बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सात दशककै सुस्त गति रहेको संसारमा नेपालको स्थिति कस्तो छ?

सोमबार, असोज ५ २०८३
सात दशककै सुस्त गति रहेको संसारमा नेपालको स्थिति कस्तो छ?

यस्तोमा नेपालको तुलनायोग्य र विश्वस्तरीय तथ्यांकीय उपलब्धताको सीमा भने रहेको छ। यद्यपि धिमा हुँदै गएको विश्वको यो गतिसँग नेपालको तथ्यांकीय चित्रले के भन्छ? कस्ता छन् सूचक?

काठमाडौं- गएको साढे सात दशकमा विश्वमा जति उन्नति भयो त्यसबाट धेरै मान्छे लाभान्वित भएका छन्। संसारका धेरै गरिब देश माथि उक्लिएका छन् भने निरन्तर प्रगति कामय गरिरहेका छन्।

पछिल्लो दशकमा भने बितेको सात दशककै न्यून वृद्धिदर कायम हुन थालेको छ। विश्व बैंकको पछिल्लो तथ्यांकीय विवरणअनुसार तीनबाहेक सबै सूचकको गति धिमा भएको छ। 

यस्तोमा नेपालको तुलनायोग्य र विश्वस्तरीय तथ्यांकीय उपलब्धताको सीमा भने रहेको छ। यद्यपि धिमा हुँदै गएको विश्वको यो गतिसँग नेपालको तथ्यांकीय चित्रले के भन्छ? कस्ता छन् सूचक? 

बितेको तीन दशकमा नेपालले विकासका आधारभूत सूचकमा फट्को मारेको छ। मानव विकास सूचकांक ०.४०४ बाट ०.६२२ पुगेको छ, साक्षरता दर करिब दोबर भएको छ, औसत आयु ५४.३ वर्षबाट ७१.३ वर्ष पुगेको छ र राष्ट्रिय गरिबीको दर ४२ प्रतिशतबाट २०.२७ प्रतिशतमा झरेको छ।

विश्वसँगको तुलनामा भने नेपालले आधारभूत पहुँचको ठूलो दूरी घटाए पनि आय, मानव पुँजी र केही आधारभूत सेवामा अझै ठूलो खाडल छ।

stacti.png

आधारभूत पहुँच

गएका ३० वर्षमा आधारभूत सेवामा भएको विस्तार उल्लेखनीय छ। विद्युत् उत्पादन क्षमता २५ मेगावाटबाट ४ हजार १०५ मेगावाट पुगेको छ।

कालोपत्रे सडकको लम्बाइ ३ हजार १०० किलोमिटरबाट २० हजार किलोमिटर नाघेको छ। सिँचाइ सुविधा पुगेको जमिन ८ लाख ५९ हजार हेक्टरबाट करिब १५ लाख ८६ हजार हेक्टर पुगेको छ।

विद्युत पहुँचमा पनि नेपाल विश्वस्तर नजिक पुगेको छ। २०२४ मा नेपालका ९७.९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ जब कि सोही समयमा विश्वको औसत पहुँच ९१.९ प्रतिशत हो। बिजुलीमा नेपालले क्रान्ति नै गरेको छ। 

दूरी घट्यो तर उत्पादकत्वको खाडल कायमै

नेपालको अर्थतन्त्रको संरचना भने बदलिएको छ। तीन दशकअघि कुल गार्हस्थ्य उत्पादनमा कृषिको हिस्सा ४८ प्रतिशत थियो। अहिले २४.५ प्रतिशतमा झरेको छ। सेवा क्षेत्रको हिस्सा ३५ प्रतिशतबाट ६१.८ प्रतिशत पुगेको छ।

अर्थतन्त्र कृषिबाट सेवा क्षेत्रमा सरेको छ तर त्योसँगै प्रतिव्यक्ति आम्दानी भने निकै कमजोर छ। 

stata.pptx.png

शिक्षामा पहुँच बढ्यो, सिकाइ कमजोर 

मानव विकासको अर्को महत्वपूर्ण सूचक शिक्षामा पनि यस्तै अन्तर देखिन्छ। नेपालमा विद्यालय जाने अपेक्षित वर्ष १३.८ पुगेको छ। तर मानव विकास प्रतिवेदनअनुसार औसत अध्ययन वर्ष करिब ४.८ वर्ष छ।

नेपालको पछिल्लो तीन दशकमा साक्षरता दर ३९.६ प्रतिशतबाट ७६.२ प्रतिशत पुगेको राष्ट्रिय तथ्यांकले देखाउँछ। यसको अर्थ विद्यालयमा पुग्ने अवसर विस्तार भएको छ। तर त्यो अवसरले वयस्क जनसंख्याको औसत शैक्षिक उपलब्धिमा अझै त्यति ठूलो परिणाम दिएको छैन।

विश्वस्तरीय  तुलनामा दूरी झन बढेको छ। नेपालमा औसत अध्ययन वर्ष विश्वको तुलनामा निकै कम छ, जब कि अपेक्षित अध्ययन वर्ष भने विश्व औसतभन्दा माथि छ।

पूर्वाधारको मैदान कस्तो छ? 

नेपालको विकासमा अर्को महत्वपूर्ण पक्ष यसको असमान गति हो। विद्युत् पहुँच ९७.९ प्रतिशत पुग्दा सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाको पहुँच २०२४ मा ५३ प्रतिशतमात्रै छ। विश्वको औसत ५८ प्रतिशत छ।

नेपालले एउटा क्षेत्रमा विश्व औसत पार गरिसक्दा अर्को आधारभूत सेवामा अझै विश्व औसतभन्दा धेरै पछाडि छ। डिजिटल पहुँचमा पनि यस्तै अवस्था छ। २०२४ मा नेपालमा ४६ प्रतिशत जनसंख्याले इन्टरनेट प्रयोग गरेको विश्व बैंकको तथ्यांक छ। विश्वको औसत ७४ प्रतिशत थियो।

sssss.png

गरिबी घट्यो तर आम्दानी बढ्न सकेन

राष्ट्रिय गरिबीको दर पनि पछिल्ला दशकमा उल्लेखनीय रूपमा घटेको छ। २०५२/५३ मा ४२ प्रतिशत रहेको गरिबी २०७९/८० मा २०.२७ प्रतिशतमा झरेको छ। गरिबी घट्नु र आयस्तर सम्मानजनक बढ्नु फरक कुरा हो।

नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय मानव विकासका अन्तर्राष्ट्रिय मापदण्डमा अझै विश्व औसतभन्दा निकै तल छ। मानव विकास प्रतिवेदनमा नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय ४ हजार ७२६ डलर र विश्वको औसत २० हजार ३२७ डलर देखिन्छ।

गरिबी घटाउन, विद्यालय र बिजुलीको पहुँच विस्तार गर्न तथा सडक र सिँचाइ विस्तार भएपनि पूर्वाधारलाई उच्च उत्पादकत्व, राम्रो रोजगारी र उच्च आम्दानीमा बदल्न नेपाललले संघर्ष गरिरहेको छ। 

ssf.png

विश्व पनि सुस्त तर नेपालको अवस्था फरक

विश्व विकासको पछिल्लो तस्बिरमा पनि प्रगतिको गति सबै क्षेत्रमा उस्तै छैन।

स्वास्थ्य, पोषण, सुरक्षित पानी, सरसफाइजस्ता केही सूचकमा विश्वव्यापी सुधारको गति सुस्त भएको देखिन्छ भने उच्च शिक्षा, मोबाइल सेवा र इन्टरनेट प्रयोगजस्ता क्षेत्रमा विस्तार तीव्र छ।

नेपालको तथ्यांकले पनि यही असमानता देखाउँछ तर नेपालको अवस्था विश्वको औसत सुस्त भएको जस्तोमात्र पनि छैन। नेपालको आफ्नै विकास यात्रामा पहिलो चरणको पहुँच विस्तारबाट दोस्रो चरणको उत्पादकत्वतर्फ संक्रमण भइरहेको छ।

तीन दशकमा मानव विकास सूचकांक ०.४०४ बाट ०.६२२ पुग्नु, साक्षरता करिब दोबर हुनु, औसत आयु १७ वर्षले बढ्नु र राष्ट्रिय गरिबी आधाभन्दा बढी घट्नु ठूलो परिवर्तन हो।


प्रकाशित : सोमबार, असोज ५ २०८३१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend