काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताएका छन्।
आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताए।
देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी र व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटामा अघि बढ्ने जनाए।
बजेटमा करको दर घटाएर एक लाख रुपैयाँसम्म कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उनको भनाइ थियो। अर्थमन्त्री डा वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे। बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रम घोषणा भएका उनले बताए।रासस
