काठमाडौं- उद्योगी विनोद चौधरीको पछिल्लो पुस्तक ‘मेड इन नेपाल’ भारतको सिलिगुडीमा सार्वजनिक गरिएको छ। उत्तर बंगाल चेम्बर अफ कमर्सको आयोजनामा सोमबार साँझ भएको विशेष कार्यक्रममा चौधरीको पुस्तक सार्वजनिक गरिएको हो।
कार्यक्रममा चौधरीले उत्तर बंगाल क्षेत्रका उद्यमी तथा व्यवसायी नेताहरूसँग नेतृत्व, व्यवसायमा आउने चुनौती, निरन्तरता र स्थानीय आधारबाट विश्व बजारसम्म व्यवसाय विस्तार गर्ने विषयमा आफ्ना अनुभव आदानप्रदान गरेका थिए।
नेपालमा व्यवसाय सुरु गरेर विश्वका विभिन्न मुलुकमा आफ्नो व्यावसायिक पहुँच विस्तार गर्दाको अनुभव सुनाउँदै चौधरीले उद्यमशीलताको सफलता सुरुवात भएको स्थानले निर्धारण नगर्ने बताएका थिए। उनका अनुसार उद्यमीले कति ठूलो सोच राख्छ, त्यसलाई व्यवहारमा कसरी उतार्छ र चुनौतीबीच कति निरन्तर अघि बढ्छ भन्ने विषय महत्वपूर्ण हुन्छ।
कार्यक्रममा सहभागी उद्यमी तथा व्यवसायी नेताहरूले चौधरीसँग नेतृत्व र व्यवसाय विस्तारका विषयमा प्रत्यक्ष संवाद गरेका थिए। स्थानीय बजारबाट व्यवसाय सुरु गरेर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा पुग्न आवश्यक रणनीति, जोखिम व्यवस्थापन र नेतृत्व क्षमताबारे समेत छलफल भएको थियो।
सोही अवसरमा चौधरीले आफ्नो पुस्तक ‘मेड इन नेपाल’ सार्वजनिक गरेका थिए। पुस्तक सार्वजनिकपछि सहभागी पाठकसँग उनले प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। पुस्तक हस्ताक्षर कार्यक्रममा चौधरीले पाठकका प्रश्न तथा जिज्ञासासमेत सुनेका थिए।
चौधरीले स्थानीय पहिचान र जरा मजबुत बनाएर पनि विश्वव्यापी महत्वाकांक्षा राख्न सकिने बताएका थिए। उद्यमशीलता कुनै निश्चित भूगोलमा सीमित विषय नभएको र स्थानीय स्तरबाट सुरु भएको प्रयासलाई ठूलो सोच, लगन र निरन्तरतामार्फत अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी व्यवसायी तथा उद्यमीहरूले चौधरीको व्यावसायिक यात्राका अनुभवलाई व्यवसाय विस्तार र नेतृत्वका दृष्टिले महत्वपूर्ण रहेको बताएका थिए।
कार्यक्रमका लागि न्यानो आतिथ्य प्रदान गरेकोमा चौधरीले उत्तर बंगाल चेम्बर अफ कमर्सप्रति धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी उद्यमी, व्यवसायी र पाठकप्रति पनि उनले आभार व्यक्त गरेका छन्।
चौधरी सीजी कर्प ग्लोबलका अध्यक्ष हुन्। ‘मेड इन नेपाल’मा उनको व्यक्तिगत जीवन, उद्यमशीलता र व्यवसाय निर्माणको यात्रालाई समेटिएको छ।