आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

आगामी वर्षको बजेट सोमबार प्रदेशसभामा पेस गर्दै लुम्बिनी सरकार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ३१ २०८३
आगामी वर्षको बजेट सोमबार प्रदेशसभामा पेस गर्दै लुम्बिनी  सरकार

काठमाडौं- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।

काठमाडौं- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
 
प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नेछन्।

प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपुरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्याय केन्द्रित हुने सरकारको तयारी छ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ विस्तार, जैविक खेती, स्थानीय तथा रैथाने बाली संरक्षण, कृषि उत्पादनको ब्रान्डिङ र मूल्य शृङ्खला विकासलाई प्राथमिकतामा राखेको छ। कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने नीति बजेटमा समेटिने जनाइएको छ।

युवालाई लक्षित गरी सीपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवद्र्धन कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने भएको छ। स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, क्यान्सर, मिर्गौला प्रत्यारोपण तथा मुटुरोगसम्बन्धी उपचारमा सहुलियतलाई निरन्तरता दिने तयारी छ। शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली तथा खेलकुद पूर्वाधार विकासका कार्यक्रम समावेश गरिने अपेक्षा गरिएको छ।

पूर्वाधार विकासतर्फ अधुरा र बहुवर्षीय आयोजना सम्पन्न गर्ने, पुँजीगत खर्चको प्रभावकारिता बढाउने तथा प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिने नीति बजेटमा रहने सरकारले जनाएको छ। साथै डिजिटल सुशासन, सेवा प्रवाहको सरलीकरण र वित्तीय अनुशासनलाई पनि प्राथमिकता दिइने जनाइएको छ।

पर्यटन, उद्योग, ऊर्जा तथा स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसमेत बजेटले लिएको छ। विशेषगरी लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक तथा स्वास्थ्य पर्यटन केन्द्रका रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइने तयारी छ। 

चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले  ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो। उक्त बजेटमध्ये २३ अर्ब ४७ करोड पुँजीगत १५ अर्ब ४३ करोड रुपैयाँको चालु खर्चतर्फ विनियोजन गरिएको थियो।

यसपटक प्रदेश सरकारले  ३८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको जनाइएको छ। प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य तथा ‘समृद्ध लुम्बिनीः सुखी नागरिक’ को दीर्घकालीन सोचलाई आधार मानेर आगामी बजेट निर्माण गरिएको बताइएको छ।रासस


प्रकाशित : आइतबार, जेठ ३१ २०८३१७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend