काठमाडौं- अमेरिका र इरानबीच स्टेट अफ हर्मुज पुनः सञ्चालन गर्ने सहमति भएको दाबी सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार करिब ५ प्रतिशतले मूल्य गिरावट आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत अमेरिका र इरानबीच सम्झौता सम्पन्न भएको दाबी गर्दै स्टेट अफ हर्मुज बिना कुनै शुल्क प्रणाली सञ्चालन हुने बताएका छन्। उनले अमेरिकाले इरानमाथिको नौसैनिक अवरोध हटाउने र शुक्रबार स्विट्जरल्याण्डमा शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर हुने समेत उल्लेख गरेका छन्।
'विश्वका जहाजहरू, आफ्ना इन्जिन सुरु गर। तेललाई बग्न देऊ,' ट्रम्पले लेखेका छन्। पछि उनले मार्ग शुक्रबारदेखि नै पुनः सञ्चालनमा आउने दाबीसमेत गरेका छन्।
सो दाबीपछि अमेरिकी कच्चा तेल करिब ४.९ प्रतिशतले घटेर प्रति ब्यारेल ८०.७५ डलरमा बन्द भएको छ भने अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड ४.८ प्रतिशतले घटेर ८३.१७ डलरमा झरेको छ।
स्टेट अफ हर्जुम विश्वको अत्यन्तै महत्वपूर्ण तेल ढुवानी मार्ग हो, जहाँबाट करिब २० प्रतिशत विश्व तेल आपूर्ति हुने गर्दछ। इरानी आक्रमणका कारण मार्चदेखि नै ट्यांकर आवागमन घटेपछि वैश्विक ऊर्जा आपूर्ति प्रभावित भएको थियो, जसलाई हालसम्मको सबैभन्दा ठूलो आपूर्ति झट्का मानिएको छ।
तर बजारमा देखिएको उत्साहका बाबजुद समुद्री सुरक्षा जोखिम कायम रहेको विश्लेषण पनि सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय जहाज व्यवसायी संगठन बिम्कोले अमेरिका र इरानबीचको सहमतिबारे स्पष्ट विवरण नआएको र सुरक्षित मार्ग तथा समयसीमा प्रष्ट नभएकाले अवस्था अझै जोखिमपूर्ण रहेको चेतावनी दिएको छ।
बिम्कोका सुरक्षा प्रमुख जाकोब लार्सनका अनुसार हालसम्म बारुदी सुरुङ (माइन) को खतरा पनि प्रमुख चिन्ताको विषय बनेको छ, जसले हर्मुज मार्गलाई अझै असुरक्षित बनाइरहेको छ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले इरानले हर्मुज क्षेत्रका केही भागमा माइन बिछ्याएको जानकारी संसदमा दिएको बताइएको छ।
सम्झौताका विषयमा पनि अमेरिका र इरानबीच फरक–फरक बुझाइ देखिएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार हर्मुज जलडमरूमध्य ६० दिनसम्म मात्र शुल्करहित रहने उल्लेख छ भने अमेरिकी पक्षले दीर्घकालीन रूपमा खुला रहने अपेक्षा गरेको छ।
