मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

कर्णाली करिडोरमा नौवटा पुल बनाइँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २२ २०७८
कर्णाली करिडोरमा नौवटा पुल बनाइँदै

मान्म- कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण गरिने भएको छ। कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन्।

कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा  बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो।

त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ। पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए। 'ठेक्का प्रक्रिया अगाडि बढेको छ,' उनले भने, 'यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ।'

सडक खण्ड फराकिलो पारिँदै

कर्णाली करिडोरअन्तर्गत कालीकोट सडक खण्ड फराकिलो बनाउन थालिएको छ। कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो पार्ने काम सुरु भएको हो।

सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम सुरु गरिसकेको उक्त कार्यालयले जनाएको छ। कर्णाली करिडोर साघुँरो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले सडक फराकिलो पार्न लागिएको उक्त कार्यालयका इन्जिनियर यादवले बताए।

'सडक फराकिलो पार्ने पहिलो चरणको काम सुरु भएको छ,' उनले भने, 'अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुनेछ।'

करिडोरअन्तर्गतको ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ। रासस


प्रकाशित : मंगलबार, चैत २२ २०७८०६:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend