको सुधार, होटल व्यवसायको विस्तार तथा कम्पनीहरूको वित्तीय अवस्थामा देखिएको सुधारले यो समूहलाई लगानीकर्ताको नजरमा पारेको देखिन्छ।

काठमाडौं- सेयर बजारमा पछिल्लो समय होटल तथा पर्यटन समूहका कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको छ।

बजारमा बैंक तथा वित्तीय संस्थालगायतका क्षेत्रमा कारोबारको चाप रहेकै अवस्थामा लगानीकर्ताको चासो होटल तथा पर्यटन क्षेत्रका सेयरमा लगानीकर्ताको चासो बढेको हो।

पर्यटन क्षेत्रको गतिविधिमा आएको सुधार, होटल व्यवसायको विस्तार तथा कम्पनीहरूको वित्तीय अवस्थामा देखिएको सुधारले यो समूहलाई लगानीकर्ताको नजरमा पारेको देखिन्छ।

होटल तथा पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। पछिल्ला वर्षमा पर्यटक आगमनमा सुधार हुँदै गएसँगै होटलहरूको व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ।

विदेशी पर्यटकको आगमन बढ्नुका साथै आन्तरिक पर्यटन, सभा-सम्मेलन तथा विभिन्न व्यावसायिक गतिविधि बढ्दा होटलहरूको आम्दानीमा सुधारको सम्भावना देखिएको छ। यही कारणले पनि सेयर बजारका लगानीकर्ताले होटल तथा पर्यटन समूहलाई पछिल्लो समय विशेष चासोका साथ हेर्न थालेका छन्।

सरकारले होटल व्यवसायलाई उद्योगसरह मान्यता तथा सुविधा दिने नीतिगत व्यवस्था अघि बढाएपछि यस क्षेत्रप्रतिको आकर्षण थप बढेको देखिन्छ। होटल व्यवसायमा उद्योगसरह सुविधा उपलब्ध हुने भएपछि लगानी विस्तार, नयाँ परियोजना सञ्चालन तथा व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ।

नीतिगत रूपमा होटल क्षेत्रलाई प्राथमिकता दिइनुले दीर्घकालीन लगानीका लागि समेत सकारात्मक वातावरण बन्न सक्ने व्यवसायी तथा बजारका जानकारहरूको धारणा छ।

त्यस्तै, नेपालमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड तथा नयाँ होटल परियोजना थपिने क्रम पनि बढिरहेको छ। पर्यटन पूर्वाधार विस्तारसँगै होटल क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढ्दै गएको छ। नयाँ होटलहरू सञ्चालनमा आउनु र केही होटल कम्पनीहरू पुँजी बजारमा प्रवेश गर्नुले पनि होटल तथा पर्यटन समूहप्रति लगानीकर्ताको चासो बढाएको हो।

नेपालमा पुँजी बजारको सुरुवात भएदेखि सन् २०२१ सम्म आइपुग्दा होटल तथा पर्यटन क्षेत्रका जम्मा तीनवटा कम्पनी मात्रै सूचीकृत थिए। जसमा सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल (हायात) र ओरिएन्ट होटल्स (र्‍याडिसन) मात्रै थिए। सन् २०२१ मा बहुचर्चित चन्द्रागिरी हिल्स लिमिटेड थपियो। त्यस्तै सन् २०२३ मा कालिन्चोक दर्शन केवलकार र २०२३ मै सिटी होटल लिमिटेड पनि थपिए। 

चालु आर्थिक वर्षको कार्तिकसम्म नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रका ६ वटा कम्पनी सूचीकृत थिए । मंसिरमा बन्दीपुर केवलकार र फागुनमा होटल फरेस्ट इन पनि थपिएपछि नेपालको पुँजी बजारमा सूचीकृत हुने होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरुको संख्या ८ पुग्यो।

पछिल्लो समय आईपीओ निस्कासनका लागि आवेदन दिनेको सूचीमा होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरुको संख्याको लाइन बढेको छ। हाल धितोपत्रको पाइपलाइनमा १८ वटा कम्पनी छन्।

