काठमाडौं- केही वर्षअघिसम्म अनलाइन ठगी फोन, नक्कली बैंक कर्मचारी वा झुटा पुरस्कारका सन्देशमा सीमित देखिन्थ्यो। अहिले सामाजिक सञ्जाल, डेटिङ एप, क्रिप्टोकरेन्सी र एआई जोडिँदा ठगी गर्ने तरिका थप व्यक्तिगत र ठूलो परिमाणमा सञ्चालन गर्न सकिने बन्दै गएको छ।
अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले सार्वजनिक गरेको सेप्टेम्बर २०२६ को खतरा विश्लेषण प्रतिवेदनले यसको एउटा उदाहरण सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार चीनमा आधारित एउटा एप स्टुडियोले २० भन्दा बढी डेटिङ एप सञ्चालन गर्न एआई प्रयोग गरेको थियो। ती एपमा वास्तविक मानिसजस्तो संवाद गर्ने हजारौं एआई व्यक्तित्व राखिएका थिए।
एन्थ्रोपिकका अनुसार अप्रिल २०२६ को दुई सातामा मात्रै ४ हजार ७ सयभन्दा बढी एआई व्यक्तित्वले कम्तीमा २५ हजार फरक व्यक्तिसँग संवाद गरेका थिए। ती एआई व्यक्तित्वले करिब २३ लाख ६० हजार सन्देश पठाएका थिए।
यो नेटवर्कमा एआई मात्र थिएनन्। सञ्चालकले वास्तविक मानिसलाई पनि प्रयोगकर्ताको मिलान सूचीमा राखेका थिए। प्रतिवेदनअनुसार करिब तीन एआई व्यक्तित्व बराबर एक वास्तविक व्यक्ति राखिएको थियो। वास्तविक मानिसलाई एआईले गर्न नसक्ने काम, जस्तै प्रत्यक्ष भिडियो कुराकानी र सामाजिक सञ्जालमा सम्पर्क गर्ने काममा प्रयोग गरिएको थियो। यसबाट एप वास्तविक मानिसले नै चलाइरहेको विश्वास दिलाउने प्रयास गरिएको थियो।
पहिले एउटै व्यक्तिले सीमित मानिससँग मात्र संवाद गर्न सक्थ्यो। एआईले एकैपटक हजारौं व्यक्तिसँग फरक–फरक शैलीमा कुराकानी गर्न सक्छ। प्रयोगकर्ताको प्रतिक्रियाअनुसार संवाद अघि बढाउन सक्ने भएकाले नक्कली पहिचानलाई विश्वसनीय बनाउन पनि सजिलो हुन्छ।
नेपालमा भने यस्तो जोखिम नयाँ होइन
नेपालमा डेटिङ एप र डिजिटल कारोबार जोडिएको ठगीको घटना यसअघि नै देखिएको छ। २०८२ को असारमा नेपाल प्रहरीले गैरकानुनी रूपमा डेटिङ एप र क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ६ चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार ललितपुरमा ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरेर कल सेन्टर र ‘मेटो’ नामको डेटिङ एप सञ्चालन गरिएको थियो। काठमाडौंको चागलमा रहेको शाखाबाट नेपाली युवतीलाई डेटिङ एपमार्फत प्रलोभनमा पारेर अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टोकरेन्सी कारोबार भइरहेको प्रहरीको दाबी थियो। प्रहरीले उनीहरूबाट १३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ, सातवटा ल्यापटप र ५४ वटा मोबाइल बरामद गरेको जनाएको थियो। ६ चिनियाँ नागरिकविरुद्ध अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरिएको र अन्य ४६ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो।
यस घटनामा एआई प्रयोग भएको प्रमाण सार्वजनिक भएको छैन। यद्यपि यसको तीव्रता र विस्तार हेर्दा एआईको सहायता लिएको हुनसक्ने सम्भावना उत्तिके छ।
नेपाल प्रहरीका पछिल्ला विवरणले पनि अनलाइन ठगी र क्रिप्टोकरेन्सी कारोबारका घटना निरन्तर अनुसन्धानको विषय बनिरहेको देखाउँछन्। प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ४२ जना पक्राउ परेका थिए। त्यही अवधिमा अनलाइन सट्टेबाजीमा ४८ जना पक्राउ परेका थिए।
डेटिङ स्क्यामको आधारभूत तरिका नयाँ होइन। अपरिचित व्यक्तिसँग सम्बन्ध बनाउने, विश्वास जित्ने र त्यसपछि पैसा वा डिजिटल कारोबारतर्फ लैजाने शैली यसअघि पनि प्रयोग हुँदै आएको छ। एआईले यसमा नयाँ कुरा थपेको भनेको त्यसलाई ठूलो परिमाणमा सञ्चालन गर्ने क्षमता हो।
एन्थ्रोपिकको प्रतिवेदनमा देखिएको नेटवर्कमा एआईले स्वतः संवाद गर्ने भूमिका खेलेको थियो भने वास्तविक मानिसलाई विश्वास बढाउन आवश्यक चरणमा प्रयोग गरिएको थियो। यसले भविष्यमा ठगी गर्ने समूहले ठूलो संख्यामा मानिससँग सम्पर्क गर्न धेरै जनशक्ति आवश्यक नपर्न सक्ने देखाउँछ।
यसको अर्को जोखिम नक्कली पहिचान अझ विश्वसनीय बन्नु हो। एआईबाट तयार गरिएका तस्बिर, आवाज र संवादले कुनै व्यक्तिको पहिचानबारे प्रयोगकर्ताले गर्ने सामान्य अनुमानलाई समेत कमजोर बनाउन सक्छन्। तर नेपालमा यस्ता प्रविधि प्रयोग गरेर डेटिङ स्क्याम भइरहेको पुष्टि गर्ने सार्वजनिक प्रमाण भने अहिलेसम्म देखिँदैन।