काठमाडौं- धितोपत्रको प्राथमिक बजारमा आस्वा तथा सी-आस्वा प्रणाली एवं दोस्रो बजारमा नट्स प्रणालीको कार्यान्वयनसँगै सर्वसाधारण लगानीकर्ताको सहभागितामा वृद्धि भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को तथ्यांकअनुसार २०७७ असार मसान्तमा करिब १७ लाखको हाराहारीमा रहेको डिम्याट (हितग्राही) खाताको संख्या आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म आइपुग्दा ६९ लाख ९७ हजार ९ सय पुगेको थियो। २०८२/८३ जेठ मसान्तसम्म उक्त संख्या वृद्धि भइ ७७ लाख ६६ हजार ५ सय ६५ पुगेको छ।जसले कुल जनसंख्याको २६ प्रतिशत भन्दा बढी हिस्सा ओगट्छ।
यसैगरी २०७७ असारसम्म करिब ७ लाखको संख्यामा सीमित मेरो सेयर खाता खोल्ने लगानीकर्ताको संख्या २०८२/८३ जेठ मसान्तसम्म आइपुग्दा ६७ लाख ३७ हजार २ सय ५४ पुगेको छ। जुन नेपालको कुल जनसंख्याको करिब २३ प्रतिशत हुन आउँछ।
धितोपत्र बजारमा लगानीकर्ताको प्रदेशगत सहभागितालाई हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ३४.१३ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.९८ प्रतिशत खाता खोलिएको देखिन्छ। त्यसैगरी कोशी प्रदेशमा १८.९३ प्रतिशत, गण्डकी प्रदेशमा १२.४६ प्रतिशत, लुम्बिनी प्रदेशमा १२.१४ प्रतिशत, मधेश प्रदेशमा १२.६८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६.६७ प्रतिशत डिम्याट खाता रहेका छन्।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड को तथ्यांक अनुसार नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताको बाहुल्यता रहेको छ। जसमा पुरुष ५७.२६ प्रतिशत, महिला ४२.६२ प्रतिशत र अन्य ०.१२ प्रतिशत रहेका छन्।
उमेरका आधारमा डिम्याट खाताको अवस्था हेर्दा नवजात देखि १८ वर्ष उमेर समूहका लगानीकर्ताको संख्या १२.०९ प्रतिशत, १९ देखि ३० वर्ष समूहका लगानीकर्ताको संख्या २९.६७ प्रतिशत, ३१ देखि ४० वर्ष समूहको २३.४६ प्रतिशत, ४१ देखि ६० वर्ष समूहको २६.१४ प्रतिशत, ६१ देखि ७० वर्ष समूहको ५.४९ प्रतिशत र ७१ वर्ष भन्दा बढी उमेर समूहका लगानीकर्ताको हिस्सा ३.१५ प्रतिशत पाइएको छ।
दोस्रो बजारमा अनलाइन मार्फत सक्रिय रूपमा सेयर खरिद-बिक्री गर्नका लागि प्रयोग गरिने टीएमएस खाता लिने लगानीकर्ताको संख्यामा पनि पछिल्ला वर्षहरूमा बढेको छ। २०७७ असारसम्म धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि खाता खोल्ने लगानीकर्ताको संख्या करिब ३५ हजारको हाराहारीमा मात्रै रहेकोमा उक्त संख्या २०७८ असारसम्म ७ लाख ९५ हजार ९ सय ३४, आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ५८ हजार ४ सय ६०, र आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म १७ लाख ६३ हजार ३ सय ९१ पुगेको थियो।
यो संख्या बढ्दै आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म २२ लाख १६ हजार २ सय ४३, आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म २६ लाख ३३ हजार ५ सय १० र आर्थिक वर्षको २०८२/८३ जेठ मसान्तसम्म आइपुग्दा ३४ लाख ६६ हजार ४ सय ९९ पुगेको छ।
सेयर बजारको विस्तारले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर मार्फत प्रत्यक्ष सरकारी राजस्वमा समेत योगदान पुऱ्याएको देखिन्छ। विगत पाँच वर्षको राजस्व विवरण हेर्दा आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब ५४ करोड रुपैँया राजस्व संकलन गरेको थियो।
आर्थिक वर्ष २०७८/७९ मा ११ अर्ब ४१ करोड, आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३८ करोड रुपैयाँ आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १२ करोड रुपैयाँ आर्थिक वर्ष २०८१/८२ मा १८ अर्ब १७ करोड आर्थिक वर्षको २०८२/८३ जेठ मसान्तसम्ममा १० अर्ब ७० करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएको छ।