बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

१० अर्ब रुपैयाँबराबरको क्षति बेहोरेको एक वर्षमै मीनबहादुर गुरुङको भाटभटेनी यसरी उकासिँदैछ

मंगलबार, भदौ २३ २०८३
१० अर्ब रुपैयाँबराबरको क्षति बेहोरेको एक वर्षमै मीनबहादुर गुरुङको भाटभटेनी यसरी उकासिँदैछ

जेनजी आन्दोलन भड्किँदा गत वर्ष भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा क्षति पुगेको थियो।

काठमाडौं- गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलनमा ठूलो क्षति बेहोरेको मिनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर विस्तारै पुरानै लयमा फर्किन थालेको छ।

जेनजी आन्दोलन भड्किँदा गत वर्ष भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा क्षति पुगेको थियो। भाटभटेनीको वालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरुपमा आगजनी गरिएको थियो। १२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको थियो। जसमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँबराबरको क्षति भयो।

बीमा दाबी, बैंक ऋणको पुनर्संरचना र क्षतिग्रस्त स्टोरको पुनः सञ्चालनमार्फत भाटभटेनीले व्यवसायलाई क्रमशः सामान्य अवस्थामा फर्काउँदै लगेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले भाटभटेनीको ९ अर्ब १४ करोड ४९ लाख रुपैयाँ दीर्घकालीन कर्जा र ८ अर्ब १० करोड १८ लाख रुपैयाँ अल्पकालीन कर्जा गरी कुल १७ अर्ब २४ करोड ६६ लाख रुपैयाँ कर्जाको रेटिङ पुनः पुष्टि गरेको छ।

दीर्घकालीन कर्जाको ‘एलबीबी प्लस’ र अल्पकालीन कर्जाको ‘ए फोर प्लस’ रेटिङ कायम राख्दै यसअघि राखिएको ‘नकारात्मक प्रभावसहित निगरानी’ पनि हटाएको छ। यो निर्णयलाई जेनजी आन्दोलनपछि ठूलो धक्का बेहोरेको भाटभटेनीको वित्तीय पुनरुत्थानमा आएको सुधारको संकेतका रूपमा लिन सकिन्छ।

कुल क्षति १० अर्ब रुपैयाँमध्ये करिब ६ अर्ब रुपैयाँबराबरको मौज्दात र बाँकी सम्पत्तिमा क्षति पुगेको इक्रा नेपालले जनाएको छ। यति ठूलो क्षति भए पनि यसको ठूलो हिस्सा बीमाबाट असुल हुने अपेक्षा गरिएको छ। यही कारण क्षतिको सम्पूर्ण भार कम्पनीको आफ्नै वित्तीय स्रोतमा नपर्ने र दीर्घकालीन वित्तीय सूचकमा ठूलो गिरावट नआउने इक्रा नेपालको आँकलन छ।

भाटभटेनीको पुनरुत्थानको सबैभन्दा महत्त्वपूर्ण आधार क्षतिग्रस्त आउटलेटलाई छिटो पुनः सञ्चालनमा ल्याउनु हो।

जेनजी आन्दोलनका क्रममा गम्भीर क्षति पुगेकामध्ये ७ वटा स्टोर पुनः सञ्चालनमा आएका छन्। सञ्चालनमा फर्किएका स्टोरको मासिक आम्दानी पनि आन्दोलनअघिको अवस्थासँग मिल्दोजुल्दो गतिमा फर्किन थालेको इक्रा नेपालले जनाएको छ। बाँकी स्टोर अझै पुनर्निर्माणको क्रममा छन्।

कम्पनीले ती स्टोर पनि सन् २०२६ भित्रै क्रमशः सञ्चालनमा ल्याउने योजना बनाएको छ। भाटभटेनीले आफ्नो कुल स्टोर नेटवर्कको करिब ८१ प्रतिशत हिस्सा पुनः सञ्चालनमा ल्याइसकेको छ। सबैभन्दा ठूलो क्षति भएको टंगालको मुख्य भाटभटेनीको पनि निर्माणको अन्तिम चरणमा पुगेको छ।

आम्दानी २० प्रतिशत घट्यो, तर सञ्चालन नाफा मार्जिन बढ्यो

आन्दोलनको प्रत्यक्ष प्रभाव भाटभटेनीको आम्दानीमा परेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी ३४ अर्ब १६ करोड रुपैयाँ पुगेको थियो। अघिल्लो वर्षको तुलनामा यो करिब १२ प्रतिशतको वृद्धि थियो।

जेनजी आन्दोलनपछि धेरै आउटलेट बन्द हुँदा आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको आम्दानी घटेर २७ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ। एक वर्षमा करिब २० प्रतिशतको गिरावट आएको छ। आम्दानी घटे पनि कम्पनीको सञ्चालन नाफा मार्जिन भने सुधारिएको छ। 

आर्थिक वर्ष २०८१/८२ मा ११.५ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८२/८३ मा बढेर १२.९ प्रतिशत पुगेको छ। यसले भाटभटेनीले संकटको अवस्थामा पनि सञ्चालन दक्षता कायम राख्न सकेको देखाउँछ।

भाटभटेनीको व्यवसाय पुनः सञ्चालनमा ल्याउन थप वित्तीय स्रोत आवश्यक परेकाले ऋणको दबाब भने कायमै छ। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको कुल ऋण र मूर्त नेटवर्थ अनुपात १.५ गुणा पुगेको छ।

अघिल्लो वर्ष यो १.४ गुणा थियो। तर ऋण तिर्ने क्षमता मापन गर्ने डीएससीआर भने उल्लेख्य सुधार भएको छ। आर्थिक वर्ष २०८१/८२ मा १.२ गुणा रहेको डीएससीआर आर्थिक वर्ष २०८२/८३ मा १.८ गुणा पुगेको छ।

ब्याजदरमा कमी, सञ्चालन नाफा मार्जिनमा सुधार तथा बैंकहरूले अधिकांश कर्जाको मूलधन भुक्तानी दुई वर्षसम्म स्थगित गरिदिएपछि कम्पनीको ऋण भुक्तानी क्षमतामा सुधार आएको हो।

भाटभटेनीको मुख्य परीक्षा

रेटिङ सुधारिए पनि भाटभटेनीका लागि जोखिम पूर्णरूपमा समाप्त भएको छैन। अहिले कम्पनीको पुनरुत्थान मुख्यतः तीनवटा विषयमा निर्भर देखिन्छ। बाँकी पाँच स्टोरको पुनः सञ्चालन, बीमा दाबीको बाँकी रकम प्राप्ति र नयाँ लगानीबाट थप आम्दानी सिर्जना।

जुलाई २०२६ को मध्यसम्म बीमा दाबीको ठूलो हिस्सा प्राप्त हुन बाँकी थियो। त्यसैले बीमा रकम समयमै प्राप्त हुनु कम्पनीको तरलता सुधारका लागि महत्त्वपूर्ण हुनेछ।

त्यसैगरी विगतमा ऋणमा आधारित स्टोर विस्तार गरेको भाटभटेनीले अब थप लगानीबाट कति कारोबार र नाफा सिर्जना गर्न सक्छ भन्ने पनि महत्त्वपूर्ण हुनेछ।

काठमाडौं, पोखरा र चितवनले आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानीको करिब ७० प्रतिशत हिस्सा ओगटेका थिए। त्यसैले ठूला सहरबाहिर विस्तार गरिएका आउटलेटले पनि अपेक्षित कारोबार र नाफा दिन सक्छन् कि सक्दैनन् भन्ने विषय कम्पनीको आगामी विस्तार रणनीतिको महत्त्वपूर्ण पक्ष बन्नेछ।

भाटभटेनीका लागि क्षति व्यवस्थापन गर्नेभन्दा पनि बाँकी स्टोर खोल्ने, बीमा रकम भित्र्याउने र पुनः सञ्चालनमा आएका स्टोरलाई पुरानै कारोबारको स्तरमा फर्काउने चुनौती छ।


प्रकाशित : मंगलबार, भदौ २३ २०८३१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend