मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

२४ नयाँ पुल निर्माण गरिने

शुक्रबार, चैत २५ २०७८
२४ नयाँ पुल निर्माण गरिने
फाइल तस्बिर।

नागढुंगा चेकप्वाइन्टबाट सुरु भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौँ, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ। यो सडक विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ।

काठमाडाैं- नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ। विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुईदुई लेनका पुल निर्माण गर्न लागिएको हो। 

हाल सो सडक खण्डमा २७ पुल छन्। तीमध्ये तीन पुल नयाँ र फराकिला भएकाले त्यहाँ नयाँ पुल आवश्यक नभएको नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ। पुराना पुल भएका स्थानमा तिनलाई  मर्मत गर्नाका साथै सँगै नयाँ पुल पनि निर्माण गर्न लागिएको हो। सडकसँगै पुल निर्माण तीन वर्षमा सम्पन्न गरिने आयोजनाका प्रमुख किरण कार्कीले बताए। 'सडकसँगै पुल निर्माण र मर्मत अघि बढाइनेछ,' उनले भने। 

पुराना पुल दुई लेनको रहेकामा नयाँ निर्माण हुन लागेको पुल पनि दुई-दुई लेनकै बनाइनेछ। अधिकांश स्थानमा तीन लेन र बजार क्षेत्रमा चार लेनको सडक निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ। सडक जत्तिकै चौडा  पुल निर्माण भएपछि सवारी चाप व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ। 

नागढुंगा चेकप्वाइन्टबाट सुरु भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौँ, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ। यो सडक विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ।

सबैभन्दा बढी सवारीसाधन भित्रिने र बाहिरिने नाका भएकाले सडकको सुरक्षाका लागि आवश्यक निर्माणमा ध्यान दिइनेछ र मोड सुधार गर्ने, पुल पनि थपिनेलगायत काम गरिनेछ। 

यो खण्डको अधिकांश स्थानमा सडक झण्डै १० देखि ११ मिटरसम्म चौडा हुनेछ। ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ। यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ। रासस


प्रकाशित : शुक्रबार, चैत २५ २०७८०७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend