काठमाडौं- वाणिज्य बैंकहरूले सेयर बजारतर्फको कर्जामा लगानी बढाएका छन्। पछिल्लो समय बैंकहरूले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) लाई प्राथमिकतामा राख्दै लगानी विस्तार गरिरहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्त (पहिलो १० महिना) सम्मको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १९ वटा बैंकले कुल १ खर्ब ३९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँबराबरको सेयर कर्जा प्रवाह गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो लगानी १ खर्ब ३ गब १३ करोड ७७ लाख रुपैयाँमा सीमित थियो। समग्र सेयर कर्जा प्रवाह एक वर्षको अवधिमा ३५.३८ प्रतिशतले बढेको देखिन्छ।
समीक्षा अवधिमा सबैभन्दा बढी सेयर कर्जा प्रवाह गरेर नबिल बैंक अग्रस्थानमा छ। नबिल बैंकले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म १७ अर्ब ६८ करोड ६२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको १४ अर्ब ५९ करोड ३५ लाख रुपैयाँको तुलनामा २१.१९ प्रतिशतको वृद्धि हो।
यसैगरी बढी कर्जा प्रवाह गर्ने दोस्रो बैंकमा ग्लोबल आईएमई बैंक देखिएको छ। ग्लोबल आईएमईले अघिल्लो वर्षको बैशाखसम्म ११ अर्ब ५९ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा २४.७८ प्रतिशतले लगानी बढाउँदै १४ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ।
त्यस्तै १० अर्ब ९१ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाहसहित कुमारी बैंक तेस्रो ठूलो सेयर कर्जा प्रदायक बैंक बन्न सफल भएको छ, जुन गत वर्षको तुलनामा १४.०२ प्रतिशत बढी हो।
यो अवधिमा सञ्चालनमा रहेका बैंकहरूमध्ये १६ वटा बैंकको सेयर कर्जामा सकारात्मक वृद्धि देखिएको छ भने ३ वटा बैंकको लगानीमा भने संकुचन आएको छ।
कर्जा प्रवाह घट्ने बैंकहरूमा नेपाल बैंकको १३.८९ प्रतिशत, सिटिजन्स बैंकको १४.७२ प्रतिशत र नेपाल एसबीआई बैंकको ७.३३ प्रतिशतले गिरावट आएको तथ्यांकले देखाउँछ।
समग्र बैंकहरूमध्ये सबैभन्दा कम सेयर कर्जा लगानी गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकअन्तर्गत कुनै पनि कर्जा प्रवाह गरेको छैन।
अर्कोतर्फ, कर्जा रकमका आधारमा साना देखिए पनि वृद्धिदरको हिसाबले कृषि विकास बैंक सबैभन्दा अगाडि छ। कृषि विकास बैंकले अघिल्लो वर्षको तुलनामा १५६.१६ प्रतिशतको अभूतपूर्व वृद्धि हासिल गर्दै आफ्नो सेयर कर्जा ८ अर्ब ७० करोड ४२ लाख रुपैयाँ पुर्याएको छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता र अनुकूल नीतिका कारण वाणिज्य बैंकहरूले सेयर बजारमा आफ्नो लगानीको दायरा तीव्र गतिमा बढाउँदै लगेको देखिन्छ।

