काठमाडौं- इरान र अमेरिकाबीच युद्धविराम तथा स्टेट अफ हर्मुज पुनः सञ्चालन गर्ने विषयमा प्रारम्भिक सहमति भएको समाचार सार्वजनिक भएसँगै सोमबार विश्वका प्रमुख सेयर बजारहरूमा उल्लेखनीय सुधार देखिएको छ।
पश्चिम एसियाको तनाव कम हुने अपेक्षा र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेपछि लगानीकर्ताहरू पुनः सेयर बजारतर्फ आकर्षित भएका हुन्।
सम्झौतापछि विश्व बजारमा जोखिमप्रति लगानीकर्ताको विश्वास बढेको छ भने ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घटेर तीन महिनायताकै न्यून स्तरमा पुगेको छ। तेलको मूल्य घट्दा मुद्रास्फीतिको दबाब कम हुने र विश्व अर्थतन्त्रलाई राहत पुग्ने अपेक्षाले सेयर बजार उकालो लागेको विश्लेषण गरिएको छ।
एसियाली बजारमध्ये जापानको निक्केई-२२५ सूचक करिब ५ प्रतिशतले बढेको छ। दक्षिण कोरियाको कोस्पी सूचकमा पनि करिब ५ प्रतिशतको वृद्धि देखिएको छ। पश्चिम एसियाको तनाव कम हुँदा ऊर्जा आयातमा निर्भर अर्थतन्त्रहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षाले यी बजारमा बलियो खरिद दबाब देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
भारतमा पनि बजारले सकारात्मक प्रतिक्रिया दिएको छ। मुम्बई सेन्सेक्स १ हजार १ सय अंकभन्दा बढीले उकालो लागेको छ भने निफ्टी २४ हजार अंकमाथि पुगेको छ। भारतीय लगानीकर्ताको सम्पत्तिमा एकै दिन करिब ८ लाख करोड भारतीय रुपैयाँ बराबरको वृद्धि भएको अनुमान गरिएको छ। तेलको मूल्य घट्नु भारतका लागि विशेष रूपमा सकारात्मक मानिएको छ, किनकि भारत विश्वका प्रमुख तेल आयातकर्तामध्ये एक हो।
युरोपमा प्यान-युरोपियन स्टक्स-६०० सूचक १.२ प्रतिशतले बढ्दै नयाँ ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। जर्मनी, फ्रान्स र बेलायतका प्रमुख बजारहरूमा पनि हरियाली देखिएको छ। विशेषगरी अटोमोबाइल, पर्यटन र हवाई सेवा क्षेत्रका कम्पनीहरूको सेयरमा उच्च वृद्धि भएको छ भने तेल कम्पनीहरूको सेयर भने केही घटेको छ।
बेलायतको एफटीएसई-१०० सूचक करिब १ प्रतिशतले बढ्दै आठ सातायताकै उच्च स्तरमा पुगेको छ। जर्मनीको ड्याक्स तथा युरो स्टक्स–५० फ्युचर्समा करिब १.७ प्रतिशतको वृद्धि देखिएको छ।
अमेरिकामा पनि बजार खुल्नुअघि नै सकारात्मक संकेत देखिएको छ। डाउ जोन्स फ्युचर्स ४५० अंकभन्दा बढीले बढेको छ भने एसएन्डपी ५०० र नास्ड्याक फ्युचर्समा क्रमशः करिब १.२ प्रतिशत र १.८ प्रतिशतको वृद्धि देखिएको छ।
विश्लेषकहरूका अनुसार स्टेट अफ हर्मुज पुनः सञ्चालन हुने भएपछि विश्व ऊर्जा आपूर्ति सहज हुने अपेक्षा बढाएको छ। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले तनाव कम हुनु विश्व अर्थतन्त्रका लागि सकारात्मक संकेत मानिएको छ।
