सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुल्यो

पुरानै निर्देशिकाअनुसार नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै परेको रिट खारेज

बुधबार, चैत १६ २०७८
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुल्यो

पुस २२ गतेदेखि नेतृत्वविहीन भएको नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुला भएको छ। 

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने भएको छ। महाप्रबन्धक नियुक्तिका लागि सुरू भएको प्रक्रिया अदालतको आदेशका कारण पछिल्लो दुई महिनादेखि अवरुद्ध थियो। 

पुस २२ गतेदेखि नेतृत्वविहीन भएको नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति हुने बाटो अब खुला भएको छ। 

टेलिकम प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन गर्दै सीमित व्यक्तिलाई नियुक्त गर्न लागेको भन्दै सर्वोच्चमा रिट परेको थियो। नियुक्ति निर्देशिका संशोधन गर्दै योग्यता पुगेकोलाई समेत रोक्ने गरी काम भएको भन्दै सबै प्रक्रिया रद्द गर्नुपर्ने मागसहित पुस २ गते सुरेन्द्रमान सिंह सर्वोच्चमा पुगेका थिए।

उनको रिटमा सर्वोच्चले नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन भन्दै अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। उक्त रिटउपर सर्वोच्चका न्यायाधीश दीपकुमार कार्की र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै पूर्ण सुनवाईको निम्ति पेस गर्न आदेश दिएको थियो। 

तर बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र पूर्ण चुँडालको सयुक्त इजलासले रिट निवेदन नै खारेज गरिदिएको छ। रिट खारेज भएसँगै प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोकिएकै ठाउँबाट सुरू हुने भएको छ। 

सरकारी स्वामित्वको नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनौटका लागि भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा समिति गठन भएको थियो। यो समितिले प्रबन्ध निर्देशकका लागि आवेदन माग गर्दै मंसिर २२ गते सूचना प्रकाशित गरेको थियो।

आवेदन माग गर्दै जारी गरिएको सूचनामा प्रबन्ध निर्देशक हुनका लागि आवश्यक योग्यता पनि उल्लेख गरिएको थियो। के र कस्ता योग्यता भएका नेपाली नागरिक एमडी नियुक्त हुनसक्छन् भनेर उक्त सूचनामै खुलाइएको थियो।

यसरी तोकिएका योग्यताका मानक नै विवादमा तानिएको थियो।  कुनै एउटा निश्चित व्यक्तिका लागि सहज र सजिलो हुनेगरि कार्यविधि संशोधन गर्दै सरकारले योग्यता निर्धारण गरेको भन्दै छनौट प्रक्रियाविरुद्धमा अदालतमा मुद्दा परेको थियो।

यसअघि नै सुरू भएको प्रक्रियामा प्रबन्ध निर्देशकको लागि मागिएको आवेदनमा ९ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा टेलिकमै पूर्व एमडी बुद्धिप्रसाद आचार्य र कर्मचारीसहित ९ जना रहेका छन्। आचार्यसहित टेलिकमको वर्तमान प्रमुख व्यवसायिक अधिकृत संगिता पहाडी, इन्जिनियर अर्जुनबाबु ढकाल र सुनिल पौडेलले आवेदन दिएका छन्। यसैगरी आवेदन दिनेमा टेलिकमकै पूर्वकर्मचारी प्रदीपराज उपाध्याय, सुरजसिंह थापा र टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंह रहेका छन्। आवेदन दिनेमध्ये पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुन्। उनी २०७५ साउनमा केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

 

 


प्रकाशित : बुधबार, चैत १६ २०७८११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend