मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मुस्ताङमा भारत सरकारको सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २ २०८३
मुस्ताङमा भारत सरकारको सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

मुस्ताङ- मुस्ताङको लोमन्थाङ गाउँपालिका-१ मा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ गुम्बा विद्यालयको छात्रबास भवनको औपचारिक उद्घाटन गरिएको छ।

मुस्ताङ- मुस्ताङको लोमन्थाङ गाउँपालिका-१ मा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ गुम्बा विद्यालयको छात्रबास भवनको औपचारिक उद्घाटन गरिएको छ। 

उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको उक्त दुई तले छात्रावास भवनको असार १ गते नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रुपमा उद्घाटन गरे।

४ वटा ब्लक र विभिन्न सम्बद्ध संरचनाहरू सहितको यो नयाँ भवनको निर्माण कार्य लोमन्थाङ गाउँपालिका मार्फत कार्यान्वयन गरिएको हो।

स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले बौद्ध शिक्षाका अतिरिक्त नेपाल सरकारको शैक्षिक प्रणाली अनुरुपको गुणस्तरीय पाठ्यक्रम समेत प्रदान गर्दै आएको छ। 

नयाँ पूर्वाधारको निर्माणले विद्यालयको आवास सुविधा र समग्र सिकाइ वातावरणमा उल्लेखनीय सुधार ल्याउने विश्वास विद्यालय व्यवस्थापन, गाउँपालिका र स्थानीय सरोकारवालाहरूले व्यक्त गरेका छन्। उनीहरूले भारत सरकारको तर्फबाट प्राप्त यस विकास सहयोगको उच्च प्रशंसा समेत गरे।

उद्घाटन समारोहमा बोल्दै भारतीय राजदूत नवीन श्रीवास्तवले परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना दिए। उनले साझा विकास र समृद्धि हासिल गर्नका लागि नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई पुनः दोहोर्‍याए। भारत र नेपालबीच नजिकको छिमेकीका नाताले व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले नेपालका ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी करिब ६ सय वटा परियोजनाहरू अघि बढाइसकेको छ। यसमध्ये मुस्ताङ जिल्लाका १८ वटा परियोजनासहित गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा मात्र ६३ वटा परियोजनाहरू रहेका छन्।

यसका साथै भारत सरकारले विगतका वर्षहरूमा मुस्ताङ जिल्लामा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस सहित गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई १ सय २६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। 


प्रकाशित : मंगलबार, असार २ २०८३१३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend