काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणालीमा प्राविधिक समस्या आउनु असामान्य घटना होइन। विश्वका विकसित पुँजी बजारले समेत यस्ता समस्या भोग्दै आएका छन्। प्रणालीमा समस्या आएपछि त्यसको कारण पहिचान गर्ने, जिम्मेवारी निर्धारण गर्ने, लगानीकर्तालाई समयमै जानकारी दिने र भविष्यमा त्यस्तो समस्या दोहोरिन नदिने व्यवस्था कस्तो छ भन्ने विषयले विश्वसनीयता निर्धारण गर्छ।
सेयर बजारमा आज सोमबार देखिएको घटनाले भने कारोबार प्रणालीको प्राविधिक क्षमतामात्रै होइन जोखिम व्यवस्थापन र जवाफदेहितामाथि समेत प्रश्न उठाएको छ।
नेप्सेको डाटा सेन्टरमा आइतबार बिहानदेखि प्राविधिक समस्या देखिएपछि सोमबारको सेयर कारोबार नै स्थगित गरिएको छ। नेप्सेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिमा समस्या आएपछि ब्रोकर कम्पनीहरूको कारोबार व्यवस्थापन प्रणाली प्रभावित भएको थियो।
जापानको टोकियो स्टक एक्सचेन्ज (टीएसई)मा २०२० अक्टोबर १ मा यस्तै समस्या देखिएको थियो। टीएसईको कारोबार प्रणाली ‘एरोहेड’मा हार्डवेयर समस्या आएपछि खराब उपकरणबाट ब्याकअप उपकरणमा प्रणाली स्वतः स्थानान्तरण हुन सकेन। त्यसका कारण बजारसम्बन्धी सूचना प्रवाह प्रभावित भयो र समस्या तत्काल समाधान हुन नसकेपछि त्यस दिनको सम्पूर्ण सेयर कारोबार स्थगित गरिएको थियो।
जापानका लागि यो ठूलो प्राविधिक अवरोध थियो तर घटना कारोबार रोकिएसँगै सकिएन। जापान एक्सचेन्ज ग्रुपले घटनाको कारण, त्यसबेला प्रणालीमा देखिएको कमजोरी, भविष्यमा पुनरावृत्ति रोक्ने उपाय र जिम्मेवारीबारे अनुसन्धान गर्यो। अनुसन्धानपछि जिम्मेवारी माथिल्लो तहसम्म पुगेको थियो। टीएसईका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कोइचिरो मियाहाराले राजीनामा दिएका थिए।
जापान एक्सचेन्ज ग्रुपका प्रमुख कार्यकारी अकिरा कियोतामाथि चार महिनाका लागि ५० प्रतिशत तलब कटौती गरिएको थियो भने सूचना प्रविधिसँग सम्बन्धित अधिकारीमाथि पनि कारबाही गरिएको थियो।
त्यसपछि जापानले भविष्यमा यस्तै समस्या दोहोरिँदा कारोबार कसरी रोक्ने, कसरी पुनः सञ्चालन गर्ने, लगानीकर्ताका आदेश कसरी व्यवस्थापन गर्ने र बजार सहभागीलाई कसरी सूचना दिने भन्ने विषयमा प्रक्रिया तथा व्यवस्थामा सुधार गरेको थियो।
यता २०२० नोभेम्बर १६ मा ठूलो सफ्टवेयर स्तरोन्नतिपछि अस्ट्रेलियन सेक्युरिटिज एक्सचेन्ज (एएसएक्स)को कारोबार प्रणालीमा समस्या आयो। कारोबार सुरु भएको समयमा आएको अवरोधका कारण एएसएक्सको नगद सेयर बजार दिनभर पुनः सञ्चालन हुन सकेन। अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कमिसन (एएसआईसी)ले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गर्यो।
पछि स्वतन्त्र विशेषज्ञबाट समेत प्रणालीको समीक्षा गराइयो। एएसआईसीले बजार सञ्चालक र सहभागीहरूको प्रणालीगत जोखिम व्यवस्थापन तथा बजारको प्रतिरोधात्मक क्षमता सुधार गर्नुपर्ने विषयमा स्पष्ट अपेक्षा अघि सार्यो।
यता नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा सेन्टरमा समस्या आएपछि सोमबारको सेयर कारोबार नै स्थगित गरिएको छ। नेप्सेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा आइतबार बिहानदेखि प्राविधिक समस्या आएको बताइएको छ।
समस्या के थियो र कसरी आयो भन्ने विषयमा नेप्सेको स्पष्ट जवाफ छैन। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले समस्या कसरी आएको हो भन्ने विषयमा नेप्सेलाई जानकारी नभएको बताए।
‘समस्या कसरी भयो हामीलाई थाहा भएन। टीएमएसमा समस्या आयो, कारोबार बन्द गर्नु भनेर ब्रोकरहरूले भनेपछि हामीले आजका लागि कारोबार रोकेका हौँ,’ यो हाम्रो काम होइन सफ्टवेयर कम्पनीको हो’ उनले भने।
अर्बौँ रुपैयाँ लगानी रहेको सेयर बजारको प्राविधिक पूर्वाधार र जोखिम व्यवस्थापन फितलो भएको देखिएको छ। डाटा सेन्टरमा आइतबार बिहानदेखि समस्या देखिएको भए पनि आम लगानीकर्ताले त्यसबारे स्पष्ट जानकारी सोमबार कारोबार समय सुरु भएपछि मात्रै पाए। कारोबार सुरु हुने बेलासम्म समस्या समाधान हुन्छ भन्ने अपेक्षा गरिएको भए पनि टीएमएसले काम नगरेपछि लगानीकर्तामा अन्योल बढेको थियो।
बजारमा कारोबारका लागि तयार रहेका लगानीकर्ताले किनबेच गर्न नसक्दा ब्रोकर कार्यालयमा गुनासो बढेको थियो। लगानीकर्ताले खरिद वा बिक्रीको अवसर गुमाउनु सामान्य समस्या होइन।
प्रणाली सुरक्षित नभएको अवस्थामा कारोबार स्थगित गर्ने निर्णय आफैमा अर्को जोखिम निम्त्याउनेभन्दा सुरक्षित विकल्प हुन सक्छ तर त्यससँगै समस्या कहिले देखियो, समस्या के हो, समाधानका लागि के भइरहेको छ र कारोबार कहिलेसम्म सञ्चालनमा आउन सक्छ भन्ने जानकारी लगानीकर्तालाई समयमै दिनु पनि बजार सञ्चालकको जिम्मेवारी हो।
प्रणालीमा आइतबार बिहानदेखि समस्या थियो भने लगानीकर्तालाई त्यही दिन किन जानकारी दिइएन? ब्याकअप प्रणाली किन तत्काल सञ्चालनमा आउन सकेन? समस्या आएको अवस्थामा कारोबार निरन्तरता दिन नेप्सेसँग वैकल्पिक व्यवस्था के छ?
यी प्रश्नको जवाफबिना कारोबार स्थगित गरेर मात्रै घटना टुंग्याउँदा समस्या समाधानभन्दा पनि लगानीकर्ताको विश्वासमा थप असर पर्न सक्छ। नेप्से भने यो जिम्मेवारी आफ्नो होइन भन्दै टाडिएको छ।
घटनाले ब्रोकर कम्पनीहरूलाई एपीआईमा आधारित आफ्नै निजी टीएमएस सञ्चालन गर्न प्रोत्साहन गर्ने बहसलाई समेत थप बल दिएको छ।
वैकल्पिक टीएमएस प्रयोग गर्न सक्ने व्यवस्था भए पनि नेप्सेको मूल कारोबार पूर्वाधारमा समस्या आएपछि बजारको समग्र कारोबार प्रक्रियामै असर पर्ने अवस्था रहन्छ। त्यसैले निजी टीएमएसको विस्तारसँगै नेप्सेको मूल प्रणाली, डाटा सेन्टर, ब्याकअप पूर्वाधार र विपद् व्यवस्थापन प्रणालीलाई पनि बलियो बनाउनुपर्ने देखिन्छ।
स्टक एक्सचेन्जको कारोबार प्रणाली सामान्य वेबसाइट वा अनलाइन सेवामात्र होइन। यस्तो प्रणालीमा आउने अवरोधलाई सामान्य ‘प्राविधिक गडबडी’का रूपमा मात्र हेर्नुभन्दा यसको कारण र जोखिम व्यवस्थापनको गहिरो समीक्षा आवश्यक हुन्छ।
डाटा सुरक्षामाथि प्रश्न
नेपाल ब्रोकर एशोसियसनले डाटा हब प्रालिको सर्भरमा गम्भीर प्रकृतिको र्यान्समवेयर साइबर आक्रमण भएपछि सेयर बजार र वित्तीय क्षेत्रको मुख्य पूर्वाधार प्रभावित बनेको जनाएको छ।
ब्रोकर एसोसियसनका अनुसार आक्रमणबाट ट्रेड म्यानेजमेन्ट सिस्टम 'सीडीएससी'सँग सम्बन्धित प्रणालीहरू, पेमेन्ट गेटवेहरू तथा अन्य सम्बन्धित सेवाहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
सुरक्षाको पूर्वसावधानीस्वरूप प्रभावित सबै प्रणालीहरूलाई हाल पूर्णरूपमा अलग राखिएको छ। यद्यपि उक्त डाटा सेन्टर र नेपाल स्टक एक्सचेञ्जबीच सिधा नेटवर्क कनेक्टिभिटी रहेकाले घटनाले सम्पूर्ण सेयर कारोबार प्रणालीको सुरक्षा, सञ्चालन र डाटाको विश्वसनीयतामा ठूलो जोखिम निम्त्याएको छ।
'प्रभावित प्रणालीहरूलाई अलग राखिएको र घटनाको क्षतिको मूल्यांकन भइरहेको हुनाले वर्तमान अवस्थामा बजार जारी राख्दा थप जोखिमहरू निम्त्याउन सक्छ' वाइकोले पत्रमा उल्लेख गर्दै सरोकारवालाहरूलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।
हाल प्राविधिक टोलीहरूले क्षतिको पूर्ण विवरण संकलन गरिरहेका छन् भने साइबर आक्रमणलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको छ।