मकवानपुर- बाग्लुङको काठेखोला गाउँपालिका-२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६ सामाखुसी बस्ने चुडामणि गौतम दम्पती स्थानीय बकैया गाउँपालिका-७ हात्तीखोलामा जग्गा भाडामा लिएर केही समयदेखि ड्राइगन र खरबुजाखेती गर्दै आएका छन्।
कृषि उद्यमी गौतमले हाल उक्त जग्गाबाट उत्पादित करिब २९ टन खरबुजा चितवनको नारायगढ र हेटौँडाका बजारमा बिक्री गरे। उनले त्यसबाट ११ लाख ३८ हजार रुपैयाँ आम्दानी गरिएको बताए। सो खरबुजा हेटौँडा र भरतपुरमा प्रतिकेजी ३० सम्म बिक्री गरेको गौतमले बताउँछन्।
गौतम दम्पतीले उक्त जग्गाको प्रतिकट्ठा वार्षिक चार हजार भाडामा लिनुभएको थियो। भाडामा लिएको उक्त जग्गामा १० महिनाअघि पौष्टिक फल ड्राइगनको १२ हजार बिरुवा लगाइएको थियो।
उक्त ड्राइगन बिरुवाको वरिपरिको खाली जग्गामा मौसमी खरबुजाको चार हजार बिरुवा केही महिनाअघि रोपिएको उद्यमी गौतमले जानकारी दिए। उद्यमी गौतमले अझै केही दिन खरबुजा उत्पादन हुने भएकाले टोल छिमेकीले बारीमै पुगेर खरिद गर्ने जानकारी दिए। कृषि उद्यमी गौतमले केही महिनाअघि खरबुजाखेती र बिरुवा उत्पादन मलखाद सिँचाइ गर्न तीन लाख ४० हजार रकम लगानी गरेका थिए।
त्यस्तै पौष्टिक फल ड्राइगनखेती गर्न विभिन्न वित्तीय संस्था र लगानीकर्तासमेतबाट ऋण लिएर लगानी गरेको कृषक गौतम बताए। स्थानीय हात्तीखोलामा लगाइएको ड्राइगन अबको दुई महिनामा उत्पादन सुरु हुने र लगातार २० देखि २२ वर्षसम्म फल प्राप्त भइरहने बताए।
उक्त कृषि बागवानी फार्ममा अहिले दुई महिलासहित ११ जानाले रोजगारी प्राप्त गरिरहेको संस्थापक राधिकाकुमारी गौतमले जानकारी दिए।रासस
