मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

विवादले रोकिएको सडक चार वर्षपछि कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २१ २०७८
विवादले रोकिएको सडक चार वर्षपछि कालोपत्र

भक्तपुर- स्थानीय बासिन्दाबीचकै विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडक चार वर्षपछि कालोपत्र भएको छ। 

सात सय मिटर उक्त सडक कालोपत्र गर्नका लागि नगरपालिकाले ६० लाख रूपैयाँ बजेट विनियोजन गरी ठेक्का गरेर ढलको व्यवस्थासहित कालोपत्र गर्न बेस बिछ्याएपछि स्थानीय दुई पक्षले निकालेको विवादका कारण वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदै आएको सडक कालोपत्र भएको हो।

उक्त सडकमा विसं २०७४ देखिको विवाद मिलाउँदै सडकको मापदण्डभित्र परेका संरचनामध्ये घर नभत्काउने र पेटी नछाड्ने सहमति गरी सडक सीमाङ्कन सकेर कालोपत्र गर्न सुरु भएपछि आएको नयाँ विवादका कारण कालोपत्र रोकिए पनि अहिले सहमति गरेर सडक कालोपत्र गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठ जानकारी दिए।

स्थानीयवासीमध्येका एक पक्षले हाइटेन्शन लाइनलाई अन्डरग्राउन्ड गरेर मात्रै सडक कालोपत्र गर्नुपर्छ भन्ने र अर्को पक्ष विद्युत् लाइनलाई अन्डरग्राउन्ड नगरी कालोपत्र गर्नुपर्छ भन्दै विभाजित भएर विरोध गरेपछि अन्डरग्राउन्ड र कालोपत्र गर्ने दुवै काम रोकिएको थियो।

सडकमा दोहोरो बेस हाल्न ल्याएको ग्राभेलसमेत बिछ्याउन नदिएपछि विरोध गर्दा सडकको बीचबीचमा ग्राभेलको थुप्रो र कतै खाल्डा त कतै ढलको मङ्गल राख्ने ठाउँ खुला रहँदा निकै जोखिम बढेको थियो। खाल्डा पुरेर बेस बिछ्याइएको करिब १० महिनापछि सडक कालोपत्र भएको हो।

नेपाल विद्युत् प्राधिकरणले दुई करोड रूपैयाँको बजेट खर्च गर्दै सडकभन्दा पाँच फिट तलबाट अन्डरग्राउन्ड गर्दै हाइटेन्शन लाइन लैजाने गरी स्थानीयवासीसँग सहमति गरेको थियो। विद्युत् अन्डरग्राउन्ड गर्न स्थानीय उपभोक्तासँग करिब एक करोड सङ्कलनसमेत गरिएको थियो। विवादबीच अन्डरग्राउन्ड गर्ने काम र कालोपत्र गर्ने दुवै रोकिए पनि अन्ततः लामो प्रयासपछि स्थानीयवासीको सहमतिमै सडक कालोपत्र भएको उनले बताए। रासस 


प्रकाशित : सोमबार, चैत २१ २०७८०७:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend