काठमाडौं- स्टारलिंकले नेपाल र तिब्बत सीमाक्षेत्रमा यस साता आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ।
कम्पनीले आवश्यक अनुमति पाएलगत्तै आफ्ना स्याटेलाइट इन्टरनेट उपकरण उपलब्ध गराउने र सेवा निःशुल्क प्रदान गर्ने जनाएको छ।
स्टारलिंकले नेपाल सरकार र मानवीय सहायता निकायसँग सहकार्य गर्न आफू तयार रहेको पनि जनाएको छ। सडक, पुल र मोबाइल नेटवर्क अवरुद्ध भएका क्षेत्रमा उद्धार टोलीबीच समन्वय गर्न, घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सञ्चारमा जोड्न तथा हराइरहेका आफन्तको खोजीमा रहेका परिवारलाई सम्पर्कमा आउन स्याटेलाइट इन्टरनेट उपयोगी हुने कम्पनीको भनाइ छ।
स्टारलिंकका अनुसार बिजुलीको स्रोत र खुला आकाश उपलब्ध भएमा उपकरण जडान गरेको केही मिनेटमै उच्च गतिको तथा कम विलम्बता भएको इन्टरनेट सेवा सञ्चालन गर्न सकिन्छ।
कम्पनीले भने सेवा सुरु गर्न नेपाल सरकारबाट आवश्यक अनुमति प्राप्त हुनुपर्ने जनाएको छ।
स्टारलिंकले नेपालमा लामो समयदेखि व्यावसायिक सेवा सञ्चालनका लागि नपि अनुमति माग्दै आएको छ। यद्यपि नेपालको दूरसञ्चार नीतिका कारणले गर्दा सम्भव हुन सकिरहेको छैन।