काठमाडौं- अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा भारी गिरावट आएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता पूरा भएको र स्टेट अफ हर्मुज पुनः खुल्ने बताएका केही घण्टामै विश्व बजारमा कच्चा तेलको मूल्य करिब ४ प्रतिशतभन्दा बढीले घटेको हो।
अमेरिकी बजारमा जुलाई डेलिभरीका लागि अमेरिकी क्रुड तेलको मूल्य ४.७७ प्रतिशतले घटेर प्रतिब्यारेल ८०.८३ अमेरिकी डलरमा झरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड तेल अगस्ट डेलिभरीका लागि करिब ४ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.७७ अमेरिकी डलरमा कारोबार भएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत 'इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ' भन्दै घोषणा गरेका छन्। उनले स्टेट अफ हर्मुज अब कुनै टोल प्रणालीबिना खुल्ने र अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाइने बताएका छन्।
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने यो जलमार्ग महिनौँदेखि अवरुद्ध जस्तै अवस्थामा रहेकाले विश्व ऊर्जा बजारमा ठूलो दबाब परेको थियो।
