काठमाडौं- सीजी मोटर्स प्रालीले 'आयोन वाई' विद्युतीय कारमा भएको आगलागीमा अनुसन्धानमा पूर्ण सहयोग गर्ने साथै विषयको सम्पूर्ण सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेको छ।
सरकारी निकायको अनुसन्धानलाई सहयोग पुऱ्याउनु र धैर्यतापूर्वक प्रतिक्षा गर्नु आफूहरुको कर्तव्य हुने सीजी मोटर्सले जनाएको छ।
सीजी मोटर्सले विज्ञप्ती जारी गर्दै भनेको छ, 'सर्वप्रथम, भरतपुर कार आगलागीमा परि जीवन गुमाउनु भएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तीको कामना गर्दछौँ। सम्पूर्ण परिवारजनमा हामी गहिरो समवेदना व्यक्त गर्दछौँ। परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी हार्दिक कामना गर्दछौँ।'
सीजी मोटर्सले भदौ २६ गते भरतपुरको सडकमा 'आयोन वाई' विद्युतीय कारमा भएको आगलागी र यस सम्बन्धमा केही मिडिया एवं सामाजिक सञ्जाल प्रयोगकर्ताद्वारा व्यक्त गरिएका प्रतिक्रियाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।
विज्ञप्तीमा भनिएको छ, 'यस्ता दुर्घटनाहरुमा सरकारी निकायको अनुसन्धानलाई सहयोग पुऱ्याउनु र धैर्यतापूर्वक प्रतिक्षा गर्नु हाम्रो कर्तव्य हुन आउँछ। साथै, भरतपुरमा आगलागी भएको गाडीको निर्माता सीजी मोटर्सले पनि उक्त गाडिको परिक्षण, अनुसन्धान गरि अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने नै छ। यस प्रकारका दुर्घटनाहरुको अनुसन्धान गर्ने विश्वव्यापी प्रोटोकल अनुसार अनुसन्धान भई सत्यतथ्य बाहिर आउनेछ भन्नेमा हामीले विश्वस्त हुनु पर्दछ।'
घटनाको वास्तविक कारण पत्ता लगाउन हुने निष्पक्ष, प्राविधिक तथा वैज्ञानिक अनुसन्धानमा सीजी मोटर्सले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत गरेको छ।
'सम्बन्धित आधिकारिक निकायहरुबाट भइरहेको अनुसन्धानको निष्कर्ष आउनुअघि अपुष्ट सूचना, अनुमान वा एकपक्षिय दावीका आधारमा केही सामाजिक सञ्जाल प्रयोगकर्ता र कतिपय मिडियाहरुमा समेत यस दुर्घटनालाई अतिरञ्जित रुपमा प्रस्तुत गर्ने, नियतबस कसैलाई दोषी करार गर्ने र समाजमा उत्तेजना फैलाउने कोशिस भइरहेको पनि हामीले अनुभव गरेका छौँ। यस्तो कार्य पूर्णतः गैरकानूनी कृयाकलाप मानिने हुँदा यस्ता कार्यमा संलग्न नभइदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौँ' विज्ञप्तिमा भनिएको छ।