होटल समूहका सेयरमा आकर्षण बढ्नुको अर्को कारण विगतको तुलनामा सेयर मूल्यको अवस्था पनि हो। कोभिड-१९ महामारी तथा त्यसपछिको आर्थिक मन्दीका कारण होटल तथा पर्यटन क्षेत्र लामो समय प्रभावित भएको थियो।

त्यसको असर कम्पनीहरूको कारोबार र सेयर मूल्यमा समेत परेको थियो। पछिल्लो समय व्यवसायमा सुधार देखिन थालेपछि तुलनात्मक रूपमा न्यून मूल्यमा रहेका होटल कम्पनीका सेयरमा लगानीकर्ताले सम्भावना खोज्न थालेका छन्।

यससँगै सेयर बजारमा देखिने क्षेत्रगत लगानी परिवर्तन अर्थात् ‘सेक्टर रोटेसन’ ले पनि होटल समूहलाई प्रभाव पारेको छ। बजार बढ्दा बैंक तथा वित्तीय संस्थामा लगानी गरेका कतिपय लगानीकर्ताले नाफा सुरक्षित गर्दै अन्य क्षेत्रमा लगानी स्थानान्तरण गर्ने गर्छन्। पछिल्लो समय होटल तथा पर्यटन समूहमा भएको कारोबार र मूल्यगत गतिविधिलाई पनि यही क्षेत्रगत लगानी परिवर्तनसँग जोडेर हेर्न थालिएको छ। तर यो आर्थिक वर्षमा अहिलेसम्म होटल तथा पर्यटन क्षेत्रका जम्मा २ वटा कम्पनीले मात्रै लाभांस घोषणा गरेका छन्।

वित्तीय अवस्थाको सुधारले पनि होटल कम्पनीलाई लगानीकर्ताको रोजाइमा पार्न भूमिका खेलेको छ। सोल्टी होटलको व्यवसायमा सुधार देखिँदै गएको छ।

सञ्चालन आम्दानी बढ्नु, पर्यटक गतिविधि विस्तार हुनु तथा व्यवसाय विस्तारका योजनाले भविष्यमा कम्पनीहरूको आम्दानी र नाफामा सुधार ल्याउन सक्ने अपेक्षा गरिएको छ।

तर सबै होटल कम्पनीको अवस्था भने समान छैन। जेन-जी आन्दोलनका क्रममा क्षति पुगेपछि तारागाउँ रिजेन्सी होटल्स लिमिटेड अन्तर्गतको हयात रिजेन्सी काठमाडौं लामो समयदेखि बन्द छ। आन्दोलनका क्रममा होटलमा भौतिक क्षति पुगेपछि पुनर्निर्माण तथा मर्मतको काम भइरहेको छ। होटलको सञ्चालन बन्द हुँदा कम्पनीको आम्दानी र नाफामा समेत ठूलो असर परेको छ। पछिल्लो आर्थिक वर्षमा कम्पनी नोक्सानीमा गएको रिपोर्ट सार्वजनिक भएको छ।

यस्तै, केही कम्पनीले व्यवसाय विस्तार तथा पुँजी वृद्धि योजनासमेत अघि बढाइरहेका छन्। हकप्रद तथा बोनस सेयरको सम्भावना, व्यवसाय विस्तार र भविष्यमा आम्दानी बढ्न सक्ने अपेक्षाले पनि लगानीकर्ताको ध्यान तान्ने गरेको छ।

यद्यपि, होटल तथा पर्यटन समूहमा आकर्षण बढ्दैमा सबै कम्पनीको वित्तीय अवस्था समान भने हुँदैन। लगानीकर्ताले कम्पनीको आम्दानी, नाफा, ऋणको अवस्था, प्रतिफल क्षमता, सम्पत्तिको उपयोग, पर्यटक आगमन तथा व्यवस्थापन पक्षलगायतका आधारभूत सूचक हेरेर लगानी निर्णय लिनुपर्ने हुन्छ। पछिल्लो बजार गतिविधिले भने होटल तथा पर्यटन क्षेत्र फेरि लगानीकर्ताको प्राथमिक चासोको समूह बन्न थालेको संकेत गरेको छ।


प्रकाशित : मंगलबार, कात्तिक ३ २०८३०५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend