मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

महाकाली पुलको निर्माण सुस्त गतिमा

बिहीबार , वैशाख १ २०७९
महाकाली पुलको निर्माण सुस्त गतिमा

सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ।

महेन्द्रनगर (बैशाख, १) - बितेको छ महिनायता कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन।

सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ। गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो। त्यसयता पुलको काम छिटपुटरूपमा भए पनि बाँध निर्माणलगायतका काम भने सुरु नै हुनसकेको छैन।

पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिर्वतन स्वीकृत भए पनि ‘भेरियसन अर्डर’ नहुँदा काम अगाडि बढ्न नसकेको पुल निर्माण कम्पनीको भनाइ छ। यसअघि ठूला ढुंगाको ‘गाइडबण्ड’ बनाउने सम्झौतामा रहे पनि ठूलो ढुंगाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिर्वतनको पहल भएको हो। गाइडबण्ड बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक थियो।

पुल निमार्णको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले गाइडबण्डको डिजाइन परिर्वतन भए पनि ‘भेरियसन अर्डर’ नहुँदा आर्थिक विषय नटुंगिएको बताए। 'गत फागुन २३ गते डिजाइन परिर्वतन भए पनि ‘भेरियसन अर्डर’ नुहँदा काम ढिला भयो', इञ्जीनियर पाण्डेयले भने, 'डिजाइन परिर्वतनसँगै रकम पनि तल-माथि हुन्छ।'

'अब वर्षात नजिकिँदैछ र यसका कारण खोलाभित्रको काम प्रभावित हुन्छ', उनले भने, 'अन्य निर्माण भने चलिरहेको छ।' गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब २० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो।

त्यसैगरी पुलसँगै सात दशमलव आठ किलोमिटर छ लेनको पहुँचमार्गअन्तर्गत चार किलोमिटरभन्दा बढी सडक कालोपत्र भइसकेको छ। ३ अर्ब ६६ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। पुल बने सुदूरपश्चिमको आर्थिक समृद्धिमा फड्को मार्ने आशा गरिएको उक्त आयोजनाको निर्माण द्रुतगतिमा गर्न महाकाली तटीय क्षेत्रका स्थानीयवासीले पनि दबाब दिँदै आएका छन्।

योजनामा पुलको दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने व्यवस्था छ। विसं २०७४ भदौबाट पुल निर्माण सुरु भएकामा कारोना महामारीका कारण दुई पटकसम्म प्रभावित बनेको थियो। रासस


प्रकाशित : बिहीबार , वैशाख १ २०७९१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend