मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सातामा दुई दिनको बिदाको प्रभावले पर्यटकीय गन्तव्य थप चलायमान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २ २०८३
सातामा दुई दिनको बिदाको प्रभावले पर्यटकीय गन्तव्य थप चलायमान

विशेष गरी जल पर्यटन, वन्यजन्तु अवलोकन आदिका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा चितवनले आफ्नो पहिचान बनाइसकेको छ।

बागमती- शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन्।

गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन। चितवनको सौराहामा दुई दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटेल तथा रेष्टुराँ आन्तरिक पर्यटकले भरिभराउ भएका जनाएको छ। साथै जंगल सफारीका लागि जिप लाग्ने ठाउँ होस् वा हात्ती चढ्ने ठाउँ सबैतिर पर्यटकहरू खचाखच भरिएका छन्।

प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यको उपमा दिइने नेपालको चितवन पनि तिनै पर्यटकीय महत्व बोकेको गन्तव्यमध्येमा एक हो। विशेष गरी जल पर्यटन, वन्यजन्तु अवलोकन आदिका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा चितवनले आफ्नो पहिचान बनाइसकेको छ।

बरिष्ठ पर्यटन व्यवसायी एवं युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले पछिल्ला समयमा चिवनमा आन्तरिक पर्यटककको आगमन पनि बढ्दो अवस्थामा रहेको जानकारी दिए। सरकारले शनिबार र आइतबार दिएको दुुई दिने बिदाको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको उनले बताए।

'विशेषगरी यो याम चितवनमा गर्मी हुने भएकाले पर्यटकको यामका रुपमा लिइँदैन', उनले भने, 'दुई दिने बिदाको समय घुमफिर गरी उपयोग गर्नका लागि गर्मीको कुनै प्रवाह नगरी पर्यटक आउने गरेका छन्।'

पछिल्ला समयमा बिदालाई अधिकांशले घुमफिरमा उपयोग गर्न थालेको उल्लेख गर्दै उनले यसअघि लगातार चार दिनसम्म बिदा पर्दा एउटै समूहका व्यक्तिहरू चितवनको सौराहादेखि लुम्बिनी हुँदै पोखरासम्म्म भ्रमण गरेको आफूले प्रत्यक्ष देखे भोगेको जानकारी गराए।

पर्यटकको सुविधालाई लक्षित गरी सहकारीले हाल ३० वटा हात्ती सफारीका लागि प्रयोग गरिरहेको उनले जानकारी दिए। पर्यटकले यहाँ आएर बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म, दिउँसो १ बजेदेखि ३ बजेसम्मका साथै बेलुका ४ः३० बजेदेखि ६ बजेसम्म हात्ती सफारी गर्न पाउँछन्।

करिब १ः३० घण्टा समयावधि हात्ती सयर गरेबापत आन्तरिक पर्यटकले एक हजार ६५० बुझाउने पर्यटन व्यवसायी अमित गुरुङले जानकारी दिए। स्वदेशी पर्यटकका साथै विदेशी पर्यटक चितवन आएर हात्ती सफारीमा रमाउने गरेको उनले बताए।

अर्का पर्यटन व्यवसायी आशिष रेग्मीका अनुुसार हात्ती सयर चितवनको महत्वपूर्ण पर्यटकीय आकर्षण बने पनि कोभिड-१९ यता हात्तीको किनबेच भएको छैन। यसअघि रहेका हात्तीबाट नै हात्ती सयर गराउँदै आइएको छ।

एउटा हात्तीलाई पाल्नका लागि दुई जना कर्मचारीसहित महिनामा एक लाखभन्दा बढी खर्च हुने उनले जानकारी दिए। उनका अनुसार सामान्यतः एउटा हात्तीलाई दिनमा करिब २५ किलो धान, दुई किलो चना, ढिके नुन, सक्खर आदि आवश्यक पर्दछ।

पछिल्ला वर्षमा चितवनको सौराहा वन्यजन्तु अवलोकनका साथै जलविहारसमेतका कारण प्रसिद्ध रहेको उनले बताए। पर्यटकलाई लक्षित गरी बनाइएका होटल, लज, रिसोर्ट र रेष्टुराँका कारण यहाँ आउने जो कोही पर्यटकलाई खान बस्नको असुविधा नरहेको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका साथै चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षण युक्त स्थान बनेको छ। हात्ती तथा जीपमा सयर गरी जंगल सफारी, वन्यजन्तु अवलोकन, चरा अवलोकन, राप्ती नदीमा डुंगा सयर गर्दै चराचुरुङ्गी, गोही आदिको अवलोकन, सूर्यास्त अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ।

त्यस्तै स्थानीय थारु संस्कार र संस्कृतिको अवलोकन पनि यहाँका प्रमुख आकर्षणका रुपमा रहेका छन्। बालकदेखि वृद्धसम्म सबैजसो उमेर समूहका व्यक्तिहरूले यहाँ आएर हात्ती सफारी गरी बँदेल, बाघ, गैँडा, गोही, बाँदर आदि वन्यजन्तुका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्ने गर्दछन्। सफारीका क्रममा देखिने हरियालीका साथै घाँसे मैदानहरूले पनि यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

यहाँको राप्ती नदीमा डुंगामार्फत जलविहारका क्रममा नदी किनारामा घाम तापेर बसेका देखिने गोही, ठाउँठाउँमा देखिने गैँडालगायतका वन्यजन्तु, चराचुरुङ्गी आदिले जो कोहीलाई लोभ्याउने गरेको छ।

पर्यटकको बढ्दो आगमनसँगै यस क्षेत्रका होटेल तथा रेष्टुराँहरू राम्रैसँग चलिरहेको टिफिन होम एण्ड रेष्टुराँका सञ्चालक स्वस्तीका भट्टले जानकारी दिए। पछिल्ला वर्षमा सबैजसो याममा यस क्षेत्रमा पर्यटकको आगमन बढिरहेको उनले भने, 'पछिल्ला समयमा यो वा त्यो जुनसुकै महिनामा पर्यटक चितवन आउने गरेका छन्।' हप्ताको दुई दिन बिदाले आन्तरिक पर्यटनमा सकारात्मक परिवर्तन देखिएको व्यवसायीको अनुभव छ। रासस


प्रकाशित : मंगलबार, असार २ २०८३११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend