काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालय ले मंगलबार सूचना जारी गर्दै यसअघि ३० दिनको समय दिइए पनि स्पष्टीकरण नबुझाएकाले पुनः अन्तिम रूपमा सात दिनको समय थप गरिएको जनाएको हो।
कार्यालयका अनुसार स्पष्टीकरण नबुझाउने वा सन्तोषजनक जवाफ नदिने कम्पनीहरूलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ। ती कम्पनीहरू विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भइसकेका निर्माण व्यवसायी हुन्।
स्पष्टीकरण माग गरिएका कम्पनीहरूमा शिशिर निर्माण सेवा (प्युठान), त्रिवेणी कन्स्ट्रक्सन कम्पनी, जागृत निर्माण सेवा, ओम महासरस्वती कन्स्ट्रक्सन (ललितपुर), बेबो इन्जिनियरिङ कम्पनी (काठमाडौँ), उग्रवज्र निर्माण सेवा (काठमाडौँ), अर्भान कन्स्ट्रक्सन (चितवन), शंकरमाली निर्माण सेवा (काठमाडौँ), मान शाही निर्माण सेवा (कालिकोट) र ध्रुव निर्माण सेवा (सुर्खेत) रहेका छन्।
त्यसैगरी विनम्र निर्माण सेवा (सुर्खेत), चीनको चाङसी हुवान इलेक्ट्रिक पावर इक्विपमेन्ट, बताला निर्माण सेवा (कालिकोट), माँ बौधी कन्स्ट्रक्सन (रौतहट), थापा कन्स्ट्रक्सन (जाजरकोट), गगन नेपाल निर्माण सेवा (मुगु), बुढीगण्डकी कन्स्ट्रक्सन (गोरखा), हिमानी काब्य कन्स्ट्रक्सन सेवा (सिन्धुली), एस.एन.एस–एम.सी.सी. जेभी (जनकपुर) र नागवंशी कन्स्ट्रक्सन (कैलाली) रहेका छन्।
अनुगमन कार्यालयले तोकिएको म्यादभित्र स्पष्टीकरण नआए सार्वजनिक खरिद ऐनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।
