बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पूर्वाञ्चल ल्युब आयल वित्तीय सूचकमा अब्बल, नाफा र नगद प्रवाह दुवैमा सुधार

बुधबार, असार ३ २०८३
पूर्वाञ्चल ल्युब आयल वित्तीय सूचकमा अब्बल, नाफा र नगद प्रवाह दुवैमा सुधार

काठमाडौं- लुब्रिकेन्ट उत्पादन तथा बिक्रीमा संलग्न व्यवसायी कृष्णप्रसाद दुलाल नेतृत्वको पूर्वाञ्चल ल्युब आयल लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा करिब ६७ करोड रुपैयाँबराबरको कारोबार गरेको छ। कम्पनीको व्यवसाय विस्तारसँगै वित्तीय सूचकहरूमा क्रमशः सुधार देखिए पनि कार्यशील पुँजी चक्र (वर्किङ क्यापिटल साइकल) भने अझै लामो रहेको देखिएको छ।

कम्पनीले गत आर्थिक वर्षमा ८९ करोड ९० लाख रुपैयाँ, सन् २०२४ मा ७८ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ७७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। गत आवमा कम्पनीको कुल कारोबार करिब १२ प्रतिशतले वृद्धि भएको देखिन्छ।

लाभांश क्षमताको सूचक पनि तुलनात्मक रूपमा स्थिर देखिएको छ। गत आवमा कम्पनीको सञ्चालन नाफा (मार्जिन) कुल कारोबारको १५.८८ प्रतिशत रहेको थियो भने सन् २०२४ मा यो मार्जिन १७.७५ प्रतिशत थियो। चालु आवको ९ महिनामा भने सञ्चालन आम्दानीसँगै नाफा मार्जिन करिब १७ प्रतिशत हाराहारीमा पुगेको कम्पनीले जनाएको छ।

नगद सञ्चिति पनि क्रमशः बढ्दै गएको छ। सन् २०२४ मा ७ करोड ५० लाख रुपैयाँ रहेको कुल नगद सञ्चिती गत आवमा बढेर ८ करोड ९० लाख रुपैयाँ पुगेको छ भने चालु आवको ९ महिनामा यो ८ करोड १० लाख रुपैयाँ रहेको छ। सोही अवधिमा कम्पनीको खुद सञ्चालन नाफा ९.२५ प्रतिशत पुगेको उल्लेख छ।

वित्तीय संरचनाका दृष्टिले कम्पनी अझै सुदृढ देखिएको छ। गियरिङ अनुपात (ऋण–इक्विटी अनुपात) सन् २०२४ मा ०.८६ गुणा रहेकोमा गत आवमा ०.८० गुणामा झरेको थियो भने चालु आवको ९ महिनामा थप घटेर ०.६१ गुणामा सीमित भएको छ। यसले कम्पनीको ऋण निर्भरता घट्दै गएको संकेत गर्छ।

चालु आवको ९ महिनामा कम्पनीले हकप्रद सेयरमार्फत २० करोड रुपैयाँ इक्विटी थप गरेपछि चुक्ता पुँजी ५० करोड रुपैयाँ पुगेको छ, जसले पुँजी संरचना थप मजबुत बनाएको बताइएको छ।

ऋण सेवा वहन क्षमता सूचकहरूमा पनि उल्लेखनीय सुधार देखिएको छ। ब्याज भुक्तानी क्षमता सन् २०२४ मा २.३१ गुणा रहेकोमा गत आवमा बढेर ३.२१ गुणा पुगेको छ। चालु आवको ९ महिनामा यो अझै बढेर ४.८० गुणा पुगेको छ। त्यस्तै, कुल ऋण तथा नगद सञ्चिति अनुपात पनि सुधार हुँदै सन् २०२४ को ६.७६ गुणाबाट गत आवमा ५.५९ गुणामा झरेको छ।

कम्पनीले हाल ७४ करोड २३ लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएको छ। जसअनुसार दीर्घकालीन कर्जाका लागि २२ करोड ७३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५१ करोड ५० लाख रुपैयाँ बराबरको सीमा समेटिएको छ। केयर रेटिङ एजेन्सी नेपालले कम्पनीलाई  केयर एनप ‘केयर-एनपी बीबीबी माइनस' कायम राख्दै मध्यम स्तरको वित्तीय सुरक्षितता भएको संस्थाका रूपमा मूल्यांकन गरेको छ।

रेटिङ प्रतिवेदनअनुसार कम्पनीको ब्रान्ड उपस्थिति, वितरण सञ्जाल र व्यवस्थापन अनुभवलाई सकारात्मक पक्षका रूपमा लिइएको छ। साथै, नेपालमा ल्युब्रिकेन्टको माग स्थिर रहेको, सवारी साधन वृद्धि र औद्योगिक विस्तारले बजारलाई समर्थन गरेको उल्लेख छ।

तर कम्पनी अझै पनि लामो कार्यशील पुँजी चक्र, कच्चा तेल मूल्यको उतारचढाव, विदेशी विनिमय दरको जोखिम र तीव्र प्रतिस्पर्धाजस्ता चुनौतीबाट प्रभावित रहने देखिएको छ। औसतमा ३३१ दिनसम्मको उच्च इन्भेन्टरी होल्डिङ र १०६ दिनसम्मको कर्जा उठाउने अवधि कम्पनीको नगद प्रवाहमा दबाब सिर्जना गर्ने प्रमुख पक्षका रूपमा देखिएको छ।


प्रकाशित : बुधबार, असार ३ २०८३०९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend