सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

पर्यटनमा निजी क्षेत्रको बढ्दो विश्वास, एक वर्षमै १७ ठूला होटलमा २७ अर्ब रुपैयाँ लगानी प्रस्ताव

आइतबार, साउन १० २०८३
पर्यटनमा निजी क्षेत्रको बढ्दो विश्वास, एक वर्षमै १७ ठूला होटलमा २७ अर्ब रुपैयाँ लगानी प्रस्ताव

पोखरा, चितवन, जनकपुर, काभ्रेपलाञ्चोक, रुपन्देही, नवलपरासी, बारा, बाँके, कैलालीलगायत पर्यटन र आर्थिक गतिविधि विस्तार भइरहेका क्षेत्रसम्म फैलिएका छन्। यसले होटल उद्योगको विस्तार राजधानीकेन्द्रित अवस्थाबाट प्रदेशस्तरीय गन्तव्यतर्फ सर्दै गएको संकेत पनि गरेको छ।

काठमाडौं- पछिल्लो समय पर्यटकीय गतिविधि विस्तार हुँदा नेपालमा होटल तथा रिसोर्ट क्षेत्रको लगानी विस्तारमा निजी क्षेत्र आक्रामक भएको छ।

विभिन्न जिल्लामा सञ्चालन हुनेगरी १७ वटा होटल तथा रिसोर्ट परियोजनामा २६ अर्ब ९३ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। यी परियोजनाबाट २ हजार ६ सय ५ जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

पर्यटन पूर्वाधारमा आएको यो लगानीलाई नेपालको पर्यटन बजारप्रति निजी क्षेत्रको दीर्घकालीन विश्वासका रूपमा हेरिएको छ। पछिल्ला वर्षमा विदेशी पर्यटक आगमनमा सुधार भएको र भविष्यमा बढ्ने सम्भावना देखेपछि निजी क्षेत्रले लगानी बढाएको छ।  

पछिल्लो समय आएको परियोजनामा क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड सबैभन्दा ठूलो हो। भक्तपुरको मध्यपुरथिमि-४ मा निर्माण हुने उक्त परियोजनामा ६ अर्ब ६० करोड रुपैयाँ लगानी हुनेछ भने ५ सय जनाले रोजगारी पाउने छन्। होटलसँगै रेस्टुरेन्ट, बार, स्पा, सांस्कृतिक कार्यक्रम तथा अन्य आतिथ्य सेवासमेत सञ्चालन गर्ने योजना कम्पनीको छ।

यस्तै काठमाडौं महानगरपालिका-३ मा कर्म हस्पिटालिटी प्रालिले ३ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ लगानीमा होटल सञ्चालन गर्ने तयारी गरेको छ। वार्षिक करिब ७८ हजारभन्दा बढी पाहुनालाई सेवा दिने लक्ष्यसहित परियोजनाबाट २१० जनालाई रोजगारी उपलब्ध गराइनेछ।

पोखरा महानगरपालिका-६ मा आईएमई होटल एन्ड रिसोर्ट प्रालिले २ अर्ब ९६ करोड २ लाख रुपैयाँ लगानीमा १८० बेड क्षमताको होटल र २०० सिटको रेस्टुरेन्ट सञ्चालन गर्ने योजना अघि सारेको छ। गोदावरी नगरपालिका-३ मा गोदावरी फरेस्ट होटलले २ अर्ब ८२ करोड रुपैयाँ लगानीमा ९६ बेड क्षमताको होटल निर्माण गर्नेछ।

बाराको जितपुर-सिमरामा भरलेली हस्पिटालिटीले २ अर्ब १६ करोड ६१ लाख रुपैयाँ लगानीमा २८० बेडको होटल, २५० सिटको रेस्टुरेन्ट र १,१०० क्षमता भएको ब्याङ्क्वेट हल सञ्चालन गर्ने योजना बनाएको छ। काठमाडौंमा कुमारी एसपीभी होल्डिङ्स प्रालि ले २ अर्ब ११ करोड ६६ लाख रुपैयाँभन्दा बढी लगानीमा होटल स्थापना गर्दै वार्षिक ३५ हजारभन्दा बढी पाहुनालाई बेड सेवा दिने लक्ष्य लिएको छ।

एक अर्ब रुपैयाँभन्दा माथिका लगानीमा काभ्रेपलाञ्चोकको स्वर्णिम माउन्टेन रिसोर्ट, धनुषाको जानकी गार्डेन होटल एन्ड रिसोर्ट, बाँकेको पौवा वेस्टर्न, काठमाडौंको सेक्युर होस्पिटालिटी, कैलालीको क्लब चौलानी लिमिटेडलगायतका परियोजना पनि अघि बढेका छन्।

त्यसैगरी रुपन्देहीको टाइगर फरेस्ट होटल, नवलपरासी (पूर्व) को सीजी गल्फ रिट्रिट, काठमाडौंका मुनलाइट हस्पिटालिटी र सिड फोर्थ हस्पिटालिटी, टोखाको पार्कलेन्ड एग्रो टुरिजम, बुढानीलकण्ठको बुढानीलकण्ठ फरेस्ट हिल्स तथा चितवनको होटल पार्क ल्यान्ड समेत नयाँ लगानीकर्ताको सूचीमा छन्।

यी परियोजनाहरू काठमाडौं उपत्यकामा मात्र सीमित छैनन्। पोखरा, चितवन, जनकपुर, काभ्रेपलाञ्चोक, रुपन्देही, नवलपरासी, बारा, बाँके, कैलालीलगायत पर्यटन र आर्थिक गतिविधि विस्तार भइरहेका क्षेत्रसम्म फैलिएका छन्। यसले होटल उद्योगको विस्तार राजधानीकेन्द्रित अवस्थाबाट प्रदेशस्तरीय गन्तव्यतर्फ सर्दै गएको संकेत पनि गरेको छ।

पर्यटन क्षेत्र कोभिड-१९ पछिको सुस्तताबाट क्रमशः उकासिँदै जाँदा निजी क्षेत्रले पुनः ठूलो आकारका होटल, रिसोर्ट र आतिथ्य परियोजनामा लगानी बढाउन थालेका छन्।

होटल, रेस्टुरेन्ट, ब्याङ्क्वेट, स्पा, सांस्कृतिक कार्यक्रम तथा सम्मेलन सुविधा समेटिएका यी परियोजनाले उच्चस्तरीय पर्यटन पूर्वाधार विस्तार गर्नुका साथै स्थानीय रोजगारी, सेवा उद्योग र क्षेत्रीय आर्थिक गतिविधिमा समेत योगदान पुर्‍याउने विश्वास धेरैको छ। 


प्रकाशित : आइतबार, साउन १० २०८३१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend