काठमाडौं- प्रतिनिधिसभाबाट चालु आर्थिक वर्षको बजेट विनियोजन विधेयक पारित भएको छ।
जेठ १५ मा अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक आज बसेको सांसदको बैठकबाट पारित भएको हो।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुको नाराबाजीकै बीचमा विनियोजन विधेयक पारित भएको हो।
गएको भदौ ३० गतेभित्रै पारित हुनुपर्ने विधेयक पारित नहुँदा चार दिनदेखि सरकारले सार्वजनिक खर्चको अधिकार गुमाएको थियो।
संसदबाट विधेयक पारित भएसँगै अब सरकारलाई खर्चको बाटो सहज भएको छ। प्रतिधिसभाले विधेयक स्वीकृत गरेपछि राष्ट्रिय सभामा पेश हुने छ। राष्ट्रिय १५ दिनभित्र स्वीकृति नदिएमा स्वत: प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जाने छ।
अध्यादेशबाट ल्याइएको १६ खर्ब ४७ अर्बको बजेटलाई घटाएर अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्बको बनाएका थिए।
बजेटको अंकसँगै अर्थमन्त्रीले आर्थिक ऐनमा पनि व्यापक हेरफेर गरेका थिए।