काठमाडौं- इरान र अमेरिकाबीच युद्धविराम तथा स्टेट अफ हर्मुज पुनः सञ्चालन गर्ने प्रारम्भिक सहमति भएको घोषणापछि सोमबार विश्व ऊर्जा तथा वित्तीय बजारमा उल्लेख्य राहत देखिएको छ। तेलको मूल्य घटेको छ भने विश्वभरका सेयर बजारहरू हरियाली भएका छन्। तर विश्लेषकहरूले ऊर्जा आपूर्ति पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने चेतावनी दिएका छन्।
सहमतिको समाचार सार्वजनिक भएसँगै अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई) को मूल्य ४.८ प्रतिशत घटेर प्रतिव्यारेल ८०.७५ डलरमा झरेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड पनि ४.७ प्रतिशत घटेर ८३.१७ डलर प्रतिव्यारेलमा पुगेको छ। यी दुवै मूल्य मार्चको पहिलो सातायता कै न्यून स्तरमा झरेका हुन्।
हवाई इन्धनको सूचक मानिने हिटिङ आयलको मूल्य ३.५ प्रतिशतभन्दा बढी घटेको छ भने थोक पेट्रोलको मूल्य २.५ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। सहमतिको सम्भावना बढेसँगै गत एक सातामै तेलको मूल्य ६ प्रतिशतभन्दा बढी घटिसकेको थियो।
ऊर्जा बजारमा राहतसँगै विश्वका प्रमुख सेयर बजारमा पनि उत्साह देखिएको छ। युरोपको स्टक्स ६०० सूचकांक सोमबार कारोबारका क्रममा नयाँ उचाइमा पुगेको थियो। अमेरिकामा एस एन्ड पी ५०० सूचकांक १.६ प्रतिशतले बढ्दा नास्डाक ३ प्रतिशत उकालो लागेको छ। डाउ जोन्स सूचकांक ४७० अंकले बढेर नयाँ कीर्तिमानी स्तरमा बन्द भएको छ।
विशेषगरी हवाई सेवा, पर्यटन तथा क्रुज कम्पनीहरूको सेयरमा उच्च वृद्धि देखिएको छ। डेल्टा एयरलाइन्स, अमेरिकन एक्सप्रेस र रोयल क्यारिबियनजस्ता कम्पनीका सेयर लगानीकर्ताको रोजाइमा परेका छन्। कृत्रिम बौद्धिकता (एआई) सम्बन्धित प्रविधि कम्पनीहरूको सेयर पनि उकालो लागेको छ। लगानीकर्ताहरूले ऊर्जा मूल्य घटेपछि मुद्रास्फीति र ब्याजदरको दबाब कम हुने अपेक्षा गरेका छन्।
यद्यपि तेलको मूल्य अझै पनि वर्षको सुरुआतको तुलनामा करिब ४० प्रतिशत बढी रहेको छ। अमेरिकामा पेट्रोलको खुद्रा मूल्य प्रतिग्यालोन ४.०७ डलर कायम छ, जुन फेब्रुअरी अन्त्यको तुलनामा ३६ प्रतिशत बढी हो।
डच वित्तीय संस्था आईएनजीका विश्लेषकहरूले मध्यपूर्वमा शान्ति स्थापना र खाडी क्षेत्रबाट पुनः ऊर्जा आपूर्ति सुरु हुने सम्भावनाले बजार उत्साहित भए पनि यसले तत्काल धेरै सस्तो ऊर्जा सुनिश्चित नगर्ने बताएका छन्। उनीहरूका अनुसार मुद्रास्फीतिको दबाब विश्व अर्थतन्त्रमा फैलिसकेको छ र अधिकांश केन्द्रीय बैंकहरूले यसलाई बेवास्ता गर्न सक्ने अवस्था छैन।
युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लगार्डले पनि ऊर्जा मूल्यवृद्धिको प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा फैलिन थालेको बताएकी छन्। पछिल्ला केही सातामा अधिकांश क्षेत्रमा अप्रत्यक्ष मुद्रास्फीतिको प्रभाव देखिन थालेको उनको भनाइ छ।
विश्लेषकहरूका अनुसार बजारको सबैभन्दा ठूलो चासो अब होर्मुज जलडमरूमध्य कति छिटो र सुरक्षित रूपमा पूर्ण सञ्चालनमा आउँछ भन्ने विषयमा केन्द्रित छ। विश्वको करिब पाँचौं भाग तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यसको पुनः सञ्चालन अत्यन्त महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ।
फ्रान्सेली बैंक सोसाइटी जेनेरालका रणनीतिकार किट जुकेसले तेलको मूल्य वर्षको सुरुआती स्तरतर्फ फर्किन थाले पनि आपूर्ति पूर्ववत् अवस्थामा पुग्न लामो समय लाग्ने संकेत बजारले दिइरहेको बताएका छन्। सन् २०२७ फेब्रुअरीसम्म डेलिभरी हुने ब्रेन्ट तेलको फ्युचर्स मूल्य अझै पनि प्रतिव्यारेल करिब ८० डलर कायम रहनुले दीर्घकालीन चिन्ता बाँकी रहेको देखाएको छ।
ऊर्जा कम्पनी शेभ्रोन का प्रमुख कार्यकारी अधिकृत माइक विर्थले हजारौं ट्यांकर पुनः सञ्चालनमा ल्याउन र आपूर्ति श्रृंखला सामान्य बनाउन सहज नहुने बताएका छन्। उनका अनुसार विश्वले वैकल्पिक स्रोतका रूपमा प्रयोग गरिरहेको तेल भण्डार तीव्र गतिमा घटिरहेको छ।
अमेरिकी ऊर्जा विभागको पछिल्लो तथ्यांकअनुसार अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डार सन् १९८३ यताकै न्यून स्तरमा झरेको छ। यसले भविष्यमा ऊर्जा आपूर्ति जोखिम थप बढाउन सक्ने विश्लेषण गरिएको छ।
समुद्री विश्लेषण संस्था क्लरका जोखिम तथा अनुपालन प्रबन्धक डिमिट्रिस अम्बाट्जिडिसका अनुसार जलडमरूमध्य खुला घोषणा भए पनि जहाज आवागमन तत्काल सामान्य हुने छैन। रोकिन पुगेका जहाजहरूलाई मार्ग खाली गर्न, गन्तव्य पूरा गर्न र पुनः नयाँ ढुवानीमा फर्किन कम्तीमा २ देखि ३ महिना लाग्न सक्छ।
क्लरको अनुमानअनुसार हाल करिब ५०० ठूला व्यावसायिक जहाज खाडी क्षेत्रमा रोकिएका छन्। विश्व शिपिङ उद्योगको संस्था बिम्कोले पनि अमेरिका र इरानको घोषणामा समयसीमा तथा सुरक्षित मार्गबारे स्पष्टता नरहेको भन्दै समुद्री सुरक्षाको अवस्था अझै अनिश्चित रहेको जनाएको छ।
इरानी सरकारी सञ्चारमाध्यमले शुक्रबारसम्म पनि होर्मुज जलडमरूमध्य अर्को सूचना नभएसम्म बन्द रहने जनाएको थियो। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सामाजिक सञ्जालमार्फत यसै साता स्विट्जरल्यान्डमा औपचारिक सम्झौता भएपछि स्टेट अफ हर्जुम पुनः खुल्ने बताएका छन्।
