बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

१ अर्ब ४१ करोड रुपैयाँमा क्षमता विस्तार गर्दै मिस्टिक माउन्टेन, ७२ कोठा थपिँदै

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ८ २०८३
१ अर्ब ४१ करोड रुपैयाँमा क्षमता विस्तार गर्दै मिस्टिक माउन्टेन, ७२ कोठा थपिँदै

काठमाडौं- नगरकोटस्थित होटल मिस्टिक माउन्टेन प्रालिले आफ्नो क्षमता विस्तार गर्ने भएको छ। होटलले थप ७२ वटा कोठासहित अन्य पूर्वाधार निर्माण गरिरहेको छ। क्षमता विस्तारमा होटलले करिब १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ लगानी गर्ने भएको हो।

होटलले यसअघि ६६ वटा कोठा थप्ने योजना बनाएको थियो तर संशोधित योजनामा थप ६ वटा कोठा बढाएर ७२ वटा पुर्‍याइएको छ। कोठा संख्या बढेसँगै परियोजनाको लागतसमेत उल्लेख्य रूपमा बढेको छ। यसअघि १ अर्ब ११ करोड रुपैयाँ अनुमान गरिएको परियोजनाको लागत अहिले करिब १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ पुगेको हो।

परियोजनाको लागत करिब २८ प्रतिशतले बढेको इक्रा नेपालले जनाएको छ। लागत बढ्नुमा थप जग्गा खरिद तथा नयाँ निर्माणाधीन भवनलाई पुरानो सञ्चालनमा रहेको भवनसँग जोड्ने करिडोरका लागि थप संरक्षण पर्खाल निर्माण गर्नुपरेको बताइएको छ।

क्षमता विस्तारमा लाग्ने रकमको करिब ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट व्यवस्थापन गर्ने योजना होटलको छ। तर लागत बढेपछि थप आवश्यक पर्ने ऋणको वित्तीय व्यवस्थापन भने अझै पूर्णरूपमा टुंगो लागिसकेको छैन।

परियोजनाको लागत थप बढेमा त्यसलाई व्यवस्थापन गर्न होटलको आफ्नै स्रोत तथा स्वपुँजी परिचालन गर्ने क्षमता महत्त्वपूर्ण हुने इक्रा नेपालले जनाएको छ।

जुन २०२६ सम्ममा परियोजनाको संशोधित लागतको करिब ३८ प्रतिशत बराबरको वित्तीय प्रगति भएको छ। निर्माणाधीन भवनको सिभिल संरचनातर्फ उल्लेख्य प्रगति भए पनि मेकानिकल, विद्युतीय तथा प्लम्बिङसम्बन्धी काम प्रारम्भिक चरणमा छन्। आन्तरिक सजावटको काम गर्ने ठेकेदारसमेत अन्तिम रूपमा टुंगो लाग्न बाँकी रहेको छ।

क्षमता विस्तारसँगै होटलको ऋणको भारसमेत बढ्ने भएको छ। परियोजनामा ऋणको हिस्सा ७५ प्रतिशत रहेकाले थप कोठा सञ्चालनमा आएपछि त्यसबाट हुने आम्दानीले बढेको ऋण तथा ब्याजको दायित्व धान्न सक्ने बनाउनुपर्ने चुनौती होटलमाथि छ। होटलको ऋणको स्थगन अवधि आगामी अक्टोबरको मध्यतिर सकिने भएकाले त्यसपछि ऋणको किस्ता भुक्तानी सुरु हुने इक्रा नेपालले जनाएको छ।

क्षमता विस्तार गरिरहेको समयमा होटलको व्यवसायिक आम्दानी भने स्थिर देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा होटलको सञ्चालन आम्दानी ३३ करोड रुपैयाँ रहेको थियो। आर्थिक वर्ष २०८०/८१ मा पनि आम्दानी ३३ करोड रुपैयाँकै हाराहारीमा रह्यो भने आर्थिक वर्ष २०८१/८२ मा घटेर ३२ करोड ८० लाख रुपैयाँमा सीमित भयो।

होटलको सञ्चालन नाफा मार्जिनमा समेत दबाब देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा करिब ४८ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८०/८१ मा ३८.७ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा ३७.६ प्रतिशतमा झरेको छ। बढ्दो प्रतिस्पर्धा तथा सञ्चालन लागतका कारण नाफा मार्जिनमा दबाब परेको इक्राको विश्लेषण छ।

अर्कोतर्फ होटलको कोठा उपयोग दरसमेत घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा करिब ६९ प्रतिशत रहेको कोठा उपयोग दर आर्थिक वर्ष २०८२/८३ मा घटेर करिब ६१ प्रतिशतमा आएको छ। पर्यटक आगमनमा आएको असर तथा नगरकोट क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण कोठा उपयोग दर घटेको इक्राले जनाएको छ।

कोठा उपयोग दर घटेसँगै प्रतिउपलब्ध कोठाबाट प्राप्त हुने आम्दानीसमेत करिब ८ प्रतिशतले घटेको छ। यस्तो अवस्थामा थप ७२ कोठा सञ्चालनमा ल्याएर पर्याप्त आम्दानी सिर्जना गर्नु होटलका लागि महत्त्वपूर्ण चुनौती बनेको छ।

मिस्टिक माउन्टेन नगरकोटमा सञ्चालित चारतारे होटल हो। होटलले सन् २०१७ जुलाईदेखि ३३ कोठाबाट सेवा सुरु गरेको थियो। क्रमशः क्षमता विस्तार गर्दै हाल ७२ कोठामा पुगेको होटलले अब थप ७२ कोठा निर्माण गर्न लागेको हो। होटल करिब पाँच एकड क्षेत्रफलमा फैलिएको छ।

होटलका लगानीकर्ता बालकृष्ण धोजूसँग आतिथ्य क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ। काठमाडौंनजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा होटल रहेकाले स्थानगत लाभ र प्रवर्द्धकको अनुभवलाई होटलको सकारात्मक पक्षका रूपमा मूल्यांकन गरिएको छ।

मता विस्तारसँगै ऋणको भार बढ्नु, परियोजनाको लागत बढ्नु, निर्माण कार्य पूर्णरूपमा अघि बढिनसक्नु र हालको कोठा उपयोग दर घट्नुले होटलको वित्तीय जोखिम बढाएको छ। यही कारण इक्रा नेपालले होटलको दीर्घकालीन कर्जाको रेटिङ एलबीबी प्लसबाट घटाएर एलबीबी तथा अल्पकालीन कर्जाको रेटिङ ए ४ प्लसबाट घटाएर ए ४ कायम गरेको छ।


प्रकाशित : सोमबार, भदौ ८ २०८३१०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend